स्वास्थ्यमन्त्रीले भने, ‘कर्णालीमा चिकित्सक कुटिएछन् अहिलेसम्म थाहा पाएकाे थिइन्’,

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा घटेकाे घटना अहिलेसम्म विभागीय मन्त्रीले जानकारी नपाएको बताएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहमाथि भदौ २ गते प्रतिष्ठानकै कर्मचारीले मुखमा लात्ताले हानेका थिए । चिकित्सक कुट्ने कर्मचारी हिरासतमा छन् ।
कुटाइ खाने चिकित्सकले अस्पतालमा उपचाररत एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्। उजुरी दर्तालगत्तै प्रहरीले पक्राउ पूर्जी जारी गरेकाे छ ।
चिकित्सकलाई पक्राउ पूर्जी जारी गरेसँगै चिकित्सा क्षेत्रमा फेरि खैलाबैला सुरु भएकाे छ । पक्राउ पूर्जी जारी भएपछि चिकित्सकहरु त्यसलाई राेक्न लागि परेका छन् । जुम्लाका चिकित्सक आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा छन् । नेपाल चिकित्सक संघका पदाधिकारी पक्राउ राेक्न शक्ति केन्द्र धाइरहेका छन् ।
यत्रो घटना हुँदा र मिडियामा छ्याप्छ्याप्ती समाचार आउँदा पनि स्वास्थ्यमन्त्री भवानी खापुङले आफूले जुम्ला घटना जानकारी नै नपाएको गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । नेपाल चिकित्सक संघको टाेली स्वास्थ्यमन्त्री भेट्न मन्त्रालय पुगेकाे थियाे । त्यही क्रममा उनले घटना तपाईंहरुले भनेपछि मात्रै जानकारी भएको सुनाए । आफू विभागीय मन्त्री भएकोले यसलाई राेक्न पहल गर्ने बताए । घटनाकाे सत्यतथ्य छानबिन हुनुपर्ने चिकित्सककाे माग छ । झुटा मुद्दा लगाएर डाक्टर फसाउन खाेजेकाे चिकित्सक संघको आराेप छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, उपाध्यक्ष डा. अनिल बिक्रम कार्की, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी, प्रमोद जोशीलगायतको टोलीसँग भएको भेटमा स्वास्थ्य खापुङल देश दुनियाँले थाहा पाएको घटना आफूलाई थाहा नभएको जवाफ दिएका छन् । उनी चिकित्सक सुरक्षाप्रति संवेदनशील छेनन् भन्ने यो अभिव्यक्तिले देखाएको छ ।
क्याटेगोरी : मेडिकल शिक्षाट्याग : ##कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, #डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ(एनएमए), #स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ
तपाईको प्रतिक्रिया दिनुहोस