डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै उक्त कुरा जनाएका हुन् । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सल्ट्यान्ट डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकको निर्णय गरेको उनले जानकारी दिए ।
सुरक्षण मुद्रण समिति गठन तेस्रो संसोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ (क) बमोजिम सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल्प पौडेललाई पदावधी १ पटकका लागि थप गर्ने पनि मन्त्रिपरिषद्को बैठकको निर्णय छ । सञ्चारमन्त्री कार्कीको सिफारिसमा सेक्युरिटी प्रेस घोटालामा मुछिएका विवादित पौडेलको पदावधी थप्ने निर्णय भएको हो ।
अख्तियारको छानबिनमा रहेका पौडेललाई आर्थिक चलखेलका आधारमा पुन: नियुक्त दिलाएको भन्दै सञ्चारमन्त्री कार्कीको चर्को आलोचना हुन थालेको छ । उनले सुनसरीका जनतको मतको अवमूल्यन गरेको समेत आरोप लागेको छ ।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने अर्को निर्णय गरेको छ । त्यस्तै नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायतको भ्रमण दललाई युनिफिल्ड लेवनान र सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने, गणतन्त्र दिवसको अवसरमा उपमाकान्त पराजुलीसहित १६ जनाको कैद माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बेल्जियमको राजधानी ब्रसेलसमा विस २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोवल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषद्को बैठकको निर्णय छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने गरेको छ । लोकसेवा आयोगको सिफासि बमोजिम निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती तथा पदस्थापन गर्ने निर्णय भएको सञ्चारमन्त्री कार्कीको भनाइ छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस