पर्यटनमन्त्री श्रेष्ठको निर्देशनमा कोरोनाकालमा भाडामा दिएको त्रिभुवन पार्कको जग्गा छानबिन गर्न टोली फिल्डमा

काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको निर्देशनमा कोरोनाकालमा भाडामा दिएको त्रिभुवन पार्कको जग्गा छानबिन गर्न टोली फिल्डमा गएको छ ।
स्वास्थ्य लाइभले कोरोनाकालमा त्रिभुवन पार्कको जग्गा कौडीको भाउमा भाडामा लगाएको समाचार प्रकाशित गरेपछि पर्यटनमन्त्री श्रेष्ठले छानबिन गर्न निर्देशन दिएका थिए । उनको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनका सचिव विनोदकुमार भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संस्कृति तथा मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेका छन् । समितिले आजैबाट थानकोटस्थित त्रिभुवन पार्क फिल्डमै पुगेर काम थालेको पर्यटनमन्त्री श्रेष्ठले जानकारी दिए । त्रिभुवन पार्कको ५० रोपनी जग्गा शहीद स्मारक प्रकृति प्रतिष्ठानले श्री एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई २० वर्षका लागि भाडामा दिएको हो ।
सरकारी निकायबाट अनुमतिनै नलिई एनजिओको रुपमा दर्ता रहेको प्रतिष्ठानले आफूखुसी प्रतिरोपनी मासिक ९ हजारमा भाडामा लगाएको पाइन्छ । यो विषय सार्वजनिक हुन साथ पर्यटनमन्त्री श्रेष्ठले एक्सन लिएका हुन् । २०७५ साल चैत २० गते बसेको नेपाल सरकार (मन्त्रिपरिषद्)को बैठकले शहीद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क), थानकोटलाई प्रदेश अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार अन्तर्गत राखी व्यवस्थापन गर्ने भएपछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारी उक्त पार्क अवलोकन गर्न थानकोट पुगेका थिए । त्रिभुवन पार्कलाई व्यवस्थित र सौन्दर्यकरण गर्न उनी मन्त्रालयको टोलीसहित निरीक्षण गर्न थानकोट पुग्दा पार्कको महत्त्वपूर्ण जग्गा निजी कम्पनीलाई भाडामा दिएको पाइएपछि एक्सनमा उत्रिएका हुन्।
कार्यदलले यो विषयमा प्रतिवेदन बुझाएपछि थप कदम चालिने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।
क्याटेगोरी : सुशासन
ट्याग : #त्रिभुवन पार्क फन पार्कलाई भाडामा, #बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस