कांग्रेसका एकजना मन्त्री मात्रै चुनावमा उठ्न पाए, स्वास्थ्यसहित अरु मन्त्री जिल्ल भए

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट बागमती प्रदेश सरकारको मन्त्री बनेका एकजनाले मात्रै चुनावमा उठ्न पाएका छन् । कांग्रेसका ती भाग्यमानी मन्त्री हुन् संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ । उनीबाहेक कांग्रेसका अरु मन्त्री चुनाव लड्न नपाएर जिल्ल भएका छन् ।
त्यसरी चुनावमा उठ्न नपाएर जिल्ल पर्नेमा स्वास्थ्यमन्त्री निमा लामा, भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण लाल भडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठ रहेका छन् । त्यसमध्ये स्वास्थ्यमन्त्री लामा र भौतिक पूर्वाधार विकासमन्त्री भडेल अघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
लामा सिन्धुपाल्चोक २(२)बाट निर्वाचित हुन् भने भडेल भक्तपुर १(१)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । लामाको ठाउँमा कांग्रेसकै कृष्ण कुमार तमाङ र भडेल निर्वाचित भएको ठाउँमा सुरेश श्रेष्ठ उम्मेदवार बनेका छन् । अघिल्लोपटक काठमाडौं क्षेत्र नम्बर १(१) निर्वाचन पर्यटनमन्त्री श्रेष्ठले भने योपटक पनि चुनावमा उठ्ने एकमात्र कांग्रेस मन्त्रीको रेकर्ड राखेका छन् । त्यस्तै कांगेसको समानुपातिकबाट सांसद बनेर मन्त्री भएका बलराम पौडेल र मिलन बाबु श्रेष्ठ प्रत्यक्षमा लड्ने चाहना राख्दाराख्दै टिकट नपाउनेमा परेका छन् ।
कांग्रेसबाटै स्वास्थ्य राज्यमन्त्री बनेकी कल्पना नेपाली राज्यमन्त्री सन्तबहादुर प्रजा र रजनी अमात्य जोन्छे पनि चुनाव लड्न नपाउनेमा परेका छन् ।
नेकपा माओवादी केद्रबाट वन तथा वातावरणमन्त्री बनेका विशाल खड्का पनि चुनाव लड्न पाएनन् । उनी अघिल्लोपटक दोलखा १(१)बाट बागमती प्रदेशको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका बसुन्धरा हुमागाई पनि चुनाव लड्न पाएनन् । काभ्रेपलाञ्चोक २(२)बाट प्रत्यक्ष निर्वाचित उनी उक्त क्षेत्र कांग्रेसको भागमा परेकाले चुनाव लड्नबाट बञ्चित भएका हुन् । उक्त ठाउँमा अहिले कांग्रेसका कञ्चन चन्द्र वादे चुनाव उठेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेकी इन्द्रमाया गुरुङ पनि चुनाव उठ्न पाइनन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे भने धादिङ-१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव उठेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल, श्रम तथा रोजगारमन्त्री धनश्याम दाहाल, सामाजिक विकासमन्त्री कमारी मोक्तान र युवा तथा खेलकुदमन्त्री रत्न प्रसाद ढकाल भने प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद खनाल, खानेपानी, ऊर्जा तथा सिञ्चाईमन्त्री वसन्त प्रसाद मानन्धर पनि चुनावमा उठ्न पाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ## उद्योग, #भूमि व्यवस्था, #भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण लाल भडेल, #वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठ, #संस्कृति तथा पर्यटनमन्त्री, #सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, #स्वास्थ्यमन्त्री निमा लामा
तपाईको प्रतिक्रिया दिनुहोस