डा. चौधरीलाई डीआईजी बनाउने योजना तुहियो, आज ३ चिकित्सक घर जाँदै


काठमाडौं । नेपाल प्रहरी अस्पतालका प्राविधिक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. पंकज कुमार चौधरी(देव)लाई प्रहरी नायव महानिरिक्षक (डीआईजी)मा बढुवा गर्ने योजना तुहिएको छ । नेपाल प्रहरी अस्पतालमा एक प्राविधिक डीआईजीको दरबन्दी थपेर डा. चौधरीलाई बढुवा गर्ने योजना सरकार परिवर्तन भएसँगै तुहिएको हो ।

एसएसपीको ६ वर्षे सेवा अवधिका कारण पौष १३ गतेदेखि घर जान लागेका डा. चौधरीलाई कांग्रेस नेता विमलेन्द्र निधिको जोडबलमा डीआईजीमा बढुवा गर्न चलखेल भएको थियो । ५ जना प्राविधिक डीआईजीको दरबन्दी रहेको नेपाल प्रहरी अस्पतालमा १ दरबन्दी थपेर ६ बनाउन अर्थमा फाइल पठाइसकेको खुलेको छ । तर सरकार परिवर्तन भएसँगै डा. चौधरीको डीआईजी बन्ने योजना खुस्किएको हो ।

डा. चौधरीलाई डीआईजी बनाउने गरी दरबन्दी थप गर्न अर्थ सचिव कृष्णहरि पुष्कर पनि सकारात्मक रहेको अर्थ मन्त्रालय स्रोतले स्वास्थ्य लाइभलाई बतायो । कांग्रेस नेता निधिको दबावमा ३ नम्बरमा रहेका डा. चौधरीलाई डीआईजी बनाउने गरी दरबन्दी थप्ने प्रयास भएको खुलेको हो । यो दरबन्दी थप्ने प्रयास र प्रस्ताव नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रोक्छन् कि अगाडि बढाउँछन् हेर्न बाँकी छ ।

२०७३ सालमा कांग्रेस नेता निधि गृहमन्त्री भएको बेला धेरै सिनियरलाई पछि पार्दै एसएसपी बनेका डा. चौधरी अहिले आफूभन्दा सिनियर एसएसपीद्वय जितेन्द्र श्रेष्ठ र प्रमोदराज जोशीलाई उछिनेर डीआईजीमा फड्को मार्न लागेका थिए । यसका लागि नेता निधिमार्फत उनले सबै चाँजोपाँजो मिलाएको पाइन्छ । सिनियरलाई पाखा लगाएर डीआईजी दरबन्दी थपेर बढुवा खाने डा. चौधरीको सपनामाथि तुसारापात हुन पुगेको छ ।

एसएसपी भएर पनि पिएचडी गर्न रसिया गएका उनी फर्केको एक वर्ष मात्र भएको छ । अब भने डा. चौधरी डा. श्रेष्ठ र जोशीसँगै घर जाने पक्कापक्की भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ