लैङ्गिक समानताका मुद्दामा सशक्त आवाज उठाउने छु: प्रकाशमान 


काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका प्रकाशमान सिंह लैङ्गिक समानताका मुद्दामा सशक्त आवाज उठाउने बताएका छन् ।

नेपाली कांग्रेस नै लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि लड्ने पार्टी रहेको स्पष्ट पार्दै उनले यो विषयमा आफू लागि पर्ने सुनाए ।

महिलाविरुद्ध हुने विभेद अन्त्य गर्नका लागि कांग्रेस कै नेतृत्वमामा समानुपातिक र समावेशी संविधान जारी गरिएको बताउँदै प्रकाशमानले उक्त संविधानको सफल कार्यान्वयन गरे लैङ्गिक असमनता हट्दै जाने स्पष्ट पारे ।

महिला र लैङ्गिक अल्पसंख्यकको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको उनले सीप र आय आर्जनमुलक काममा उनीहरूलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई अन्त्य गर्न नीतिगत र व्यावहारिक हस्तक्षेप गर्नु पर्ने प्रकाशमानको भनाइ छ । ‘महिला तथा लैङ्गिक अल्पसंख्यकमाथि हुने घरेलु तथा यौनजन्य हिंसाविरूद्ध सशक्त नीतिगत र व्यावहारिक हस्तक्षेप नभएसम्म लैंगिक समानताका राजनीतिक, संवैधानिक र कानुनी उपलब्धिमाथि चुनौती आइरहन्छ । यो उपलब्धि रक्षाका लागि आवश्यक व्यवस्था गर्नुपर्छ ।’, प्रकाशमान भन्छन् ।

स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण भइरहेको जनाउँदै यसकाे अन्त्यका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ । लैैैङ्गिक समानताका मुद्दामा मंगलदेवी सिंहको भूमिकाको प्रसंग कोट्‌याउँदै प्रकाशमानले महिलाहरूले पनि मत हाल्न पाउनु पर्छ भनेर उनी नलडेको भए अहिले यो अवस्था नआउने बताए । मंगलादेवीको प्रयासबाट आज महिलाहरूलाई मतदानको अधिकार प्राप्त भएको जनाउँदै उनले लैङ्गिक समानताका मुद्दामा आफू सधै अगाडि रहेको प्रस्ट पारे ।

पुरुष, नारी र लैङ्गिक अल्पसंख्यकलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ,स्रोत-साधन आदिमा समन अवसर पहुँच हुनुपर्ने प्रकाशमानको मान्यता छ ।

संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा महिला तथा बालिकाका लागि विशेष अवसर सिर्जना गरिएको बताउँदै उनले यसको सफल कार्यान्वयनका लागि सदनमा विशेष भूमिका खेल्ने विश्वास दिलाए ।

महिला समावेशीकरण, महिलाविरुद्धका हिंसा र लैगिङ्क असमानताविरुद्ध आफूहरू सधै लडिरहेको भन्दै प्रकाशमानले यी मुद्दालाई आफूले विशेष रुपमा उठाउने बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ