वीपी प्रतिष्ठान सुधारमा मेयर हर्क साम्पाङको चासो


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चासो दिएका छन् ।

मेयर साम्पाङले वीपी अस्पतालको सुधारका माग राखेर आन्दोलन गर्दै आएको पक्ष र अस्पताल पक्षको वार्ता गराएर ‘द वेस्ट वेआउट’ खोजिने बताएका छन् ।

वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई हटाउन निरन्तर आन्दोलन चलिरहेको छ । अदालतको आडमा वीपीका पदाधिकारीले प्रतिष्ठानमाथि ब्रह्मलुट मच्चाइ रहेका छन् । प्राध्यापकको किर्ते उपाधि देखाएको पुष्टि हुँदा पनि उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छैन । किर्ते प्राध्यापक उपकुलपति गिरीलाई हटाउने उद्देश्यका साथ बोलाइएको सिनेट बैठक पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको भरमा दीर्घकालीन रुपमा रोकिएको देखिन्छ ।

यसैबीच धराने युवाहरुले घोपा बचाउन अभियान सञ्चालन गरेका छन् । यो आन्दोलनको जायज मागहरु सम्बोधन गरिने वीपीको सिनेट सदस्य समेत रहेका मेयर हर्क साम्पाङको भनाइ छ ।

स्वास्थ्यकर्मीहरुले चलाएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण आन्दोलनपछि स्थानीयले चलाएको घोपा बचाउ अभियान सञ्चालन भएकोपनि दुई महिना पुगेको छ । दुई महिना पुगेपछि वीपी प्रतिष्ठानले घोपा बचाउ अभियानसँग वार्ता गर्न वार्ता टोली गठन गरेको अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहको भनाइ छ ।

वीपी प्रतिष्ठान डुबाउने खेलमा लागेेका तत्कालीन उपमेयर मञ्जु भण्डारीलाई मेयरमा उठ्दा धराने जनताले देखाइदिएका छन् । धरानको अस्तित्व, पहिचान र विकाससँग जोडिएको वीपी प्रतिष्ठान धरासायी बनाउन खोज्नेलाई धराने जनताले माफी नदिने संदेश दिइसकेका छन् । अब नवनिर्वाचित मेयर हर्क साम्पाङको पनि वीपी प्रतिष्ठानक केसमा परीक्षा सुरु भएको छ ।

विभिन्न समिति /कार्यदलको प्रतिवेदनले वीपीका पदाधिकारीलाई हटाए मात्र प्रतिष्ठान सुधार हुन सक्ने निष्कर्ष निकालेकाले अब उनको असली पहल र परीक्षा सुरु भएको हो । वीपी प्रतिष्ठानका पदाधिकारी हटाउन र वीपी प्रतिष्ठान सुधार्न भूमिका खेले मेयर साम्पाङ परीक्षामा पास हुनेछन् । अन्यथा उनीपनि पहिलाकै मञ्जु भण्डारी बन्ने धराने जनताहरू बताउँछन् ।

सुधारका माग राखेर आन्दोलन गर्दै आएको पक्ष र अस्पताल पक्षको वार्ता गराएर ‘द वेस्ट वेआउट’ खोजिने साम्पाङको पछिल्लो अभिव्यक्तिले धराने जनातालाई आशा जगाएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ