नियमावलीमै नभएको पदका लागि प्रदेश लोकसेवा आयोग, गण्डकीको विज्ञापन


काठमाडौं । प्रदेश लोकसेवा आयोग, गण्डकीले नियमावलीमै नभएको पदका लागि विज्ञापन खुलाएको छ ।

आयोगले ११ औं तहका सि.नं.५ र ६ तथा नवौं तहका सि.नं.१९ मा निर्देशक भनी विज्ञापन गरेको छ । जुन नेपाल स्वास्थ्य सेवा नियमावली विपरित हो । नियमावलीमा यी पदका लागि शैक्षिक योग्यताको पनि व्यवस्था नै नरहेको पनि पाइएको छ ।

अनुसूची–६ मा निर्देशक पदको लागि शैक्षिक योग्यताको व्यवस्था नभएको र एउटा उप–समूहको योग्यताबाट अर्को उप–समूहको विज्ञापनमा उम्मेदवार हुन नसक्ने व्यवस्था रहेकोमा दुईवटा समूह (मे.ल्या.टे. र प्याथोलोजी) दुबैलाई नै मिश्रित गरी एउटै पदको लागि भएको विज्ञापन नियमावली विपरित रहेको देखिएको छ ।

आयोगको मिति २०७९/०५/०८ मा प्रकाशित सूचना नं.६३/२०७९/८० को सि.नं.६ मा पद–निर्देशक (११ औं तह) को सेवा–स्वास्थ्य र समूह–(मे.ल्या.टे./प्याथोलोजी) गरी विज्ञापन गरिएको छ । जबकी नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची–६ मा उल्लेख भए बमोजिम हुनुपर्ने भनिएको छ । तर, सो अनुसूची–६ मा मे.ल्या.टे. छुट्टै समूह र प्याथोलोजी छुट्टै समूह रहेको र दुबै समूहमा क्रमशः दुई (२) वटा र पाँच (५) वटा गरी जम्मा सात (७) वटा उप–समूहको लागि छुट्टाछुट्टै शैक्षिक योग्यता तोकिएको छ ।


आयोगको त्रुटिपूर्ण विज्ञापनलाई सच्चाई आवश्यकता अनुसार दुबै समूहका विज्ञको परिमर्शमा निर्णय गर्नु गराउनु भनेर २०७९/०६/०५ को मितिमा मेडिकल ल्यावोरेटरी एसोसिएशन अफ नेपाल (मेलान) ले प्रदेश लोकसेवा आयोग, गण्डकीको ध्यानाकर्षण गराएको थियो ।

यस विषयमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकीले पनि लोकसेवा आयोग काठमाडौं, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं लगायत सम्बन्धित निकायलाई २०७९/०८/२१ र २०७९/०८/२७ को फरकफरक मितिमा ध्यानाकर्षण समेत गराएको छ । तर, हालसम्म पनि यस विषयमा कुनै निकायबाट चासो दिइएको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ