महिला हिंसाविरुद्धको अभियान

अस्ताउँदा मन्त्रीको सहभागितामा उदाउँदा सचिवको बहिस्कार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सम्बन्धी एक कार्यक्रमलाई विभागीय सचिवले बहिस्कार गरेका छन् । १६ दिने अभियान सुरु भएकै दिन कार्यक्रम आयोजना गर्न खोज्दा सचिवले समय नदिएका कारण निकै पर सरेको थियो । जनसंख्या मन्त्रालय अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्रले आइतबार मन्त्रालयमै गरेको कार्यक्रमलाई समेत सचिवले बहिस्कार गरे ।

अस्ताउँदा मन्त्रीको उपस्थिति र उदाउँदा सचिवको बहिस्कारले स्वास्थ्य क्षेत्रमा एक किसिमको तरंग ल्याएको छ । स्वास्थ्यमा हाल दुई जना सचिव छन् । एकजना प्रशासन तर्फ र अर्का स्वास्थ्य तर्फ । धेरै बिरालोले मुसा मार्दैन भन्ने नेपाली उखान पछिल्लो समय स्वास्थ्यमा भएको दुई सचिवबाट पुष्टि भएको छ ।

स्वास्थ्य तर्फ डा. रोशन पोखरेल र प्रशासन तर्फ देवकुमारी गुरागाईं सचिव छन् । यी दुवै उदाउँदा सचिवका रुपमा चिनिन्छन् । तर, लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा स्वास्थ्यका दुवै सचिवले बहिस्कार गर्नु सरकारी क्षेत्रबाटै एक प्रकारको हिंसा भएको विज्ञहरु बताउँछन् ।

आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने भनिएको थियो । तोकिएको समयमा सहभागीको उपस्थिति भइसकेको थियो । प्रमुख अतिथि रहेका स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ समेत सहभागी भइसकेका थिए । तर, मन्त्रीको दायाँ-बायाँ राखिएका सचिवका दुई कुर्सी खाली थिए । करिब ३० मिनेट सचिवको पर्खाइमा मन्त्री बसे तर, दुवै सचिव सहभागी भएनन् । हुन त कार्यक्रममा प्रशासन तर्फकी सचिव देवकुमारी गुरागाईंलाई अध्यक्षतामा राखिएको थियो । स्वास्थ्य तर्फका सचिव डा. रोशन पोखरेल आमन्त्रित थिए । उनको उपस्थिति त्यति महत्त्वपूर्ण थिएन, जति गुरागाईंको थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सचिव गुरागाईंले बहिस्कार गर्नुलाई सामान्य मान्न सकिँदन ।

मन्त्रालयको कार्यकक्षमा बसेर सभाकक्षमा उपस्थित नहुनु कुनै पनि दृष्टिले सही हैन । सचिवहरुको विषयमा कुरा उठेपछि सहसचिव इन्द्रमणी पोखरेलले दुवै सचिवको बचाउ गरे । डा. रोशन पोखरेलको प्रधानमन्त्री कार्यालयमा जरुरी बैठक परेको र प्रशासन सचिव स्वास्थ्यमा समस्या भएर नआएको सुनाए । स्वास्थ्य लाइभले यस विषयमा नकै चासो दिएको थियो ।

सचिव डा. रोशन पोखरेल कार्यकक्षमा भएपनि आयोजकले उनलाई अध्यक्षताका लागि बोलाएको थिएन । उनी प्रशासन तर्फकै सचिव सहभागी भएको भन्दै जनताको काममा व्यस्त भए । फेरी उनको साँझ जापानको यात्रा भएकाले बाँकी काम सक्ने हेतुले निरन्तर काममा व्यस्त भए । तर, प्रशासन तर्फकी सचिव गुरागाईंको कुनै अत्तोपत्तो मन्त्रालयमा छैन । उनको सचिवालयलाई समेत सचिव आउने नआउने कुनै जानकारी छैन । धेरै कर्मचारीले भने, गुरागाईं सचिव आउने-नआउने जाने विषयमा कुसैलाई सुनाउनु हुन्न । मनलागे मन्त्रालय आउने काम गर्ने नलागे नआउँने उहाँको बानी रहेछ ।

अधिकारीहरु भन्छन्, ‘जति डा. रोशन पोखरेल मात्रै सचिव हुँदा काम भएको थियो अहिले दुई जना हुदा त्यसको एक तिहाई पनि भएको छैन । दुई जना सचिवमध्ये एक जना हरेक दिन कार्यकक्षमा हुनुपर्ने हो तर, स्वास्थ्यमा दुई सचिव भएपछि झन जनताले समयमा सेवा पाएका छैनन् ।’,

अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को बि.स २०७९ साउन १ देखि मंसिर ९ गतेसम्मको ४८ वटा ओसिएमसीबाट प्राप्त तथ्यांक अनुसार विभिन्न नामको हिंसामा परेका २१ सय नागरिकले सेवा लिएका छन् ।

स्वास्थ्य मन्त्रालय लैङ्गिक समानता तथा सामाजिक समावेशिता शाखाकी नर्सिङ अधिकृत सुना लक्ष्मी कर्मचार्यका अनुसार देशभर ९४ स्वास्थ्य संस्थाबाट उक्त संख्यामा पीडितले सेवा लिएका छन् । वितेको आठ महिनामा खुलेरै २१ सय पीडित सेवाका लागि आउँनु भनेको सामान्य विषय नभएको उनको भनाइ छ ।

तथ्यांक अनुसार १० वर्षभन्दा कम उमेरदेखि ६० वर्षभन्दा माथिकासम्म हिंसामा परेका छन् । अपांगता भएका ४० जना पीडितले सेवा पाएका छन् । तथ्यांक अनुसार मेडिकल लिगल सेवा ८४९ र मनोसामाजिक परामर्श सेवा २०२६ जनाले लिएका छन् । हिंसामा परेका ३४५ जनालाई सेवा सुविधाबाट बन्चित गरिएको छ । परम्परागत हिँसा २० जना, बाल विवाह १५७ जना, यौन दुर्रव्यवहार २९१ जना, बलात्कारजन्य आरोपमा ५८० जना, शारीरिक हिंसामा ८०२ जना परेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ