चिकित्सक संघको अध्यक्षमा पौडेल र कार्की बीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल चिकित्सक संघका आगामी निर्बाचनका लागि डा अनिल विक्रम कार्की र डा सन्तोष पौडेल बीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांंग्रेस समर्थित चिकित्सकहरुले आइतबार अध्यक्षको टुंगो लगाए सँगै कार्की र पौडेल बीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
नेपाल चिकित्सक संघको निर्वाचनमा नेपाली कांंग्रेस समर्थित चिकित्सकहरुले डा अनिल विक्रम कार्कीलाई अध्यक्ष पदमा उम्मेद्धार बनाउने निर्णय गरेका छन् । प्रजातान्त्रिक समूहको आईतबार बसेको बैठकले डा कार्कीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । डा कार्कीले डा भुपेन्द्र कुमार बस्नेत मध्ये कसले टिकट पाउने भन्ने चर्चा चलेको थियो । वर्तमान महासचिव डा बद्रि रिजालले पनि अध्यक्षमा दाबी गरेका थिए ।
प्रजातान्त्रिक समूहको महासचिवमा डा सञ्जीव तिवारी कोषाध्यक्षमा डा प्रमोद जोशीलाई उठाउने भएको छ । अन्य पदमा कुनै निर्णय भएको छैन । डा बस्नेतलाई भने यस पटक पनि अन्तिममा कांंग्रेस समर्थित चिकित्सकहरुले धोका दिएका छन् । यस पटक अध्यक्ष बनाउने सर्तमा अघिल्लो पटक डा लोचन कार्कीलाई छाडेका थिए ।
आगामी माघको दोस्रो साता सुरु हुने निर्वाचनका लागि उम्मेद्धार दिने अन्तिम दिन ४ पुस सम्म तोकिएको छ । यता एमाले निकट चिकित्सकहरुको संगठनबाट अध्यक्षमा डा सन्तोष पौडेल र महासचिवमा डा रक्षा श्रेष्ठलाई उठाउने निर्णय भएको छ । बाँकी पदमा कसलाई उम्मेद्धार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस