एन्टिबायोटिक्सको कार्य क्षमता शून्यतर्फ : २५ वटा प्रयोगशालाद्वारा ब्याक्टेरिया र तीनको प्रतिजैवी प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलन सुरु


काठमाडौं । गरिब देशहरूमा एन्टिबायोटिक्सले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ । एन्टिबायोटिक्सले काम गर्न छाडेसँगै एन्टिमाइक्रोबियल रेसिस्टेन्ट बढ्न थालेको विज्ञहरूले बताएका छन् । शिक्षण अस्पताल महाराजगञ्जका क्लिनिकल फार्माकोलोजी विभागका सह प्राध्यापक डा. सतिस देवले विस्तारै एन्टिबायोटिक्सको कार्य क्षमता शुन्यमा पुग्दै गएको र उक्त समयमा देशले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आएको बताए ।

नेपालमा भएका विभिन्न अध्ययनहरूका अनुसार चिकित्सकको प्रेस्किप्सन बिना एन्टिबायोटिक बिक्रिदर ५० प्रतिशत पुगेको छ । साथै दुर्गममा एन्टिबायोटिक्सको प्रेस्किप्सन दर ५० दशमलव ४ प्रतिशत रहेको छ । त्यस्तै हेल्थ पोष्टमा ५२ दशमलव २ प्रतिशत रहेको छ । यो अत्यन्तै भयावह अवस्था रहेको त्रिभुवन विश्वविद्यालय सूक्ष्म जीव विज्ञान विभागका पूर्वप्रमुख डा. मेघराज बन्जारा बताउँछन् ।

डा. बन्जारा भन्छन्, ‘स्वास्थ्यकर्मीहरूको जानकारी बिना मनलाग्दी रुपमा एन्टिबायोटिक किनेर खानेहरू ६७ देखि ९७ प्रतिशतसम्म देखिएको छ । फार्मेसीहरूले पनि चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक दिने दर ५० प्रतिशत रहेको छ ।’

एन्टिमाइक्रोबियल रेसिस्टेन्ट बढ्नुमा गरिब देशहरूमा आधाभन्दा बढी औषधि चिकित्सकको सिफारिस बिना बिक्रि गर्नु, पसले आफैले पनि बिना ज्ञान बिक्रि गर्नु र स्वयं व्यक्ति आफै मागेर खाने गर्नुको ठूलो हात रहेको छ ।

एन्टिबायोटिक्सले काम गर्न छाडेपछि देशका २५ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैवि प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलनको कार्य सुरु भएको छ । जनावरमा ७ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैवी प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलन थालिएको छ । २५ ल्याबबाट १० वटा ब्याक्टेरियाको सर्वेक्षण केन्द्रिय प्रयोगशालाले गर्नेछ । पशु प्रयोगशालाले ४ वटा ब्याक्टेरियाको सर्वेक्षण गर्नेछ ।

मानवमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र जनावरमा केन्द्रिय पशुपन्छी प्रयोगशालाले सर्वेक्षण गरिरहेका छन् । यसरी सङ्कलन भएको तथ्याङ्कबाट प्रयोगशालाले एन्टिबायोग्राम बनाउने छन् । कुन ब्याक्टेरियालाई कुन एन्टिबायोटिकले काम गर्छ र कुनले गर्दैन भन्ने छुट्याउने काम प्रयोगशालाले गर्नेछन् । बिरामीको उपचार गर्दाको सबै रिर्पोट र नमुना समेत अस्पतालहरुले प्रयोगशालामा पठाउँनुपर्छ ।

हरेक सुस्त जीवहरूले बाच्नका लागि विभिन्न औषधिहरू वातावरणीय दबाव झेल्नका लागि आफूलाई परिवर्तन गर्दै लगिरहेका हुन्छन् । जब उपचारका क्रममा सुस्त जीवलाई मार्नकालागि एन्टिबायोटिकको प्रयोग गरिन्छ । तर, चाहिदो मात्रामा एन्टिबायोटिक नभएको खण्डमा उक्त जीवले एन्टिबायोटिकसँग लड्ने क्षमताको विकास गर्दै जान्छ ।

चिकित्सकहरू भन्छन्, ‘मानिसले खाएको एन्टिबायोटिकले ब्याक्टेरिया मार्न सक्ने डोज पुगेन भने त्यसले प्रतिरोध क्षमता बढाउदै लैजान्छ । यसरी ब्याक्टेरियाहरू एन्टिबायोटिक प्रतिरोधी बन्ने गर्छन् । एन्टिबायोटिक रेसिटेन्ट गर्न ब्याक्टेरियाले केही न केही कुरामा सम्झौता गर्नुपर्छ । उनिहरूले एका तर्फ कोषमा परिवर्तन गर्छन् भने अर्का तर्फ सम्झौता गरेका हुन्छन् । ब्याक्टेरियाहरुमा जब एन्टिबायोटिकको दबाब हुन छाड्छ विस्तारै प्राकृतिक अवस्थामा फर्कन थाल्छन् ।’

एन्टिबायोटिक्सको विकास भएको धेरै वर्ष भइसकेको छ । सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन ।

सन् २०१५ मा ब्याक्टेरियामा विशेष रणनीति बनाएर काम गरुन् भनेर विश्व स्वास्थ्य सङ्गठनले ग्लोबल एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट भनेर ल्याएको थियो । यसलाई आत्मसाथ गर्दै नेपालले पनि नेशनल एक्सन प्लान अन एन्टिबाइक्रोबियल रेसिस्टेन्ट रणनीति बनाएको हो । तर, त्यो प्लान अहिलेसम्म पास भएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर महाशाखा प्रमुख डा. मदन उपाध्याय यो एक्सन प्लान पास हुने क्रममा रहेको बताउँछन् ।

नेशनल एक्सन प्लान अन एन्टिबाइक्रोबियल रेसिस्टेन्टले पाँच वटा रणनीतिलाई अवलम्बन गरेको छ । मन्त्रालय भन्छ, ‘रणनीति पास नभएपनि काम भने रोकिएको छैन । लुम्बिनी प्रदेशले प्रादेशिक एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट बनाएको छ । तर, त्यो पनि पास भएको छैन ।’

एन्टिमाइक्रोबियल रेसिस्टेन्ट बढ्नुको कारण ?
ब्याक्टेरिया मानवमा मात्र छैन । जनावर, फुड र वातारणमा पनि त्यस्तै छ । उद्योगहरुले निस्किएको फोहोर प्रासोधन नगरी ढलमा मिलाउँदा त्यहा भएका ब्याक्टेरिया पनि रेसिस्टेन्ट हुन्छन् ।

जनावरमा पनि एन्टिबायोटिकको प्रयोग गरिन्छ । विशेषगरी कुखुरामा प्रयोग गरिन्छ । डा. बन्जारा भन्छन् कुखुराको मासु खाँदा एन्टिबायोटिक रिसिस्टेन्ट मानिसमा गईरहेको छ । एकत एन्टिबायोटिक खाने र मानिसको शरिरमा भएको ब्याक्टेरीयाहरू प्रतिरोधी हुने, अर्को एन्टिबायोटिक रेसिस्टेन्ट ब्याक्टेरिया नै खाने । यसले गर्दा नेपालमा एन्टिबायोटिक रेसिस्टेन्ट ब्याक्टेरियाहरु बढीरहेका छन् । यो गरिब देशहरूको मुख्य समस्या हो ।’

डा. दास पनि फार्मेसी पसलमा दर्ता वला फर्मासिस्टहरू नभएको बताउँछन् । प्रमाणपत्र एउटाको राखेर अर्कैले औषधिको बिक्रिवितरण गरिरहेका घटनाहरू पनि थुप्रै बाहिर आएका हुन् उनले भने, ‘यस्ता गतिविधिले समेत एन्टिबायोटिक रेसिस्टेन्ट बडिरहेको छ । यसलाई रोक्नुको विकल्प छैन ।’

चिकित्सकको अनुपात
डा.बन्जराका अनुसार हाल प्रति एक हजार जनतामा १ जना चिकित्सक समेत नेपालमा छैनन् । सेवामा उपलब्ध चिकित्सकको अनुपातमा नेपालमा शुन्य दशमलव १७ चिकित्सक छन् । विश्व स्वास्थ्य सङ्गठनले एक हजार जनसङ्ख्यामा २ दशमलव ३ चिकित्सक हुनुपर्ने बताउँछ । दुर्गममा तालिम प्राप्त स्वास्थ्य जनशक्तिको अभाव छ । पारामेडिक्स, हेल्थ असिस्टेन्टले सेवा दिएका छन् । उनीहरूले सेवा दिनु ठूलो कुरा हो तर, उनीहरूको हातमा राज्यले निर्देशिका पुर्याउने काम गर्नुपर्छ । उनीहरूले दिएको सेवालाई नजरअन्दाज गर्नेभन्दा पनि सहयोग गरेर जानु पर्छ ।

अध्ययन के भन्छ ?
डा. बन्जरा भन्छन्, ‘दुर्गममा एन्टिबायोटिक प्रेस्किप्सन दर ५० दशमलव ४ प्रतिशत रहेको छ । हेल्थ पोष्टमा ५२ दशमलव २ प्रतिशत रहेको छ ।’

विश्व स्वास्थ्य सङ्गठनले एन्टिबायोटिक प्रयोग तीन चरणमा विभाजन गरेको छ । पहिलो पटक औषधि किन्दा एक्सेस ग्रुपको प्रयोग गर्ने । त्यसले काम नगरेको खण्डमा वाच ग्रुपको दिने र अन्तिममा कुनैले काम नगरेको खण्डमा रिजर्भ ग्रुपको एन्टिबायोटिक दिने भनेर तीन तहमा विभाजन गरेको छ । तर, नेपालमा वाच ग्रुपमा राख्नुपर्नेमा सुरुमै दोस्रो समूहको एन्टिबायोटिक औषधि बढी प्रयोग भइरहेको छ ।

डा. बन्जारा भन्छन्, ‘स्वास्थ्यकर्मीहरूमा ज्ञानको कमी भएको छ । उनीहरूलाई एन्टिबायोटिक चलाउँदा पहिला कुन चलाउने कस्तो अवस्थामा दोस्रो चलाउने र तेस्रो कस्तो अवस्थामा चलाउने भन्ने जानकारी गराउनु पर्छ ।’

अहिले तीन वा तीनभन्दा बढी एन्टिबायोटिकले काम नगर्ने, धेरै जसो एन्टिबायोटिकले काम नगर्ने र कुनै पनि एन्टिबायोटिकले काम नगर्ने अवस्था आएको छ । एन्टिबायोटिक रेसिस्टेन्टको कारणले कति मानिसहरुको मृत्यु हुन्छ भन्ने कुनै तथ्याङ्क छैन । तर, विश्व स्वास्थ्य सङ्गठनले गरेको अनुमान अनुसार विश्वमा प्रतिवर्ष ७ लाख मानिसको एन्टिबायोटिक रेसिस्टेन्ट ब्याक्टेरियाका कारणले मृत्यु हुन्छ भन्ने छ । नेपालमा कति मर्छन् र कति बिरामी हुन्छन् भन्ने कुनै तथ्याङ्क छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #एन्टिबायोटिक्स, #डा सतिस देव, #डा. मेघराज बन्जारा, #विश्व स्वास्थ्य सङ्गठन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ