स्वास्थ्यमन्त्रीको चर्चामा रहेका सुदन किराँती मन्त्री बन्ने पक्का


काठमाडौं । स्वास्थ्यमन्त्रीको चर्चामा रहेका सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री कै रुपमा नियुक्त हुने सम्भावना बढेर गएको नेकपा माओवादी केन्द्र उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

भोजपुरबाट तीनपटक निर्वाचित किराँती अहिले प्रदेश नम्बर एकका पूर्व मुख्यमन्त्री शेरधन राईलाई हराएर आएका हुन् । २६ वर्षको उमेरमा पहिलो संविधानसभा निर्वाचित सांसद किराँतीलाई यसपटक प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउने आश्वासन दिइसकेका छन् ।

प्रचण्डले भोजपुरको चुनावी सभामा नेपाली कांग्रेस सहितको गठबन्धनबाट उम्मेदवार बनेका किराँतीलाई जिताएर पठाए मन्त्री बनाउने उद्‌घोष गरेका थिए । त्यो वचन पूरा हुने विश्वास प्रचण्डले दिलाएका हुन् । माधव सापकोटा र अमनलाल मोदीलाई पछि पार्दै किराँतीले मन्त्रीमा बाजी मार्ने निश्चित भएको बालुवाटार स्रोतले बतायो ।

एमाले महासचिव शंकर पोखरेललाई हराएर दाङबाट निर्वाचित सांसद रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाएर सुदनलाई स्वास्थ्यमा पठाउने तयारी भइरहेको बालुवाटार स्रोतको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालयमा दाबी गरेपनि काठमाडौं क्षेत्र नम्बर ६ को चुनावी सभामा अध्यक्ष एवं उप्रधानमन्त्री एवं गृहमन्त्री शिशिर खनाललाई जिताएर पठाए शिक्षामन्त्री बनाउने उद्‌घोष गरेका थिए । उक्त वचन पूरा गर्न स्वतन्त्र पार्टीले शिक्षा मन्त्रालय लिने सम्भावना बढेको छ । माओवादीले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रालय लिइसकेकाले यसपटक स्वास्थ्य लिने सम्भावना बढेको हो । यस्तो अवस्थामा सुदन स्वास्थ्यमन्त्री बन्ने बताइन्छ ।

आज बस्ने गठबन्धनको बैठकमा मन्त्रालयको भागबन्डा मिले सोमबारभित्रमा मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ