सार्वजनिक जग्गा हडप्ने दुर्गा प्रसाईका भाइ युवराजलाई महानगरले डाक्यो


काठमाडौं । सार्वजनिक जग्गा हडप्ने मेडिकल व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईका भाइ युवराज प्रसाईलाई काठमाडौं  महानगरपालिकाले डाकेको छ ।

स्वास्थ्य लाइभले दुर्गा प्रसाईका भाइ युवराजले सरकारी जग्गा हडपेर सटर हालेर भाडा खाइरहेको प्रकाशित गरेपछि काठमाडौं महानगरले डाकेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राम कुमार केसीले सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा र कम्पाउण्ड समेत बनाएको विषयमा युवराजलाई १५ दिनभित्र सप्रमाण उपस्थित हुन पत्र काटेका छन् ।

‘उपरोक्त विषयमा यस का.म.पा. वडा नं. १० अन्तर्गत देवीनगर मार्ग स्थित जिल्ला काठमाडौं, का.म.पा. वडा नं १० सिट नम्बर १०२-११०६-२२ को कि. नं. ४४६ को सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा र कम्पाउण्ड समेत निर्माण गरेको भन्ने उजुरी परी यथार्थ विवरण पेश गर्न पत्रचार भएकाले उल्लेखित जग्गा सार्वजनिक हो होइन ? साथै तपाईंले अतिक्रमण गरी घर/टहरा कम्पाउण्ड निर्माण गर्नु भएकोले तपाईंसँग जग्गासम्बन्धी भएको सम्पूर्ण कागजातसहित १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन अनुरोध छ ।’, वडा कार्यालयले युवराज प्रसाईलाई काटेको पत्रमा उल्लेख छ ।

यही व्यहोराको पत्र सार्वजनिक जग्गामा ५ वटा सटर हालेर भाडा खाई ठगी गरिरहेका अष्ट नारायण महर्जनलाई पनि वडाध्यक्ष केसीले काटेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० रुद्रमती स्कुलसँगैको सिट नम्बर १०२११०६२२ को कित्ता नम्बर ४४६ र २१४ को सार्वजनिक जग्गा युवराज र अष्टले हडपेर सटर हाली भाडा खाइरहेका छन् । सार्वजनिक जग्गाबाट मासिक ५० हजार बढी भाडा खाने युवराज र अष्टमाथि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन । यिनीहरूविरुद्ध ठगी मुद्दा लाग्ने देखिएपनि राज्य निरीह हुँदाको फाइदा लुटिरहेका छन् ।

जग्गाको विषयमा रेकर्ड राख्ने कार्यालयमै सरकारी देखिने जग्गामा संरचना बनाइ भाडा खाने युवराज-अष्टमाथि  प्रमाण पेश गर्न लगाएर ठगी मुद्दा चलाउन आवश्यक छ ।

हेनुहोस् युवराजले हडपेर बनाएको संरचना

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ