स्वास्थ्य मन्त्रालयको अवैध संरचनामा डोजर लगाउने विषयमा मेयर बालेन परामर्शमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवैध संरचनामा डोजर लगाउने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) परामर्शमा जुटेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चौथो अवैध तला भत्काउन सर्वोच्च अदालतले आदेश दिएको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरेसँगै मेयर बालेन परामर्शमा जुटेका हुन् । स्वास्थ्य लाइभका प्रतिनिधिसँग कुरा गर्दै मेयर बालेनले स्वास्थ्य मन्त्रालयको अनधिकृत संरचनाको विषयमा चाँडै निर्णय गर्ने बताए ।
मेयर बालेन र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङबीचको भेटमा उनले महानगरसँग नक्सापास स्वीकृति नलिई बनाएको स्वास्थ्य मन्त्रालयको माथिल्लो तला अभिलेखीकरण गराउन मन्त्री खापुङको ध्यानाकर्षण गराएका थिए । तर, स्वास्थ्य लाइभले सर्वोच्चको फैसला बमोजिम उक्त अवैध संरचनामा डोजर लाउनुको विकल्प नरहेको तथ्य सार्वजनिक गरेपछि उनी डोजर लगाउने मनस्थितिमा पुगेका हुन् । मंगलबार स्वास्थ्य लाइभका प्रतिनिधिसँगको भेटमा मेयर बालेनले स्वास्थ्य मन्त्रालयको अवैध संरचनाको विषयमा आफूले केही दिनमै निर्णय गर्ने स्पष्ट पारेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार पनि स्वास्थ्य मन्त्रालयको अवैध संरचनामा डोजर लगाउने पक्षमा छन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले यो विषयमा मेयर बालेनसँग कुरा गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालय ११ नम्बर वडामै पर्ने भएकाले डोजर लगाउन वडाध्यक्ष तण्डुकार ताम्सिएका हुन् । नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, भूमाफिया दिपक मल्होत्राले हडपेको सार्वजनिक जग्गामा डोजर लगाउन सक्रिय वडाध्यक्ष तण्डुकार स्वास्थ्य मन्त्रालयको अवैध संरचनामा पनि डोजर लगाउने पक्षमा छन् ।
स्वास्थ्य मन्त्रालयको अवैध संरचना भएकै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, मेयर बालेन र वडाध्यक्ष तण्डुकार स्वास्थ्य मन्त्रालयको अवैध संरचनामा डोजर लगाउन एकमत देखिन्छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस