स्तनपान सप्ताह विशेष
‘स्तनपानको महत्त्व र पहल’
काठमाडौं । शिशु जन्मनासाथ आफ्नी आमाको दुध खान पाउनु पर्छ । यो उसको प्रथम जन्मशिद्ध अघिकार हो । प्रकृतिलेहरेक स्तनधारीको दुध आफ्नै बच्चालाई सर्वोत्तम हुने हिसाबले बनाएको हुन्छ । त्यसैले आफ्नी आमाको दूध मानव जातिका लागी मात्र हैन कुनै पनि जीवका लागि अन्य दुधभन्दा बढी पोषिलो हुन्छ । स्तपानको महत्त्व प्रचिनकालदेखिनै चलिआएको छ । प्राचिन आयुर्वेद गन्थमा कुनै कारणले आमाको दूध नआएमा ‘धाइ’ आमाको दुध चुसाउन सुझाईएको प्रसंग छ । दुध खुवाउँदा आमालाई समेत सकारात्मक प्रभाव पर्ने हुँदा आामाको स्वास्थ्य पनि राम्रो हुन्छ ।
स्वास्थ आमाको स्तनबाट शिशुलाई मनग्य पुग्ने दुध उल्पादन हुन्छ । तर यहाँ धेरै आमाहरुले शिशुलाई आफ्नो दूध खुवाउन नसकेको वा दुधै नआएको कुरा बताउँछन् । पाउडर दुध शिशुले सजिलोसँग खानुु, स्तनपानको अभिबृद्धिका लागि लक्षित क्रियाकलापहरुको कमी हुनु, समुदायमा परामर्श केन्द्र सक्रिय नहुनु र मानव जन्य दुध सञ्चित राख्ने दुध बैंक नहुनुका कारण आमाहरु स्तनपान गराउन असहज वा बन्चित हुन पुगेका हुन् ।
प्रसब तथा सुत्केरी एक यस्तो अवस्था हो, जसमा आमालाई खुसी मात्र हैन पीर चिन्ता पनि उत्तिकै हुन्छ । यो अवस्थामा विभिन्न किसिमका हर्मोनले आमाको मानसिक अवस्थामा असर पारेको हुन्छ । यही कारण शुरुका केही दिन दूध नआउने तर विस्तारै स्वस्थ मनस्थिति रहेमा दूधको मात्र बढ्ने हुन्छ । तसर्थ पहिलो हप्तामा आमालाई उचित परामर्शको खाँचो हुन्छ ।
त्यसैले कस्तो अवस्थाका शिशुलाई स्तनपान गराउन असहज हुन्छ ? दुध प्रवाह हुने अवस्था र समय के हो ? दुध प्रवाह हुन के कस्ता आसन र विधि अपनाउनु पर्छ भन्नेबारे आमालाई स्वास्थ्यकर्मीले अनिवार्य रुपमा जानकारी गराउनु जरुरी हुन्छ । यो समयमा घरपरिवारबाट आमालाई विशेष माया, आत्मियता तथा सहयोगको आवश्यकता हुन्छ । तसर्थ शिशुलाई आवश्यक किसिमले स्तनपान गराउन आमाको भावनात्मक तथा शारीरिक स्वास्थमा ध्यान पुयाउन अति आवश्यक छ ।
शिशु जन्मेको ६ महिनासम्म अन्य दुध नखुवाऊ
शिशुलाई जन्मनासाथ दुध खुवाउँदा आमालाई समेत सकारात्मक प्रभाव पर्ने हुँदा उनको स्वास्थ राम्रो हुन्छ । शिशु जन्मेको पहिलो २ देखि ३ दिनसम्म आउने विघौती दुध शिशुलाई खुवाउन अति जरुरी छ । यो ‘कम्पोजिसन’ भएको दुध शिशुलाई खुवाउँदा शिशुको मानसिक र शारीरिक वृद्धिविकासमा ठूलो मद्दत पुर्याउँछ । आमाको विघौती दुधमा रोगप्रतिरोघात्मक तत्वहरु रहेको हुँदा यसले रोग विरुद्ध लडने क्षमता बढाउँछ । ६ महिनासम्म पूर्ण स्तनपानको सुचिश्तिताको लागि पनि यो समयमा अन्य दुध खुवाउनु हुँदैन ।
आमाको दूध नखाने शिशुमा देखिन सक्ने समस्या
आमाको दुध नखाने शिशुको पाचन प्रणालीमा गडबडी, झाडा पखाला, बान्ता, कब्जियत, रुघाखोकी ज्वरो आइरहने जस्ता समस्या देखिने हुन्छ । भविष्यमा मोटोपन, डाइभिटिज् र मुटुरोगबाट बच्न समेत स्तनपानको भूमिका अहम रहेको हुन्छ । आमाको दुध खाएमा यी समस्या आउँदै आउन्न भन्ने त हैन । तर स्तनपान गर्नेमा यस्ता समस्या कम हुन्छ र भइहालेको स्थितिमा सामान्य उपचारबाट विसेक हुन्छ । त्यसैले आमाको दुध सुरक्षित मात्र हैन अमूल्य अमृत समान छ ।
स्तनपानका फाइदा
शिशुलाई जन्मना साथ दुध चुसाएमा आमाको पाठेघर खुम्चन मद्धत पुग्नुका साथै बढी रक्तसाब हुने खतरा कम भई साल छिटो झर्न मद्धत पुग्छ । आमाको दुध समय सीमा र मात्रा नापिनु नपर्ने खाद्य बस्तु हो । आमाको दुध स्वच्छ, सुपाच्य, हानिकारण किटाणुको प्रबेस हुन नपाउने हुँदा आमाको दुध खाने शिशुलाई निरोगी हुन्छन् । आमाको दुधले शिशुको भविष्यमा शिशुको मनोविज्ञानमा समेत सकारात्मक असर पार्ने कुरा विज्ञहरु बताउँछन् ।
५५ प्रतिशतले जन्मेको पहिलो घण्टामै दूध खुवाउँछन्
नेपालमा ५५ प्रतिशत आमाले जन्मेको पहिलो घन्टामै शिशुलाई दुध खुवाउने तथा ९८ प्रतिशतले स्तनपान गराएको भन्ने पाएता पनि समय, र प्रकृया पुरा गर्ने कमै छन् ।
यो प्रतिशत बढाउने प्रयास स्वरुप स्तनपानमा आएका समस्याकोे जड पत्तालगाई समाधानको उपाए समेत अबलम्बन गरेमा कारण केही समय यता जन्मेको पहिलो घन्टामै स्तनपान गराउने संख्यामा निक्कै बृद्धि भएको छ ।
स्तनपानका सन्दर्भमा बालरोग विशेषज्ञ डा. प्रज्वल पौडेल भन्छन् ‘बच्चा जन्मेको शुरुको हप्ता दुध कमै आउने हुन्छ । त्यसपछि जति चुसायो उती आउँछ । स्तनपान बारे सामान्य कुराको जानकारी गर्भजाँचमा आएका बेलादेखिनै दिन जरुरी छ । त्यस्तै बच्चा जन्मेपछि तुरुन्त आमाको छातीमा घोप्टोपारी स्तनमा मुख पर्ने गरी राखिदिएमा शिशुले प्राकृतिक रुपमा स्तनपान गर्न थाल्छ । यसोगर्नाले नवजात शिशुले आमाको बिगौती दुध खान समेत पाउँछ । हरेक जीवलाई आफ्नी आमाको दुध जस्तो राम्रो अर्को कुनै दुध हुँदैन । तसर्थ सबै आमाहरुले आफ्ना बच्चालाई स्तनपान नै गराउहोस् ।’
बच्चा जन्मिएसंगै प्राकृतिक रुममा आमाहरुमा दुध पग्रन शुरु हुन्छ । तर शुरुका केही दिन धेरै जसोमा प्राकृतिक रुपमै कम दुध आँउछ । दुधको प्रवाह खासगरी शिशु जन्मेको तेस्रो दिनदेखि हुन्छ । तर धेरै आमाको बुझाई दुध नै आएन भन्दै फर्मुला वा अन्य गाइभैँसीको दूध खुवाउँन थालिहाल्छन् । बैकल्पिक दूध सजिलैसँग शिशुले खान थालेपछि अभिभावकहरु सजिलो मान्दै अन्य दुध खुवाउने तर्फ लाग्छन् । तर, बुझ्नु पर्ने कुरा के छ भने शिशुलाई आमाको दुध जस्तो उत्तम अरु कुनै दुध हुनै सक्दैन् ।
दुधको मात्रा बढाउन थरीथरीका खानेकुरा खानु पर्छ भन्ने पनि छैन । सामान्य पोषिलो खाना पेटभरी खाएमा मात्र पनि दुध आउँछ । आमाको मनको प्रसन्नताले दुध प्रवाहमा ठूलो भूमिका खेलेको हुन्छ । यसैले शिशुलाई आमाको नजिक्कै वा काखमा राख्दा आत्मियता तथा प्रेम भावका कारण दुध प्रवाह बढ्छ । पति तथा परिवारले सुत्केरी आमा दुःखी वा निराश हुने बातावरण कम गर्न पूर्ण सहयोग गर्नुपर्छ ।
अन्त्यमा,
स्तनपानको महत्व बैज्ञानिक तथा सामाजिक रुपमा प्रमाणित भइसकेका कारण यसको वकालत सबै क्षेत्रबाट हुन थालेको छ । छिमेकी राष्ट्र चीनमा त शिशुलाई कानूनी रुपमै बट्टाको दुध खुवाउनमा रोक लगाइएको छ ।
स्तनपानले बालबालिकाको स्वास्थ्यमा निक्कै ठूलो सकारात्मक असर पार्ने हुँदा यसको प्रर्वद्धनका लागि सबैक्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नु जरुरी छ ।
क्याटेगोरी : विचारट्याग : #सिर्जना शर्मा, #स्तनपान दिवस, #स्तानपान
तपाईको प्रतिक्रिया दिनुहोस