एनएमए र सज्जन श्याम ट्रस्टबीच आर्थिक सहयोगमा सम्झौता


काठमाडौं ।  नेपाल चिकित्सक संघ (एनएमए) र सज्जन श्याम ट्रस्टबीच आर्थिक सहयोग गर्ने विषयमा सम्झौता भएको छ । संघको केन्द्रीय कार्यालय बागबजारमा शनिबार संघका अध्यक्ष डा लोचन कार्की र ट्रस्टका संयोजक डा श्याम प्रसाद भट्टराईबीच सम्झौता भएको हो ।

ट्रस्टले पाँचवटा विषयमा आर्थिक सहयोग उपलब्ध गराउने छ । स्वास्थ्य शिक्षाका क्षेत्रमा र अनुसन्धानका क्षेत्रमा सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता पत्र अनुसार ट्रस्टले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहमा समर्पित नेपाल चिकित्सक संघका आजिवन सदस्यहरुलाई चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका सम्बन्धमा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा सहयोग पुर्यासउनका लागि खोज तथा अनुसन्धान मुलक अनुदान उपलब्ध गराउने छ । प्रत्येक वर्ष २ लाख रुपैयाँ दिनेछ ।

नेपाल चिकित्सक संघको जर्नलमा उत्कृष्ट लेख तथा रचना प्रकाशन गर्न सफल एक जना लेखकलाई ’वेष्ट मेडिकल रिसर्च आर्टिकल अवार्ड’ प्रदान गर्ने छ । उक्त अवार्ड अखिल नेपाल चिकित्सक सम्मेलनको समयमा उपलब्ध गराइने सम्झौता उल्लेख छ । उक्त अवर्डसँगै २५ हजार रुपैयाँ समेत प्रदान गरिने सम्झौता भएको छ ।

यसैगरी, चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरी उत्कृष्ट १० मध्ये आर्थिक रुपमा कमजोर भएका एक जना विद्यार्थीलाई वार्षिक रुपमा आर्थिक सहयोग उपलब्ध गराउन चिकित्सक संघका डाक्टर श्यामप्रसाद भट्टराईको नाममा अक्षय कोष स्थापना गर्ने र सो कोषबाट प्रत्येक वर्ष एक लाख सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ