प्रसूति विदा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा उपलब्ध गराउन अनुरोध गरेको छ ।
मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ/संस्थामा कार्यरत महिलाहरूले नियमानुसार पाउनुपर्ने ९८ दिनसम्मको तलबसहितको प्रसूति विदा उपलब्ध गराउन अनुरोध गरेको हो ।
‘सरकारी, निजी तथा गैरसरकारी संघ/संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति विदा नदिएको गुनासो आउने गरेको सम्बन्धमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले विभिन्न सरकारी, निजी तथा गैरसरकारी संघ/संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे (९८) दिनसम्मको तलबसहितको प्रसूति विदा पाउने व्यवस्था रहेकाले सो अनुसार सरकारी, निजी तथा गैरसरकारी संघ/संस्थामा कार्यरत महिला कर्मचारीहरूलाई सुत्केरी विदा उपलब्ध गर्नू गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’, उपसचिव रोशनी देवी कार्कीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले सुत्केरी विदा नदिने त्यस्ता संघ/संस्थालाई कानुनले दिएको उक्त विदा सुविधा अनिवार्य रुपमा उपलब्ध गराउन भनेको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस