मंकिपक्स संक्रमणको आशंका गरिएका युवकमा कुष्ठराेग पुष्टि
काठमाडौं । मंकिपक्स संक्रमणको आशंका गरिएका युवकमा कुष्ठराेग पुष्टि भएकाे छ । उनकाे उपचारमा संलग्न चिकित्सक डा. शिवेन्द्रकुमार झाका अनुसार २६ वर्षीया ती युवकमा शुक्रबार कुष्ठराेगकाे जिवाणु फेला परेकाे हाे ।
बिहिवार मंकिपक्स संक्रमणको आशंकामा उनलाई सरुवाराेग अस्पताल टेकु भर्ना गरिएकाे थियाे । रसुवाका २६ वर्षीय मिलन तामाङ (नाम परिवर्तन) दुबईमा उपचार सम्भव नभएपछि नेपाल आएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले उनमा मंकिपक्स भाइरसको आशंका गर्दै टेकु अस्पताल पठाएको थियो ।
कुष्ठरोग विशेषज्ञ डा. शिवेन्द्रकुमार झाको नेतृत्वमा मंकिपक्स आशंका गरिएका उनको उपचार भइरहेको छ । तर, ल्याव परिक्षणमा कुष्ठराेग पुष्टि भएकाे छ ।
डा. झाका अनुसार मिलन ६ महिनाअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । पछिल्ला तीन महिनादेखि उनलाई ज्वरो आउने, शरीरमा राता बिबिरा आउने समस्या देखिएको थियो । दुबईका थुप्रै अस्पतालमा उपचार गर्दा पनि निको नभएपछि नेपालमै उपचार गराउन आफू स्वदेश फर्किएको उनले चिकित्सकलाई बताएका छन् । चिकित्सकका अनुसार दुबईमा थुप्रै जाँच गराएका रिपोर्ट उनीसँग छन् । बाहिरबाट हेर्दा मंकिपक्स भाइरसजस्तो देखिए पनि ‘हिस्ट्री’ हेर्दा मंकिपक्स नै हो भन्न सक्ने आधार नदेखिएको चिकित्सकको भनाइ छ ।
पछिल्लो एक सातादेखि समस्या बढ्दै गएको मिलनले उपचारमा संलग्न चिकित्सकलाई बताएका छन् । उनको ढाड, हात तथा कम्मरदेखि मुनि र घुँडादेखि माथिको भागमा राता–राता बिबिरा प्रशस्त देखिएका छन् ।
नेपालमा मंकिपक्स पत्ता लगाउने प्रविधि छैन । यो पत्ता लगाउन परीक्षणका लागि भारत वा अस्ट्रेलिया नमुना पठाउनुपर्छ । नेपालमा उपलब्ध सबैखाले परीक्षण गरेपछि मात्रै मंकिपक्सको परीक्षणका लागि नमुना पठाइने चिकित्सकले बताएका थिए । दुबईमा पत्ता लगाउन नसकेकाे राेग पहिलाे प्रयासमै नेपाली चिकित्सकले पत्ता लगाउन सफल भएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस