सिन्धुपालचोक-२ मा पूर्व स्वास्थ्यमन्त्री तामाङसँग बस्नेतको टक्कर


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक-२ मा दुई राजनीतिक हस्तीहरुबीच कडा टक्कर हुने भएको छ ।

पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबीच सिन्धुपाल्चोक-२ मा कडा प्रतिस्पर्धा हुने भएको हो । एमालेबाट उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री तामाङ र सत्ता गठबन्धनको साथमा कांग्रेसबाट चुनाव उठेका पूर्व सञ्चारमन्त्री बस्नेतबीचको प्रतिस्पर्धाले सिन्धुपाल्चोक-२ को राजनीतिक माहोल तातेको छ ।

सरल स्वभावका तामाङ २०७४ को प्रतिनिधिसभाका निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए । उनी १९ दिनका लागि स्वास्थ्यमन्त्री भए । कार्यकर्तालाई स्वास्थ्य प्रतिष्ठान तथा संस्थाहरूमा व्यवस्थापन गर्नबाहेक स्वास्थ्यमा कुनै काम गर्न नसकेका तामाङ फेरि सांसद बन्ने दाउमा छन् ।

तामाङले मन्त्री खुस्किसकेपनि ब्याक डेटमा धमाधम निर्णय गरेको आरोप लाग्दै आएको छ । कानुनमन्त्री हुँदा पनि बंगलादेशमा पढ्न जाने महिला विद्यार्थीकोबारेमा दिएको अभिव्यक्तिले उनको कुर्सी नै खोसिएको थियो । अहिले उनलाई बस्नेत चुनाव जित्न चुनौती बनेका छन् ।

अघिल्लो पटकको चुनावमा सिन्धुपाल्चोक-१ बाट अग्नीप्रसाद सापकोटासँग पराजित बस्नेत क्षेत्र फेरर २ मा गएका हुन् । सिन्धुपाल्चोक-१ माओवादीको भागमा परेपछि उनी पूर्व स्वास्थ्यमन्त्री तामाङलाई टक्कर दिने गरी २ मा गएर उठेका हुन् । यसपटक सिन्धुपाल्चोक-२ मा पूर्व स्वास्थ्यमन्त्री तामाङ र पूर्व सञ्चारमन्त्री बस्नेतको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, #सिन्धुपाल्चोक-२

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ