शुक्रराज अस्पतालसहित यी हुन् लेखापाल जान मरिहत्ते गर्ने अड्डा
काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले हालै गरेको लेखापालको सरुवा आर्थिक चलखेल भएको आरोप लागेको छ ।
महालेखा नियन्त्रकको कार्यालय (मलेनिका)ले २ सय बढी लेखापालको एकैपटक सरुवा भएपछि आर्थिक चलखेलको आरोप लागेको हो । लेखापालको उक्त सरुवामा मलेनिकाका उपसचिव ईन्द्र गौतम हाबी भएको मलेनिकाकै उच्च अधिकारीहरुको दाबी छ ।
खानेपानी भक्तपुर र सडकमा जान लेखापालहरु लाखौं फ्याल्न तयार हुने मलेनिकाका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए । त्यहीं सूचीमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पनि रहेको बताइन्छ । ठाउँ नै मालदार अड्डा भएकाले सरुवा भएर जानेलाई दुई/पाँच लाख रुपैयाँ बुझाउन समस्या नभएको ती अधिकारीको भनाइ छ ।
लेखापालका लागि सबैभन्दा मालदार अड्डा मानिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भक्तपुरमा पवन कुमार महतोलाई पठाइएको छ । यो ठाउँमा जान लेखापालको हानथाप चल्ने गरेको महालेखा नियन्त्रकको कार्यालयका अधिकारीहरू सुनाउँछन् । १५/२० लाख अतिरिक्त आम्दानी हुने उक्त ठाउँमा ४/५ लाख खर्च गरेर जानुलाई ती अधिकारी स्वभाविक रुपमा लिने गर्छन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भक्तपुरपछि लेखापालका लागि दोस्रो मालदार अड्डाका रुपमा परिचित सडक डिभिजन, भक्तपुरमा रामशरण त्रिपाठी लाई पदस्थापन गरिएको छ । लेखापाल हुनेवित्तिकै यस्तो मालदार अड्डामा पदस्थापन हुनुले उनी हरेक हिसाबले शक्तिशाली रहेको टिप्पणी हुन थालेको छ ।
मलेनिका स्रोतका अनुसार खानेपानी र सडकपछि लेखापालका लागि मालदार अड्डा भनेको सस्पेन्सन वृज हो । यसमा भने अहिले नयाँ लेखापाल पठाइएको छैन ।
पुरातत्त्व विभाग लेखापालका लागि अर्को मालदार अड्डा हो । उक्त ठाउँमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा निकट लेखापाल रहेकाले यो सरुवामा चलाइएको छैन ।
पुरातत्त्वपछिको लेखापालका लागि आकर्षक अड्डा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल हो । उक्त ठाउँमा पनि समय अवधि बाँकी नै रहेकाले त्यहाँ कार्यरत लेखापालको सरुवा भएको हो ।
लेखापालका लागि आकर्षक अड्डा परराष्ट्र मन्त्रालय पनि हो । विदेशस्थित नियोगमा जान पाउने भएकाले लेखापालहरु परराष्ट्रमा जान मरिहत्ते गर्छन् । मलेनिकाले लेखापालहरूमाया घिमिरे, मोहनलाल थापा, प्रमिला खनाललगायतको सरुवा भएको छ ।
आयोजना निर्देशनालय (एडीबी), काठमाडौंमा लेखापाल सुनिल न्यौपानेलाई पठाइएको छ । यो ठाउँ लेखापालका लागि निकै मालदार अड्डाका रुपमा परिचित छ ।
भवन डिभिजनहरू पनि लेखापालका लागि मालदार अड्डाका रुपमा रहेको छ । पर्यटन विभाग पनि लेखापालका लागि मालदार अड्डाका रुपमा रहेको पाइन्छ । पर्यटन विभागमा लेखापाल लक्ष्मण ज्ञवालीले बाजी मारेका छन् ।
लेखापालका लागि टप टेन आर्कषक अड्डाका रुपमा रहेको सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना, ललितपुरमा सन्तोष न्यौपाने गएका छन् । यी अड्डा नपाएपछि लेखापालहरू प्राथमिकताका आधारमा सडक डिभिजन कार्यालयमा जान तछाडमछाड गर्ने गरेका छन् । यी मालदार अड्डामा बसेर राज गर्ने लेखापालहरुको सम्पत्ति छानबिनको माग समेत उठ्दै आएको छ ।
यी हुन् लेखापालका लागि मालदार १० अड्डा
१, खानेपानी डिभिजन, भक्तपुर
२, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुर
३, सस्पेन्सन वृज
४, पुरातत्त्व विभाग
५, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
६, परराष्ट्र मन्त्रालय
७, आयोजना निर्देशनालय (एडीबी), काठमाडौं
८, भवन डिभिजनहरु
९, पर्यटन विभाग
१०, सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना, ललितपुर
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस