बाह्र तहमा बढुवाका लागि २१ जना योग्य व्यक्तिहरु, को होला भाग्यमानी !


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खाली १२ तह (अरिरिक्त सचिव)मा बढुवाका लागि २१ जना योग्य देखिएका छन् । गत कार्तिक ३० गते स्वास्थ्य मन्त्रालयले १२ तहम बढुवाका लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर मागिएको उक्त आवेदनमा २१ जनाले योग्यता पुगेको भन्दै आवश्यक कागजपत्रसहित निवेदन दिएका छन् ।

११ तह सम्मको बढुवा योग्यता र क्षमताका आधारमा हुने गरेको छ । तर, १२ तह र सचिवमा भने भाग्यकै खेल अर्थात् राजनीतिक नेतृत्वको आशीर्वाद आवश्यक छ ।

स्वास्थ्य मन्त्रालयमा डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको स्थानमा दरबन्दी रिक्त छ । विगतमा सचिवले वर्षौ बढुवा रोके पनि स्वास्थ्य मन्त्रालयको नेतृत्व डा. रोशन पोखरेलले सम्हालेपछि बढुवामा कुनै कन्जुस्याई गरेका छैनन् । जसले गर्दा स्वास्थ्यको १२ तहमा छिटोछिटो नेतृत्व हस्तान्तरण हुँदै गएको छ ।

स्वास्थ्य लाइभले योग्यता पुगेका व्यक्तिहरुसँग कुरा गर्दा २१ जनाले निवेदन दिएको पाइएको छ । नेपालको आम निर्वाचनले केही ढिला भएपनि अब बढुवा प्रक्रिया बिजुली गतिमा अगाडि बढाउने मन्त्रालयको तयारी रहेको छ ।

निवेदन दिनेहरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव जनार्दन उपाध्याय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराका डा. विनोद विन्दु शर्मा, कान्ति बाल अस्पतालका चिकित्सक डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय दाङका डा. विनोद कुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुकी निर्देशक डा. मनिषा रावल, स्वास्थ्य मन्त्रालयका नारायणप्रसाद ढकाल रहेका छन् ।

त्यस्तै बाह्रौं तहमा बढुवाका लागि आवेदन दिनेमा राप्ती अञ्चल अस्पतालकी प्राध्यापक गोमादेवी निरौला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्ण प्रसाद पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका डा. अमिरबाबु श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, प्रदेश अस्पताल भद्रपुरका डा. टंक प्रसाद बारकोटी, वीर अस्पतालका डा. सरोज शर्मा, स्वास्थ्य मन्त्रालयका डा. संजय कुमार ठाकुर रहेका छन् ।

स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका सुनिलराज शर्मा, राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्रप्रसाद मरासिनी, लुम्बिनी प्रदेशका सचिव डा विकास देवकोटा, बागमती प्रदेशका स्वास्थ्य सचिव बद्री खड्का, भेरी अस्पतालका डा. राजन पाण्डे, भेरी अस्पतालकी प्राध्यापक दुर्गा लक्ष्मी श्रेष्ठ, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी डा. सुधा देवकोटा, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले १२ तहम  बढुवा  लागि योग्य रहेको भन्दै निवेदन दिएका छन् । उनीहरुमध्ये को भाग्यमानी साबित हुन्छन् त्यो केही दिनमा देखिने छ ।

मन्त्रालयका अनुसार दुई जना बढुवाका लागि ५ जनाको नाम पठाइन्छ । तर, यसपटक बालुवाटारले दोब्बर अर्थात् १० जनाको नाम पठाउन दबाव दिएको बुझिएको छ । यसले १२ तहमा बढुवाका लागि निकै ठूलो चलखेल हुने अनुमान लगाउन सकिन्छ । तर, स्वास्थ्य मन्त्रालय भने नियम अनुसार ५ जना मात्रै सिफारिस गर्ने पक्षमा देखिएको छ । मन्त्रालयले दबाव दिने निकायलाई समेत नियमभन्दा बाहिर गएर स्वास्थ्यले सिफारिस नगर्ने बचन दिएको छ ।

यही सरकारको पालामा स्वास्थ्य सेवाको बाह्रौं तहमा दुईजना भाग्यमानी उक्लिने सम्भावना बढेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ