शुक्रराजको सपना साकार हुँदै, बन्ने भयो ३०० शैय्याको अस्पताल


काठमाडौं । शहिद शुक्रराजको सपना साकार हुने भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ३०० शैय्याको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । शहरी विकास तथा भवन निर्माण विभागले गत बिहिवार टेण्डर आह्वान गरेको थियो ।

विभागले आगामी तीन महिनापछि भवन निर्माणको काम सुरु हुने गरी प्रक्रिया अघि बढेको छ । टेण्डर आह्वान, मूल्यांकन लगायतको काम सकेर निर्माण सुरु गर्न करिब तीन महिना लाग्ने अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । ‘भवनको डिजाइन सबै तयार भइसक्यो उनले भने, टेण्डर आह्वान पनि भयो । टेण्डरको प्रक्रिया, मूल्याकंन सकेर नयाँ भवन निर्माणको प्रक्रियामा जान तीन महिनाजति लाग्ला ।’

करिब ३ अर्बको लागतमा नयाँ भवन निर्माण हुन लागेको हो । उक्त भवन साढे तीन वर्षमा निर्माण कार्य सक्ने अस्पतालको योजना छ । देशको एक मात्रै सरुवा रोग अस्पतालका ‘गतिगरास’ छैन ।

सुचना अधिकारी गौतमले बताए अनुसार हाल भएका पुराना भवनहरु बिरामीको उपचारलाई ध्यानमा राख्दै पालै पालो भत्काइनेछ । सुरुमा अस्पतालको ओपिडी छेउको क्वाटर भवन, टिकट काउन्टरको पहेलो भवन र एआरटी सेन्टरको भवन भत्काइने गौतमले जानकारी दिए ।

तीन सय शय्याको उक्त भवन ६ तल्लाको डिजाइन गरिएको छ । सबैभन्दा तल बेसमेन्ट पार्किङ्ग, ग्राउण्ड फ्लोरमा इमरजेन्सी, ओपिडी, रेडियोलोजी विभाग रहनेछन् । पहिलो तल्लामा प्रयोगशाला, ओपिडी, फिभर वार्ड रहनेछ ।

त्यस्तै दोस्रो तल्लामा प्रयोगशाला विशेष, जेनरल वार्ड, इमरजिङ्ग आइसोलेसन वार्ड, तेस्रो तल्लामा पोषण, प्रत्यारोपण, हेमाटोलोजी, नवजीवन वार्ड लगायत, चौथोमा टिबी, रेबिज÷टिटानस, छालारोग विभाग, पाँचौ तल्लामा आइसीयू, शल्यक्रिया र सेमिनार हल रहनेछ भने छैठौँ तल्लामा लन्ड्री रहनेछ ।

माफियाहरुले अस्पताल सार्न देशका विभिन्न स्थानमा जग्गा हेरेका थिए । तर, शुक्रराज अस्पतालको आफ्नै जमिन ७२ रोपनी फेला परेको र १६ दशमलब ५ रोपनीमात्र प्रयोग गरिरहेको पाएपछि बाँकी जमिनमा नयाँ भवन बनाउँन लागेको गौतमले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ