डा. उप्रेतीले हडपेको बानेश्वरको पर्ती जग्गा बेच्न भूमाफियाको चलखेल

काठमाडौं । बानेश्वर थापागाउँस्थित डा. प्रेमरमण उप्रेतीले ‘किर्ते’ गरेर हडपेको पर्ती जग्गा बेच्न भूमाफियाले चलखेल थालेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर थापागाउँमा डा. प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीको नाममा ‘किर्ते’ दर्ता भएको झन्डै १ रोपनी पर्ती जग्गा बेच्न भूमाफियाहरू सक्रिय बनेका हुन् । पाठशाला स्कुलको टिमसँग मिलेर यो समूहले उक्त जग्गा किन बेच गराउन खोजेको स्वास्थ्य लाइभले फेला पारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा ल्याएको काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित साबिकको महादेवस्थान ६( ख) सिट नम्बर १७२–११४६–०७ को कित्ता नम्बर ७९ को १ क रोपनी पर्ती जग्गा बेच्न भूमाफियाको गिरोह सक्रिय भएपछि यो विषय बाहिर आएको हो ।
डा. उप्रेतीको नाममा दुषित दर्ता भएको जग्गा सरकारकै नाममा ल्याउन स्थानीयहरु सक्रिय रहँदै आएका छन् । स्थानीयले लामो समयदेखि सार्वजनिक प्रयोजनका लागि प्रयोग गर्दै आएको उक्त जग्गामा पाठशाला स्कुलले भाडामा लिएर पार्किङ गरेपछि मात्र डा. उप्रेतीको नाममा दुषित दर्ता भएको रहस्य पत्ता लागेको हो ।
थापागाउँका स्थानीयले बाल बच्चालाई खेलाउने मात्र होइन भूकम्प र चुनावमा पनि उक्त पर्ती जग्गा प्रयोग हुँदै आएको थियो । पाठशाला स्कुलले चुनावमा समेत प्रयोग हुने त्यो जग्गा कब्जा गरेपछि यसपटकको चुनावमा भोट हाल्ने ठाउँको व्यवस्थापन गर्न समस्या परेको छ । आदर्श कविका रूपमा आफूलाई चिनाउन खोज्ने अर्जुन प्रसाद पराजुली, टंक आचार्यलगायतको मिलेमतोमा सार्वजनिक प्रयोजनका लागि उपयोग हुँदै आएको उक्त जग्गा पाठशाला स्कुलको पार्किङ बनेको हो ।
बानेश्वरका स्थानीयवासीहरू उक्त पर्ती जग्गा संरक्षणका लागि सरकारी निकायदेखि अख्तियारसम्म पुगेको देखिन्छ । अख्तियारले उक्त जग्गा पुन: सरकारकै नाममा फिर्ता ल्याएर किर्तेमा समेत कारबाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई निर्देशन दिनुपर्ने स्थानीयको माग छ । ललिता निवास बालुवाटारलगायतका जग्गा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका प्रेमकुमार राईनै अख्तियारको नेतृत्वमा रहेकाले थापागाउँको उक्त पर्ती जग्गा पनि तत्काल संरक्षण हुनेमा स्थानीयहरु आशावादी छन् ।
मालपोत कार्यालय डिल्लीबजारले अख्तियारलाई उक्त जग्गाको विषयमा जवाफ लेख्दै प्रेम रमण उप्रेतीको नाममा दर्ता भएको फिल्डबुक र श्रेस्ताबाट देखिए पनि पर्ती उल्लेख भएको देखिँदा उल्लेखित कित्ता जग्गा सरकारी प्रकृतिको हुन सक्ने उल्लेख गरेको छ ।
जग्गा नापजाँच ऐन २०१९ तथा मालपोत ऐन २०३४ ले पर्ती जग्गा भन्नाले सरकारी जग्गालाई जनाउने परिभाषा गरेको छ। मुलुकी देवानी (संहिता) ऐेन २०७४ दफा २९९ को (ङ) मा पनि पर्ती जग्गालाई सरकारी सम्पत्ति मानिने उल्लेख छ । २०५३ साल असारमा उक्त पर्ती जग्गा डा. उप्रेतीको नाममा किर्ते र दुषित दर्ता गरेको पाइन्छ । उप्रेती परिवारकै महिला तत्कालीन वडा सदस्य भएको मौका पारेर श्रेस्तामा किर्ते गरी दर्ता गराउने काम भएको स्थानीयको आरोप छ ।
करिब ५ दशकदेखि सार्वजनिक प्रयोगमा आइरहेको त्यो जग्गामा एक्कासी घेराबारा गरेर पाठशाला स्कूललाई पार्किङको लागि भाडामा दिएपछि उप्रेतीद्वयको नाममा दर्ता गराइएको रहस्य खुलेको हो । भूमाफिया उक्त जग्गा हिनामिना गर्न सल्बलाउन थालेपछि फेरि स्थानीयहरु सक्रिय बनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #नयाँ बानेश्वर थापागाउँ, #पर्ती, #पाठशाला स्कूल, #पाठशाला स्कूलको पार्किङ, #भूमाफिया डा. उप्रेती
तपाईको प्रतिक्रिया दिनुहोस