कोरोनाबाट सुतेको सरकार लामुखुट्टेले मान्छे मार्दा पनि ब्युझिएन

कोरोना भन्दा ३० गुणा बढी फैलियो डेंगु, पब्लिक हेल्थले सम्हाल्ने मन्त्रालय बिरामी चाहनेकाे हातमा पुग्दा समस्या


काठमाडौं । कोरोनाले सुताएको सरकारलाई लामखुट्टेको संक्रमणले मान्छे मार्दा समेत ब्युझाउन सकेको छैन  । साउन देखि हाल सम्म २९ जना नागरिकलाई लामखुट्टेकाे टोकेरै ज्यान लिइसकेको छ । तर, शासन बागडोर समालेर बस्नेहरु स्वान निन्द्रामा छन् ब्युझिन सकेका छैनन् ।

कोरोना भाइरस भन्दा अहिले लामखुट्टेको टोकाइबाट भएको डेंगु ३० गुणा भन्दा बढी फैलिएको छ । हाल डेंगु संक्रमणबाट दैनिक औषतमा २ जनाको मृत्यु भएको छ । कोरोनाको मृत्यु विगत लामो समय देखि शुन्य छ । त्यस्तै कोरोनाको संक्रमण पनि १ सय भन्दा धेरै कम छ ।

मुलुकको राजधानी लागायतका प्रमुख शहरहरुमा डेंगु संक्रमण तिब्र गतिमा फैलिएको छ । दैनिक ५० देखि ६० जना कोरोना पुष्टि हुदा १ हजार भन्दा धेरै डेंगु केस २४ घण्टामा पुष्टि भइरहेको छ ।  एडिस जाति (एजिप्टाई र अल्बोपिक्टस) का पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने डेंगुले हाल देशभर नागरिक त्रसित बनाएको छ ।

घरघरमा डेंगुका बिरामी छन् उपचार र असुरक्षाले जनता आक्रान्त हुँदा सरकार अचेत जस्तै भएर सुतेको छ । उठाउने कसले हो केही थाहाँ छैन् । महामारीको दिगो निराकरणका उपायहरू र समाधानका उपायमा सरकार उदासीन देखिएको छ । सम्बद्द अधिकारीहरु भन्छन् उपकरण खरिद गर्ने निर्णय भए छिटो व्युझाउन सकिन्छ । विगतका कामले पनि यही सिकाएको छ ।

बिगतमा कोरोनाबाट एक जना संक्रमित हुदा राज्यको चुरिफुरी निकै आश्चर्यजनक थियो । हतार हतारमा अरबौंका उपकरण खरिद गर्न रातमा निद्रा र दिनमा भोक माया मारेर काम भए । रेडियो, टेलिभिजन, पत्रपत्रिका, नेपाल टेलिकम, एनसिएल यत्रतत्र सर्वत्र जनचेतना मुलक विज्ञापनहरु प्रचार प्रसार गरियो । औषधि उपकरण खरिदमा ओम्निसँग जाेडिएर अरवौं घोटला भएपछि विवादमा आएको सरकार उठ्नै नसक्ने गरि सुतेको थियो । अहिले लामखुट्टेले दैनिक २ देखि ३ जना मान्छे मार्दा पनि सरकार उठ्न सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी रोग फोकल पर्सन गोकर्ण दाहाल राज्य सुतेर नबसेको बताउँछन् । जनप्रतिनिधि समक्ष डेंगु नियन्त्रणबारे  छलफल भइरहेको छ उनले भने । आगो लागे पछि कुवा खन्ने नेपाली उखान जस्तै सरकारी अधिकारीको कमजोरी नै यही हो । जन स्तरमा चेतना,रोग र सावधानी को बारेमा जनतालाई सुसुचित पार्ने काम छैन, निर्वाचनको मुखमा राजनीतिक दलका जनप्रतिनिधिसँग छलफल गरेर रोग नियन्त्रण  अहिले उपलब्धी छैन ।

डेंगु केन्द्रित भन्दा पनि जनप्रतिनिधि निर्वाचन केन्द्रित भएका छन् । सावधानी,जानकारी र सचेतना अभावमा रोग फुसको आगो जस्तो भएको छ । डेंगुका कारण देशभर रगत अभाव हन थालेको छ ।

एक हप्ता अगाडी रोग नियन्त्रण महाशाखाले डेंगु महामारी घोषणा गरेर अगाडी बढ्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । जुन समय १७ हजार संक्रमित र १९ जनाको मृत्यु भएको थियो । अहिले दोब्बरले बढी हुदा समेत निर्णय थन्क्याइएको छ । महामारीले निर्वाचनमा असर पर्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले महामारी घोषणा गर्ला जस्तो धेरैलाई लाग्दैन ।

बिरामी चाहिने व्यक्तिको नेतृत्वमा मन्त्रालय छ, नियन्त्रण सम्भावना छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय डेंगु नियन्त्रणमा भुमिगत छ । हुनत मन्त्रालय पब्लिक हेल्थको नियन्त्रणमा नभएकाले पनि डेंगु नियन्त्रणमा भुमिगत हुनु स्वभाबिक हो ।

चिकित्सकहरुले नेतृत्व गरेकाे स्वास्थ्य मन्त्रालयले धेरै भन्दा धेरै बिरामी हुने रोगको नियन्त्रण गर्छ भनेर सोच्नु पनि बेकार हुन्छ । कसैले साेच्छ भने त्याे एउटा मजाक मात्रै हाे । बिरामीकाे संख्या नभएर डाक्टर पढाउने विद्यालयकाे सिट कटौती भएका उदाहरण हामीसामु ताजै छ ।

चिकित्सकको सिकाइ नै बिरामी हो । बिरामी जति धेरै हुन्छन् उनिहरुको प्राक्टिस त्यति फलदायी हुन्छ, मानिन्छ । अहिले डेंगुले अस्पताल भरिएका छन् । यस्तो बेला चिकित्सकलाई बिरामी माथि शिक्षण सिकाई गर्न राम्रो अवसर हो । त्यसैले पनि महामारी रोक्न मन्त्रालयका डाक्टर अग्रसर छैनन् ।

पब्लिक हेल्थका कर्मचारीको ध्यान रोगको जरै पत्ता लगाएर निर्मूल पार्नेमा हुन्छ । उनिहरु एक जना पनि रोगी देखिनु हुदैन भन्नेमा हुन्छन् । तर, चिकित्सक रोगको जरैबाट निदान चाहदैनन् ।  उनिहरुलाई जति धेरै बिरामी भयो उति राम्रो हुन्छ । त्यसैले अहिले मन्त्रालयमा भएका चिकित्सक २९ जना नागरिक  लामखुट्टेले टोकेर मर्दा पनि नब्युझिनु स्वभाबिक हो ।

स्वास्थ्य मन्त्रालय सबै अस्पतालमा बिरामी हेर्ने डाक्टरले संचालन गरेका छन् । नीति र दीर्घकालीन योजना निमार्ण गर्ने ठाउँमा पब्लिक हेल्थको दरबन्दी भएपनि उनिहरु छैनन् । मन्त्रालयभरी चिकित्सक छन् तर, उनिहरु डब्लुएचओकाे गाेटी बनेर भात खाने कार्यक्रम चाहारि रहेका छन् ।

स्वास्थ्य सचिव क्लिनीकल डाक्टर छन् । प्रमुख विशेषज्ञ पनि डा संगिता कौशल मिश्रा क्लिनिकल हुन् । अर्का प्रमुख विशेषज्ञ डा गुणराज लोहनी पनि क्लिनिकल हुन् । मन्त्रालयका प्रवक्ता डा संजय कुमार ठाकुर पनि क्लिनिक हुन्  ।  नीति योजना प्रमुख डा कृष्ण पौडेल बाल राेग विशेषज्ञ हुन् । गुणस्तर महाशाखा प्रमुख डा मदन उपाध्याय क्लिनिकल साथै पब्लिक हेल्थ चिकित्सक हुन् । मन्त्रालयमा उनकाे मात्रै दरबन्दी मिल्छ । उपाध्याय बाहेकअरु सबै अस्पतालमा दरबन्दी भएका चिकित्सक हुन् । उनिहरु अहिले स्वास्थ्य क्षेत्रको नीति निमार्ण गर्ने ठाउँमा छन् । तर, डेंगु महामारी हुदा हाइसन्चोले बसेका छन् । किनकी उनिहरु जति सक्दो धेरै बिरामी भएको रुचाउने पक्षमा हुन्छन् ।

क्याटेगोरी : विचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ