डेँगुबारे यसो भन्छन् विशेषज्ञ डा. अनुप बाँस्तोला
काठमाडौं । अहिले काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेँगु ज्वरोका बिरामी बढेका खबरहरु आइरहेका छन् । त्यसैले प्रकोपकै रुपमा फैलिन सक्ने डेँगुलाई रोकथाम र नियन्त्रणका लागि सतर्क रहन ढिला नगरौं । लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान पनि अघि बढाऔं ।
विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट ‘डेँगु’को संक्रमण फैलिने गर्छ । लामखुट्टे धेरै पाइने तराई-मधेशमा मात्र होइन पहाडी क्षेत्रमा समेत डेँगुको संक्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काडमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेँगु ज्वरोका बिरामी बढिरहेका छन् ।
नेपालमा सन् २००४ मा पहिलो पटक डेँगुको बिरामी फेला परेको थियो । त्यसयता बर्सेनि डेँगुको संक्रमण देखिँदै र बढ्दै आएको छ । खासगरी, सन् २००६, २०१०, २०१२/१३, २०१७ र २०१९ मा डेँगुले प्रकोपकै रुप लियो । बीचका वर्षमा पनि डेँगुका फाट्ट-फुट्ट बिरामी भेटिइरहे । तराई-मधेशमा बढी देखिने डेँगु २०१८ पछि भने पोखरा, काठमाडौं जस्ता पहाडी सहरमा पनि देखा पर्यो । सन् २०१९ मा त डेँगुको प्रकोप नै देखियो ।
समुदाय स्तरमा १० हजार मानिस डेँगुबाट संक्रमित भए भने १ हजार जनामा लक्षण देखापर्छ । जसमध्ये ५ सय जना भाइरल ज्वरोले संक्रमित हुन्छन् भने अर्को ५ सय जनामा डेँगु ज्वरोका लक्षण देखिन्छन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, ढाड करकरी दुख्ने, शरीर दुख्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण डेँगुका लक्षण हुन् । डेँगु ज्वरो सन्चो हुने बेलामा शरीरमा राता दागहरु पनि देखा पर्छन् ।
डेँगुकै कारण ‘गम्भीर डेँगु’ (Sever Dengue) को सम्भावना पनि रहन्छ । गम्भीर प्रकृतिको डेँगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगर बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षणहरु देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ ।
हाम्रो उखान नै छ- ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम’ । त्यसैले अहिलेदेखि फैलिन शुरु भएको डेँगुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्छ । सर्वप्रथमतः हाम्रो घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ । एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेँगु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन ।
डेँगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा-बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा-बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने ।
डेँगु रोकथामका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको चाहिँ लामखुट्टेको लार्भा नष्ट गर्नु नै हो । तीन वर्षअघि डेँगुको प्रकोप फैलिँदै गर्दा लामखुट्टे नियन्त्रणका लागि एउटा नारा लेखेको थिएँ–
‘हप्ताको एक दिन, एक घण्टा, हुँदैन कुनै कष्ट ! समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट !!’
अहिले पुनः यो नारा सम्झिनुपर्ने मात्र होइन व्यवहारमै लागू गर्नुपर्ने अवस्था देखा पर्दै गएको छ । आउनोस्, लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई समुदायस्तरमै लैजाऊँ ।
क्याटेगोरी : विचार, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस