औषधिमा परनिर्भर बनेको नेपालमा टिजिगले क्यान्सरका १६ प्रकारका औषधि बिदेश निर्यात गर्ने
काठमाडौं । नेपाल औषधिमा आत्मनिर्भर बन्न सकेको छैन । ५० प्रतिशत भन्दा बढी बजार नेपाली औषधि उद्योगले कब्जा जमाएको बताइए पनि नेपालमा उत्पादन हुने सिटामोल समेत अभाव छ । तर, खुसीको कुरा पनि छ । नेपालको एउटा औषधि उद्योग टिजिगले क्यान्सरका औषधि बिदेश निर्यात गर्ने भएको छ ।
टिजिगको नेपालमा जन्म भएको धेरै भएको छैन । टिजिगको जन्म ९ महिना अगाडी मात्रै भएको हो । छोटो अवधिमा टिजिगले क्यान्सरका १६ किसिमका औषधि बिदेशमा विक्री वितरण गर्ने भएको छ । टिजिगका कार्यकारी निर्देशक शैलेस बैद्यले ९ प्रकारका मोलिक्युलबाट बनेका १६ किसिमका औषधि बिदेशमा विक्री वितरण गर्न लागेको बताए । तर, यी औषधि नेपालमा तत्काल बेच्न पाइदैन । नेपालको औषधि व्यवस्था बिभागले हाललाई बिदेशमा मात्रै विक्रीको अनुमती दिएको छ ।
कार्यकारी निर्देशक बैद्यका अनुसार बिदेशमा विक्री वितरण गर्न अनुमती पाएका औषधिहरु यतिवेला नेपाली चिकित्सक, अस्पताल र बिरामी पक्षबाट व्यापक माग हुदै आएको छ । चिकित्सक, अस्पताल र बिरामीको मागलाई ध्यानमा राखेर उत्पादन गर्ने कम्पनी टिजिगले औषधि व्यवस्था बिभाग समक्ष नेपालमा पनि विक्रीको बाटो खोल्न अनुमती मागेको छ । यस विषयमा बिभाग निकै सकारात्मक देखिएकाले केही समयमा बिदेशमा मात्रै अनुमती पाएका औषधि नेपालमा पनि विक्री वितरण हुनेछन् ।
कम्पनीका निर्देशक बैद्यले बताए अनुसार टिजिगले फोक्सो, रगत, स्तन, पाठेघर, मस्तीष्क, ठुलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरु उत्पादन गरिरहेको छ । नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युलबाट उत्पादन हुने ५३ किसिमका औषधि उत्पादन गर्ने अनुमती पाएको छ ।
त्यस्तै यी मध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादित २३ किसिमका औषधिहरुको लागि औषधि व्यवस्था बिभागले विक्री वितरणको अनुमति दिईसकेको छ । नेपालमा भने हाल ५ प्रकारको मोलिक्युलका ७ किसिमका औषधिहरु मात्र विक्री विरतण गर्न पाइन्छ । यसलाई बढाउँदै लैजाने कम्पनीले जनाएको छ ।
नेपालका निजी अस्पताल सबैमा टिजिगले उत्पादन गरेका क्यान्सरका औषधि पाइन्छ । अब सरकारीमा समेत प्रवेश गर्ने तयारीमा रहेको निर्देशक बैद्यले बताए । आफ्नो कम्पनी टिजिगले उत्पादन गरेका क्यान्सरका औषधि अन्यको हकमा धेरै सस्तो रहेको दावी उनको छ । सस्तो र गुणस्तर भएकै कारण अहिले भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेका बिरामीहरुले नेपाली उद्योग टिजिग फर्माले उत्पादन गरेका औषधि प्रयोग गरिरहेका छन् ।
नेपालमा प्रति वर्ष २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । एक वर्षमा १३ हजारको संख्यामा मृत्यु हुने गरेको छ । बाँकी ६ देखि ७ हजारको भने औषधिले आयु लम्बिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस