सम्झनामा डा. राजकुमार रौनियार..


काठमाडौं । २०७० साल चैत्र ३१ गतेदेखि २०७१ वैशाख २ गतेसम्म वृहत्त स्वास्थ्य शिविर र नयाँ वर्ष २०७१ लाई भोजपुरमै स्वागत गर्ने दावाँली मिलन क्लवको औपचारिक कार्यक्रम थियो । उक्त कार्यक्रमको पूर्व तयारीको लागि एकदिन अगाडि नै म काठमाडौंबाट भोजपुरतिर गाडीकै बाटो लागें ।

भोजपुरतिर जानु अगाडि  बिराटनगर तर्फ पुगे । किनकि विराटनगर र धरानबाट केही औषधीहरू पनि जम्मा गर्नु थियो । पाहुना टिमको बसोबासको व्यवस्थापन गर्ने कार्यको लागि पनि म अगाडि नै जानु पर्ने भयो ।

हाम्रा स्वास्थ्य संयोजक डा. लोचन कार्की  (तत्कालीन महासचिव- नेपाल चिकित्सक संघ, हाल अध्यक्ष) र साथीहरू काठमाडौंमा सक्रियता साथ शिविरको तयारीका लागि डाक्टर, नर्स, औषधि, ल्याब उपकरण साथै आवश्यक लजिष्टिक जुटाउन जुटिरहनु भएको थियो ।  म सबै क्लवका साथीहरूसँग बारम्बार टेलिफोन सम्पर्क गर्दै आफ्नो जिम्मेवारी र साथीहरूले काठमाडौंमा गर्नुपर्ने कार्यहरूबारे कुराकानी गर्दै गाडीमा गुडिँरहेको थिए । सबै सामाग्रीहरू जेनेरेटरलगायत डाक्टरहरूको लागी सवारी साधन को जोडतोड सबै ठिक भैसकेको सूचना लिइरहेको थिए । भोजपुरको प्याउली र दावाँमा गरिने यो स्वास्थ्य शिविर व्यवस्थित र स्तरीय एवं जिल्लाबासीका लागि उपलब्धिमूल बनाउने हाम्रो एकमात्र निश्वार्थ उद्देश्य रहेको थियो ।

एउटा अल्ट्रा साउण्ड (भिडियो एक्सरे) मेसिनसहितको चिकित्सकको कमी भएको महशुस गरें । काठमाडौंमै रहेका डाक्टर लोचनलाई फोन गरेर अब एउटा भिडियो एक्सरे कसरी जुटाउने ? लु जसरी पनि जोडौं अनि मात्र हाम्रो शिविर वास्तवमै स्तरीय र उपलब्धिमूलक हुन्छ भनें । ‘अब यो अन्तिम क्षणमा कसले देलान र दाइ मेसिन, डाक्टर पनि चाहियो रिएजेन्ट सम्भव नहोला । एउटा उपाय धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र हुन सक्छ हामीलाई सहयोग गर्ने’, डा. लोचनको जवाफ आयो । त्यहाँ कसलाई कुरा गर्नु पर्छ गरौं न हाम्रो नेटवर्कका साथीहरूलाई परीचालन गरौं न भन्ने सल्लाह थयो । धेरै साथीहरूसँग विचार विमर्श गरिसकेपछि के निष्कर्ष आयो भने यो समस्या समाधानको लागि त्यहाँको रेडियोलोजी विभाग प्रमुख प्रा. डा. राकुमार रौनियार मात्र हुनसक्छ । तर, उहाँ एकदमै ‘स्ट्रिक्ट’ र साह्रै अप्ठ्यारो मान्छे हुनुहुन्छ कसैको कुरा सुन्नुहुन्न अस्पतालको सामग्री त्यत्तिकै दिनु हुन्न होला..।

यो अन्तिम क्षणमा म आफैं सीधा अप्ठ्यारो मान्छेसँग भेटेर अनुरोध गर्ने निधो गरी गाडी धरानको घोपा क्याम्प तिर मोडें ।घोपा क्याम्प भिजिट मेरो जिवनकै पहिलोपटक थियो । डाक्टर रौनियारजीको अफिस खोज्दै खोज्दै पुगें ।   म सँगै गाडीमा मेरो  धरानकै सहपाठी मित्र अनिल श्रेष्ठ पनि हुनुहुन्थ्यो । जसलाई हाम्रा स्वास्थ्य शिविरका लागि धरान संयोजक  तोकेका थियौं । ढोका नक गरी बिना चिनजान र बिना सिफारिसभित्र छिरें । एकजना मानिस सायद उहाँकै प्यासेन्टसँग कुरा गररिहेका थिए । नमस्कार डाक्टर साप! म रोशन श्रेष्ठ दावाँली मिलन क्लव काठमाडौंको महसचिव । भोजपुरको विकट गाउँमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरी त्येस क्षेत्रका गरिब तथा असहाय नागरिकलाई स्वास्थ्य सेवा पुऱ्याउने उदेश्यले हिँडेको ।  मैलें स्वास्थ्य शिविरसहित सबै कुरा ५ मिनट जति एकोहोरो वेलिविस्तार लगाए र भने हाम्रो यो शिविरको पूर्णताको लागि हजुरको सहयोग चाहियो ।

एउटा भिडियो एक्सरे मसिनसहित डाक्टर र त्यसका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराई हाम्रो यो विशुद्ध मानवीय सेवाको कार्यमा सहयोग गरिदिनु पर्‍यो भनेर अनुरोध गरे । हाम्रो क्लवको क्यालेण्डर पनि दिए । जसमा विगतमा गरेका सामाजिक गतिविधिका तस्विरहरू संलग्न थिए । उक्त क्यालेण्डरमा हाम्रो नेटवर्कको स्पष्ट पहिचान झल्किन्थ्यो ।  उहाँ एकदम प्रभावित हुनु भयो र भन्नु भयो तपाईंको यो महान कार्यको लागि हार्दिक शुभकामना अनि तपाईलाई चाहिने एउटा होइन दुईवटा मेसिन पनि दिन्छु र कोही डाक्टर जान नमाने म आफै जान पनि तयार छु । तर, मलाई अस्पताल प्रशासनको रजिष्ट्रारले लेखेको मेसिन पठाउने अनुमति पत्र ल्याईदिनु होला। बिना अनुमति मैले सामान पठाए भने मलाई त यिनीहरूले खत्तम पारीहाल्छन् नी ! भन्नु भयो ।

उहाँको सकारात्मक जवाफले मेरो मन फुरूङ्ग भयो अनि उहाँले भने जस्तै वीपीको प्रशासन प्रमुख र उपकुलपति वीपी दासजीलाई पनि भेटेर हाम्रो कुरा राखे । तत्कालै रेडियोलोजी विभागलाई स्विकृति पत्र लेखियो । भोलिपल्ट विहान मेसिन र एक जना डाक्टर अशोक पन्तसहित हामी भोजपुर तर्फ लाग्यौं । हाम्रो पूर्व निर्धारित योजना बमोजिम भोजपुरको प्याउलीमा वृहत्त स्वास्थ्य शिविर एवं नयां वर्ष २०७१ लाई स्वागत गर्दै करिब ३५०० स्थानिय गरिब एवं असहाय वासिन्दाहरूको स्वास्थ्य उपचार गरियो । हामीले डाक्टर लोचनको पिताश्री, हामी सबैका आदरणीय श्री तोरण कार्की स्थानिय जनसमुदायलाई स्वास्थ्य सेवा दिने चाहना र सुझावलाई शिरमा राखेका थियौं । उहाँको उदगार थियो, ‘तिमीहरू जति ठूला डाक्टर भएपनि प्रधानमन्त्री, राष्ट्रपतिलाई हेर्ने भएपनि जबसम्म हाम्रो गाउँले गरिब असहाय समुदायको सेवा गर्न सक्दैनौं भने मेरो लागि तिमीहरू के को डाक्टर ? म मेरो छोरो डाक्टर भएको कुनै गौरव मान्न सक्दिन ।’, उहाँको यस्तो धारणाले हामीलाई गाउँको सेवामा जान सधै हौसला र प्रेरणा मिलेको छ ।

भोजपुर जिल्लाकै उत्कृष्ट कार्यक्रम भएको त्यहाँका जिल्ला प्रशासन प्रमुख सिडिओ, सुरक्षा निकाय प्रमुखज्यूहरूलगायत लव्ध प्रतिष्ठित महानुभाव एवं मिडियाकर्मीको विश्लेषणसहित हामी काठमाडौं फर्किएका थियौं । हाम्रो विशुद्ध सामाजिक कार्यक्रमबाट र हाम्रो साथीहरूको नेटवर्कसँग प्रभावित भएर डाक्टर रौनियारजी हामीसँग लगातार सम्पर्कमा रहिरहनु भएको थियो ।
एकदिन काठमाडौंमा हाम्रो दावाँली मिलन क्लव अफिसमा आउनु भयो र भन्नु भयो, ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ । म त्यहाँको सिनियर डाक्टर अनि पहिला पनि सिफारिसमा परेको तर केही प्राविधिक कुरा नमिलेको कारण मेरो नियुक्ती भएन । अव तपाईँहरूको सहयोग चाहियो म एकपटक भिसी बन्नै पऱ्यो।’, मैले भने ठिक छ तपाईंले गर्नुभएको सहयोगप्रति हामी सधै आभारी छौं । तपाईंको भीसी बन्ने अभियानमा हाम्रो पर्ण सहयोग रहन्छ । त्यो नेपालकै विशिष्ट ईन्स्टिट्युटलाई उत्कृष्ट बनाई नेपाली जनताको सेवा साथै एकेडेमीक प्रतिष्ठानबट उच्च कोटीको चिकित्सकहरू जन्माउनु पर्छ । तपाईको योग्यता र क्षमता देखाउनु होला भन्ने शुभकामना पनि व्यक्त गरें । कहाँ कसलाई के भन्नु पर्छ हामी सबै साथीहरू तपाईंको साथमा हुने छौं र आजैदेखि परिचालित हुने छौं भन्ने विश्वाश पनि दिलाए ।

क्लवका मित्रहरू डाक्टर लोचन कार्की, नवराज पाण्डे, नीरजवावु श्रेष्ठलगायतका सबैजनालाई डाक्टर रौनियारको विषयमा सकारात्मक हिसाबले सहयोग गरौ है भन्ने आव्हान नै गरें । यस क्रममा तत्कालीन स्वास्थ्यमन्त्री माननीय गगनकुमार थापा, पूर्व अर्थमन्त्री शंकरप्रसाद कोईराला, गृहमन्त्री विमलेन्द्र निधी , माननीय ज्ञानेन्द्र बहादुर कार्की, माननीय उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. गीताभक्त जोशी सरलगायतका महानुभावहरू जो यस विषयमा मद्दत पुऱ्याउन सक्छन् भन्ने ठानेर त्यस्ता व्यक्तिहरूलाई पटकपटक भेट गरी सहयोगको लागि निरन्तर अनुरोध गरियो । धेरै ठूलो मिहेनत र डा. रौनियारजीको भाग्य अनि हामी सबैको शुभेच्छाले 03 March 2017 मा नेपाल सरकारको क्याविनेटको निर्णयले उहाँ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा नियुक्त हुनु भयो ।

हाम्रो मिसन सफल भएकोमा हामी अत्यन्तै खुसी भयौं । उहाँलाई प्रतिष्ठानको प्रगतिको लाग आफ्नो ५ वर्षे कार्यकालमा उत्कृष्ट क्षमता प्रदर्शन गर्ने शुभकामना दिन हामी क्लवका साथीहरू होटल मनास्लु लाजिम्पाटमा भेटघाट गर्यौ ।  जहाँ रौनियार डाक्टर साप बस्नु हुन्थ्यो । ति खुसीका क्षणहरूको सम्झनाले मात्र पनि मन आनन्दित हुने गर्छ । ति गौरवपुर्ण दिनहरू धेरै लामो समयसम्म रहनै सकेन ।

उपकुलपतिको कार्यकाल तेस्रो वर्ष नपुग्दै 04 August 2019 मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कुनै ठेकेदारसँग ८ लाख रूपैया घुस लिएको भनि रंगेहात पक्राउ परेको र मुद्दा दर्तापछि उपकुलपतिबाट निलम्वनमा पर्नु भएको खबरले हामी स्तव्ध भयौं । के भएको होला यस्तो ? काम गर्ने शिलशिलामा सद मानिसलाई खुसी बनाउन त कसैले पनि सक्दैनन् नि ! उहाँको विरूद्धमा एकथरी मानिसहरू उहाँलाई असफल बनाउन लागि नै रहेका रहेछन् । अख्तियारले पेश गरेको भ्रष्टाचार विरूद्दको मुद्दा खेपी रहनु भएका समयमा पनि बेलाबेला-बेलामा सम्पर्क गरिरहनु हुन्थ्यो । मलाई अन्याय भयो भन्नु हुन्थ्यो । धेरै पीडा भोगेका कुरा सुनाउनु हुन्थ्यो । म जहिले पनि उहाँलाई हतोत्साही नहुनु होला । जहिले पनि सत्यको विजय हुन्छ नै । खाएको विष पो लाग्छ त नखाएको विषले तपाईलाई केही गर्दैन भन्ने हौसला दिई रहन्थें ।

यसैबीचमा एकपटक फोन गरेर भन्नु भयो कि सर्वोच्च अदालतको मुद्दाको पेशी उहाँको विपक्षीले भर्खरै नियुक्त हुनु भएको कानून, न्याय तथम संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्की दाइलाई भनेर हटाई दिए रे …! एकपटक ज्ञानेन्द्र दाइलाई भनिदिनु पर्यो भन्नु भयो । यो असम्भव कुरा नगर्नु होस् डा. साप! कहाँ मन्त्रीज्यूलाई यस्ता कुरा गर्न फुर्सद हुन्छ र ? मैले यस्ता गलत कुरा नसुन्नु होला । ढिलो चााँडो सत्यको दिजय अवश्य हुन्छ । धैर्य गर्नु होला भनेर सम्झाए । त्यसपछि धेरै समय उहाँसँग सम्पर्क भएको थिएन ।

गत हप्ता साँझ घरमा टिलिभिजन हेरिरहेको थिए । एभिन्यूज टेलिभिजनको स्क्रलमा समाचार देखे कि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. राजकुमार रौनियारको निधन !  म त स्तव्ध भए । अपत्यारिलो खबर.. फेरि त्यही म्यासेज दोहोरी रहेको छ । डाक्टर सापको दाई गौरीशंकर रौनियारलाई कुरा गर्न खोजे । मेरो फोनमा उहाँको नम्बर रहेनछ । तुरून्त त्यहीँका रेक्टर डा. गुरू खनालजीलाई कल गरें । खबर सत्य रहेछ । उपचारको शिलशिलामा स-परिवार कलकत्ता जानुभएको रहेछ । किड्नीको समस्याको उपचार क्रम थियो । सबै राम्रो भईरहेको थियो । मुद्दा पनि जितिसक्नु भएको थियो । २/३ दिनभित्रै अफिस आउने कुरा थियो । बुधबार धरान अफिसमा आउने भन्नु भएको थियो तर भोलि त उहाँको मृत शरीर पो आउने खबर छ ।

गौरी शंकर दाईको नम्बर डाक्टर रौनीयार कै सहयोगी दीवाकर कार्की भाइसँग खोजेर फोन गरें । होटेलमै वेहोस हुनुभयो रे ! कलकत्ताको मेडिका हस्पिटलको ईमर्जेन्सीमा पु्ऱ्याईए छ । मस्तिष्क घात (व्रेन हेमोरेज) भएको छ । डाक्टरले तुरून्त अपरेसन गर्नु पर्छ भने छन् । अपरेसनको लागि पैसा जम्मा गरसकेपछि फेरि डाक्टरले भनेछन्,  ‘अपरेसन गरे पनि राम्रो नहुने स्थिति छ ।’, त्यत्तिकैमा केही समयपछि डाक्टरले डिक्लिएर डेथ भने छन् ।  उहाँले भन्नु भयो कि यो त राजनीतिक हत्या भयो डाक्टरसापको.. तपाईंहरूलाई सबैलाई थाहै छ ।  उहाँ कति पीडामा हुनुहुन्थ्यो । धेरै टर्चर भयो..। के गर्ने ‘हुने हार दैव नटार’ भन्छ हजुर .. साह्रै दुःख लाग्यो ।

मलगायत हाम्रो सबै मित्रहरूको तर्फबाट डाक्टर साप! को आत्माको शान्तिको लाग भगवानसँग प्रार्थना गर्दै उहाँको अर्धांगिनी , छोरा छोरीलगायत सोकाकुल तपाईहरू समस्त परिवारजनमा हार्दिक समवेदना !  हजुर भनेर आफ्नो आत्मालाई पनि तसल्ली दिए र आज एघारौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्नुबाहेक के पो गर्न सकियो र .. I

अल विदा डाक्टर राजकुमार रौनियारजी । तपाई सधैं हाम्रो सम्झनामा रहि रहनु हनेछ ।

-रोशन श्रेष्ठ , भोजपुर

roshan.sainju@gmail.com

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ