भक्तपुरको ख्वप कलेजले मेडिकल शिक्षा पढाउन पाउँला ?
प्रस्तावित गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुँदै
काठमाडौं । भक्तपुरस्थित ख्वप कलेजले मेडिकल शिक्षा पढाउनका लागि सम्बन्धन मागिरहेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति ख्वप कलेजलाई मेडिकल पढाउन सम्बन्धन दिए १५/१६ लाखमै एमबीबीएस पढाइदिने दाबी गर्दै आएका छन् ।
मेयर प्रजापतिले मेडिकल शिक्षा सस्तो र सर्व सुलभ बनाउन ख्वप कलेजलाई सम्बन्धन दिनुपर्ने तर्क गर्छन् । तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले दश वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाएकाले मेयर प्रजापतिको १५/१६ लाखमै एमबीबीएस पढाउने सपना पूरा हुने देखिँदैन ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार ख्वप कलेजले मेडिकल शिक्षा पढाउन अझै ६ वर्ष कुर्नुपर्ने हुन्छ । त्यो बेला सुनिल प्रजापति भक्तपुर नगरपालिकाको मेयरको हैसियतका रहने छैन । नेपालको संविधान अनुसार स्थानीय तहको प्रमुख/अध्यक्ष दुई कार्यकालभन्दा बढी निर्वाचित हुन मिल्दैन ।
ख्वप कलेजले मेडिकलको पढाउन चिकित्सा शिक्षा ऐन अनुसार त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजको सम्बन्धन लिन सक्दैन । त्यसका लागि अन्य विश्वविद्यालय वा ख्वपलाई डिम विश्वविद्यालय बनाउनु पर्ने हुन्छ । ख्वप कलेजलाई डिम विश्वविद्यालयमा रुपान्तरण गर्ने कसरत भइरहेपनि त्यो सफल हुन सकेको छैन । त्यसैले विद्यमान कानुन र संरचना अनुसार ख्वप कलेजले १५/१६ लाखमै एमबीबीएस पढाउन सम्बन्धन पाउने सम्भावना छैन ।
गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुँदै
प्रस्तावित गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन ल्याएर गेटालाई प्रतिष्ठानमा रुपान्तरण गरिने दावी गरेका छन् । हिजो कैलालीको धनगढीमा पुगेर प्रधानमन्त्री देउवाले गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गरिने घोषणा गरे ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस