अख्तियारले भ्रष्टाचार ‘चार्ज’ लगाएका भीमकान्तसँग पर्यटनमन्त्री श्रेष्ठको गोप्य भेटवार्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा ‘चार्ज’ लगाएका विध ल्याब म्यानेजमेन्टका सञ्चालक भीमकान्त भण्डारीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवराम श्रेष्ठले गोप्य भेटवार्ता गरेका छन् ।
ललितपुर कुपनडोलस्थित हिमालय होटलमा भीमकान्त र पर्यटनमन्त्री श्रेष्ठबीच गोप्य वार्ता भएको छ । पर्यटनमन्त्री श्रेष्ठबीच र भीमकान्तबीच बेलुका ७ बजेदेखि ७:४५ बजेसम्म भेटवार्ता भएको हो । उनीहरूबीच उक्त होटलको गोप्य कोठामा के कुरा भयो भन्ने कुरा बाहिर आएको छैन ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्वास्थ्य लाइभसँगको कुराकानीमा आफूसँग भीमकान्त भण्डारीको भेट भएको स्वीकार गरे । आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट्न जाँदा भण्डारीसँग पनि भेट भएको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । ‘राज्यमन्त्री उमेश श्रेष्ठज्यू मेरो साथी हुनुहुन्छ, उहाँले हिमालय होटलमा भेट्न बोलाएका गएको हुँ । उहाँसँगै भीमकान्त पनि भएकाले भेट भएको हो । भीमकान्तसँग त्यस्तो विशेष कुरा भएन’, पर्यटनमन्त्री श्रेष्ठ स्वास्थ्य लाइभसँग भने । उनले आफूलाई थप कुरा जानकारी नभएको बताए ।
अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका विध ल्याबका सञ्चालक भण्डारीसँग मन्त्रीहरूले गोप्य कोठामा भेट गर्नुले गम्भीर प्रश्न खडा गरेको छ । उनी झण्डावाल गाडीमा होटल हिमालय छिरेका हुन् । पर्यटनमन्त्री श्रेष्ठले हिमालय होटलमा भीमकान्तसँग भेट गरिरहँदा अख्तियारले उनको मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई २२ लाख घुससहित नियन्त्रणमा लिएको थियो ।
स्वास्थ्य लाइभले भीमकान्त हुवावेका प्रतिनिधिसँग रमाउँदै गरेको फोटो र समाचार यसअघि सार्वजनिक गरेको थियो । तर, आफूले हुवावेका प्रतिनिधिसँग नभेटेको भीमकान्तको दाबी छ । उनले स्वास्थ्य लाइभमा प्रकाशित समाचारको खण्डन समेत गरेका छन् ।
हेर्नुहोस् हुवावेका प्रतिनिधिसँग भीमकान्तले भेटेको फोटो


ट्याग : #उमेश श्रेष्ठ, #पर्यटनमन्त्री जीवराम श्रेष्ठ, #भीमकान्त भण्डारी, #विध ल्याब, #हिमालय होटल
तपाईको प्रतिक्रिया दिनुहोस