अक्सिजन प्लान्टमा सेटिङ गर्ने पुरी ५ वर्षदेखि थाहाको प्रमुख प्रशासकीय अधिकृत रहेको खुलासा
काठमाडौं । अक्सिजन प्लान्ट खरिदमा सेटिङ मिलाएर १३ लाख बढीमा ठेक्का दिने हरिलाल पुरी ५ वर्षदेखि थाहाको प्रमुख प्रशासकीय अधिकृत रहेको खुलासा भएको छ ।
सामान्यतः प्रमुख प्रशासकीय अधिकृतको दुई वर्षमा सरुवा हुने गरेको छ । अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको एक वर्षमै सरुवा हुने गरेको छ । तर मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी पाँच वर्षदेखि उक्त नगरपालिकामा कार्यरत रहेको खुल्न आएको छ ।
थाहा नगरपालिकाका प्रमुख(मेयर) विष्णुबहादुर विष्ट ‘आदर्श’ले प्रमुख प्रशासकीय अधिकृत पुरी विगत पाँच वर्षदेखि थाहा नगरपालिकामा कार्यरत रहेको स्पष्ट पारे । उनले स्वास्थ्य लाइमसँग कुरा गर्दै पुरीले थाहा नगरपालिकामा ५ वर्षदेखि राज गरिरहेको खुलाएका हुन् । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले प्रमुख प्रशासकीय अधिकृत पुरी दुई पटक गरेर ७ वर्ष बढी थाहा नगरपालिकामा कार्यरत रहेको सुनाए ।
थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको स्वास्थ्य लाइभले खुलासा गरेपछि प्रमुख प्रशासकीय अधिकृत पुरीको विषयमा खोजी सुरु भएको छ ।
भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्ने मुनरक इन्टरनेसनलसँग अक्सिजन प्लान्ट खरिद नगरी सेटिङमा १ करोड १० लाख बढी कबोल्नेसँग सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि ठेक्का सम्झौता गरेको स्वास्थ्य लाइभले फेला पारेको हो । उक्त ठेक्कामा सेटिङमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोभित प्रसाईको संलग्नता रहेको देखिन्छ ।
स्वास्थ्य लाइभले अक्सिजन प्लान्ट खरिदमा मिलेमतो भएको खुलासा गरेपछि ‘व्याक डेट’को पत्र बनाएर मुनरकलाई इमेल पठाएपछि बदमासीको पर्दाफास भएको हो । अक्सिजन प्लान्ट खरिदको एउटा बदमासी ढाकछोप गर्न थाहा नगरपालिकाकाले अर्को बदमासी गरेको देखिन्छ ।
थाहा नगरपालिकामापछि प्रमुख प्रशासकीय अधिकृत निरन्तर टिकिरहेको अर्को नगरपालिका सुनसरीको इनरुवा नगरपालिका हो । इनरुवा नगरपालिकाका तत्कालीन मेयर राजन मेहताको बदमासी र अनियमिततामा संलग्न नहुने कुनै प्रमुख प्रशासकीय अधिकृत टिक्न सकेनन् । तर शिक्षा सेवाका कर्मचारी डिल्लीराज निरौला नियमविपरीत इनरुवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकिरहेका छन् । मेयर मेहता र प्रमुख प्रशासकीय अधिकृत निरौलाको मिलेमतोमा इनरुवा नगरपालिकामा ठूल्ठूला घोटाला भएको आरोप लाग्दै आएको छ । तर नियमनकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान पुग्न सकेको देखिँदैन ।
क्याटेगोरी : समाचार
ट्याग : #इनरुवा नगरपालिका डिल्लीराज निरौला, #थाहा नगरपालिका - प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी- ओभर स्टे, #बदमासी- सेटिङ- ठेक्का- अक्सिजन प्लान्ट
तपाईको प्रतिक्रिया दिनुहोस