राज्यले नीति बनाउँदा लैङ्गिक समानता ध्यान दिनुपर्छ : मोदी


काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार अमनलाल मोदीले लैङ्गिक विभेद अन्त्य गर्ने एजेण्डालाई प्राथमिकता दिने बताए । आफूले पहिला पनि यी मुद्दालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै पुनः निर्वाचित भए लैङ्गिक समानताका क्षेत्रमा काम गर्ने बताए ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा माओवादी केन्द्रका नेता समेत रहेका मोदीले समाजमा रहेका हानीकारक अभ्यास अर्थात बालबिबाह, महिलाहरूको महिनावारीमा विभेद , लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसारको नियन्त्रण जस्ता विषयमा आफूले चासो दिने बताए । बालिका, किशोरी र महिलाहरूले हरेक क्षेत्रमा सुरक्षित, सम्मानित मर्यादित र भयरहित वातावरणमा काम गर्न सक्ने अवस्था ल्याउनु पर्ने धारणा राख्दै उनले यो विषय माओवादी केन्द्रको पनि प्राथामिकतामा रहेको उनको भनाई छ ।

विकासलाई सामाजिक न्यायसँग जोडेर नीति निर्माण गर्नु पर्ने उनको तर्क छ । महिलाहरूमाथि यौनजन्य हिंसा र घरेलु हिंसाविरुद्ध सांसदहरुले विशेष भूमिका खेल्नु पर्ने बताउँदै मोदीले यी विषयमा समाज र सरकार गम्भीर बन्नु पर्ने स्पष्ट पारे ।

राज्यले नीति बनाउँदा लैङ्गिक समानता र सामाजिक न्यायमा विशेष ध्यान दिनुपर्ने मोदीको धारणा छ । यसमा आफूले काम गर्ने उनको प्रतिबद्धता व्यक्त गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ