वीपी प्रतिष्ठान डुबाएर बिएण्डसीलाई उकास्ने ‘ग्राइन डिजाइन’मा मञ्जु भण्डारी पनि

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई डुबाएर झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई उकास्ने कार्यदलको सदस्यमा मञ्जु भण्डारी रहेको खुल्न आएको छ ।
कोरोना संक्रमणको बेला हतारमा काठमाडौंको पार्क भिलेज रिसोर्टमा सिनेट राखेर बिएण्डसीलाई सम्बन्ध दिने गरी वीपी प्रतिष्ठानलाई विश्वविद्यालय रुपान्तरण गर्ने गरी बनाइएको कार्यदलमा अहिले एमालेको तर्फबाट धरानको मेयरमा लडेकी भण्डारी पनि सदस्य रहेको पाइएको छ ।
वीपी प्रतिष्ठानका उपकुलपति किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा गठित वीपी प्रतिष्ठानलाई थप विकास, विस्तार, विशिष्टीकृत गर्न विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्ने उक्त कार्यदलमा आयल निगम र मध्यपश्चिम विश्वविद्यालयमा हुँदा निकै विवादमा आएका उपेन्द्र कोइराला, धरानकी तत्कालीन उपमेयर मञ्जु भण्डारी, मोहनचन्द्र रेग्मी, मधुर भट्टराई, बालकृष्ण भट्टराईलगायत सदस्य रहेको देखिन्छ ।
वीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाएर बिएण्डसीलाई उकास्न मेडिकल कलेजको सम्बन्धन दिने ग्राइन्ड डिजाइनको रुपमा यसको चर्चा हुँदै आएको छ । कोरोना महामारीको बेला २५ जना भन्दा बढी भेला हुन नपाउने नियम उल्लंघन गर्दै पार्क भिलेजमा बसेको वीपी प्रतिष्ठानको ४४ औं सिनेट बैठकले बिएण्डसीको स्वार्थमा उक्त कार्यदल बनाएको थियो । त्यो कार्यदलको सदस्यको हैसियतमा धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार मञ्जु भण्डारी पनि काम गरेकी हुन् ।

वीपी प्रतिष्ठानको सिनेट सदस्यमा धरान उपमहानगरपालिकाको मेयरको मात्र प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । तर वीपी प्रतिष्ठानले सञ्चालक परिषद्(सिनेट) सदस्यमा उपमेयर भण्डारीलाई पनि मनोनित गरेर विवादित निर्णयमा संलग्न गराउने काम भएको छ । वीपी प्रतिष्ठानको कानुन अनुसार प्रतिष्ठित विद्वान, समाजसेवी, उद्योगपति तथा व्यापारीमध्येबाट कार्यकारिणी समितिको सिफारिसमा सहकुलपतिले मनोनित गरेका बढीमा दुई जना सदस्य रहने व्यवस्था छ । प्रतिष्ठित विद्वान, समाजसेवी, उद्योगपति तथा व्यापारीको कोटाबाट भण्डारीलाई वीपी प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य बनाएको हो ।
वीपी प्रतिष्ठानका किर्ते प्रध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीका कारण प्रतिष्ठान तहसनहस भएको छ । घोपा बचाउ अभियान निरन्तर चलिरहेको छ । वीपी प्रतिष्ठानको ‘भ्रष्ट’ उपकुलपतिसहितका पदाधिकारी हटाउन धरानवासीहरु लडिरहेका छन् । तर मेयरकी उम्मेदवार भण्डारी भने तिनै विवादित उपकुलपति पक्षमा लाग्दै आएकी छिन् । उनले वीपी प्रतिष्ठान डुबाउने पदाधिकारीलाई साथ दिएर धरानमाथि घात गरेको चर्चा छ ।
वीपी प्रतिष्ठानका नालायक पदाधिकारीको कारण धरान डुब्ने खतरामा परेको छ । वीपी प्रतिष्ठानकै कारण उक्सिएको मृत सहर धरान फेरि वीपी प्रतिष्ठानकै कारण डुब्ने खतरामा पुगेको हो । यसमा वीपी प्रतिष्ठानका विवादित उपकुलपतिलाई साथ दिने भण्डारीको पनि उत्तिकै भूमिका रहेको वीपी प्रतिष्ठानका अधिकारीहरू दाबी गर्छन् ।
क्याटेगोरी : प्रदेश, सुशासनट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ##धरान, #कार्यदल, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #डेथ सिटी, #बिएण्डसी, #मञ्जु भण्डारी, #सिनेट
तपाईको प्रतिक्रिया दिनुहोस