वनमन्त्री थापाको निधन भएपछि लिम्बुले टिकट पाए
काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका उम्मेदवार वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएपछि उनको ठाउँमा मानबहादुर लिम्बुले टिकट पाएका छन् ।
थापाको निधनपछि नेपाली कांग्रेसले बेलबरीका महाधिवेशन प्रतिनिधि लिम्बुलाई मोरङ ३(१) बाट प्रदेशसभा सदस्यको टिकट दिएको हो । डेंगु संक्रमण र निमोनियाका कारण उनको हिजो बिराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालमा मृत्यु भएको हो । थापाको मृत्यु भएपछि रिक्त ठाउँमा लिम्बुलाई अगाडि सारिएको नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।
मोरङ ३(१) बाट प्रदेशसभा सदस्यका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि मनोनयनको समय दिइएको छ । कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मेडिकल व्यवसायी सुनिल शर्मा उम्मेदवार बनेका छन् । एमालेबाट पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र राप्रपाबाट रेखा थापा प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभामा भने कांग्रेस उम्मेदवार लिम्बु र एमाले उम्मेदवार दिलिप राईबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस