एन्टिबायोटिक्सको जथाभावी प्रयोगले मानव शरीरमा काम गर्नै छाड्यो, बर्सेनि लाखौंको मृत्यु
![](https://www.swasthyalive.com/wp-content/uploads/2023/01/8484790996antibiotic20resistance.jpg)
प्रसङ्ग १
यसै वर्षको गर्मी मौसमको घटना हो, एकजना ३२ वर्षीया महिलालाई पिसाब पोल्ने, ज्वरो आउने समस्याले तीन चार दिनदेखि सताइरहेको थियो । उनलाई पहिले पनि यस्तो समस्या बेलाबेलामा देखिन्थ्यो । पहिले पहिले यस्तो समस्या देखिँदा उनले स्वास्थ्य जाँचबिनै मेडिकलबाट औषधि किनेर खाने गरेकी थिइन । उनले त्यो बेला तीन दिन जति औषधि खाएर छोडेकी थिइन । यसपटक पनि त्यहि पसलबाट औषधि ल्याएर खाइन् तर, ज्वरो निको भएन । ज्वरो बल्झिदै गएर पेट दुख्ने, काप्ने, जाडो हुने लगायतको समस्या देखिन थाल्यो । एक साता अस्पताल भर्ना भएर सुईमाफर्त् औषधि चलाएपछि बल्ल उनलाई सन्चो भयो ।
प्रसङ्ग २
१० वर्षीय एक बालकलाई ज्वरो आउने, काप्ने, खाना खान मन नगर्ने समस्या देखिएपछि उनको बाबुआमाले नजिकैको मेडिकलबाट केही एन्टिबायोटिक र ज्वरो कम गर्ने औषधि लगेर खुवाए । तर, ज्वरो निको भएन । झनै बल्झिदै गयो । सन्चो नभएपछि उनलाई पनि अस्पताल भर्ना गरेर नशाबाट औषधि चलाएपछि बल्ल ठिक भयो ।
माथि उल्लेख गरिएका प्रसङ्ग कुनै काल्पनिक नभएर हिजोआज अस्पतालमा प्रायः देखिने घटना हुन् । सामान्यदेखि सिकिस्त बिमारी भएमा पनि अस्पताल जानुभन्दा सुरुमा मेडिकलबाट सिधै औषधि किनेर प्रयोग गर्ने बानी आम सर्वसाधारणमा बढ्दो छ । मेडिकल र फार्मेसीबाट बिना जाँच जथाभावी प्रयोग गरिने एन्टिबायोटिकले हाम्रो स्वास्थ्य समस्यालाई विकराल अवस्थातर्फ लगिरहेको छ ।
एन्टिबायोटिक्सको अनावश्यक र बढ्दो प्रयोगले हिजोआज यसले मानव शरीरमा काम गर्न छोडिसकेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एन्टिबायोटिक्सको जथाभावी प्रयोगले बर्सेनि १५ लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको छ । कारण, चिकित्सकको सल्लाह बिनै पाइने र बिक्रिवितरण भइरहेको एन्टिबायोटिक्सको प्रयोग जोकोहीले सहज रुपमा आफू खुसी गर्नु हाे ।
एन्टिबायोटिक्स के हो ? यसको प्रयोग कुन बेला गर्ने ? यसको अत्यधिक वा अनावश्यक प्रयोगले हाम्रो शरीरमा कस्तो असर गर्छ भन्ने बारेमा जानकारी नभएका वा हेलचेक्राई गर्ने कारण पनि एन्टिबायोटिक रेसिस्टेन्स को अवस्था प्रभाव बढ्न थालेको हाे ।
एन्टिबायोटिक्स के हो ?
ब्रिटिश चिकस्ता वैज्ञानिक निक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मा पहिलो पल्ट पेनिसिलिन नामको एन्टिबायोटिक्स पत्ता लगाए पछि धेरै प्रकारको रोगहरूको उपचारमा प्रयोग हुने धेरै किसिमको एन्टिबायोटिक्सहरुको निर्माण भई उपचार कार्यमा प्रयोग हुँदै आएको छ ।
रेग्मीका अनुसार ब्याक्टेरिया (जिवाणु) जन्य सङ्क्रमणहरू तथा त्यसको असरलाई निराकरण गर्न एन्टिबायोटिक प्रयोग गर्ने गरिन्छ । ब्याक्टेरियाहरूले निकाल्ने टक्सिनको प्रतिरोधको लागि प्रयोग गर्ने भएकोले यसलाई प्रतिरोधात्मक औषधि अथवा प्रतिजिवाणु औषधि भनेर बुझ्न पनि सकिन्छ ।
सामान्य अर्थमा बुझ्दा, एन्टीबायोटिक्स भनेको यस्तो रसायनिक तत्व हो, जसले शरीरमा रहेका ब्याक्टरियाहरूलाई मार्न सक्ने क्षमता राख्छ । ब्याक्टेरियामा भएको कोषिकाहरूमा भएको निश्चित तत्त्वहरूलाई लक्षित गरेर मार्न सक्ने क्षमता भएको औषधिलाई नै एन्टीबायोटिक्स भन्ने गरिन्छ वा शरीरमा पैदा हुने विभिन्न ब्याक्टेरियामध्ये कुनै निश्चित ब्याक्टेरिया नष्ट गर्ने क्षमता भएको औषधि एन्टिबायोटिक्स हो ।
के हो एन्टिबायोटिक रेसिस्टेन्स ?
ब्याक्टेरियाहरूको सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । एन्टिबायोटिक प्रयोग गर्दा पनि ब्याक्टेरियामा आएको परिवर्तन वा एन्टिबायोटिक पचाउन सक्ने क्षमताको कारणले एन्टिबायोटिकको असर नदेखिए त्यस्तो अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स (एन्टिबायोटिक प्रतिरोध) भनिन्छ ।
रेसिस्टेन्ट ब्याक्टेरियाले सङ्क्रमण गरेमा सामान्य अवस्थाभन्दा कडा एन्टिबायोटिक आवश्यक पर्ने, लामो समय अस्पताल बस्नु पर्ने र मृत्युदर पनि बढ्ने हुन्छ । एन्टिबायोटिक रेसिस्टेन्स विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रुपमा देखा परेको छ । क्षयरोग, निमोनिया, टाइफाइड लगायतका सङ्क्रमणहरुलाई एन्टिबायोटिक रेसिस्टेन्सको कारण उपचार गर्न कठिन हुँदै गइरहेको छ ।
यसकारण बढ्दैछ एन्टिबायोटिक रेसिस्टेन्स :
लामो समयको अन्तरालमा ब्याक्टेरिया एन्टिबायोटिकबाट बाँच्न स्वत रुपमा आफै रुप परिवर्तन गर्ने गर्दछ । एन्टिबायोटिकको अनुचित प्रयोगले यो प्रक्रियालाई थप सहयोग गर्छ र रेसिस्टेन्सको विकास चाँडो हुने गर्छ ।
एन्टिबायोटिकको प्रयोगमा निम्न तीन कुरामा ध्यान नपुर्याउँदा रेसिस्टेन्स चाँडो बढ्छ :—
१) एन्टिबायोटिक प्रयोग गर्नु नपर्ने रोगहरूमा पनि त्यसको प्रयोग गरिएमा ।
२) एन्टिबायोटिकको पुरै कोर्स प्रयोग नगरेमा ।
३) रोग र ब्याक्टेरिया अनुसार उपयुक्त एन्टिबायोटिक प्रयोग नगरेमा ।
हाम्रो जस्तै अविकसित देशहरूका मानिसमा स्वस्थ सम्बन्धी शिक्षा तथा जनचेतनाको कमी र स्वास्थ्य संस्थामा सबै नागरिकहरूको पहुँच पुगेको छैन । त्यसको कारणले मानिसहरुले जहासुकैबाट जथाभावी रुपमा एन्टिबायोटिक किनेर प्रयोग गर्दा रेसिस्टेन्सको क्रम बढ्दो छ ।
ब्याक्टेरियासँगको लडाइँमा प्रयोग गरिने रामवाण भनेकै एन्टिबायोटिक नै हो । ब्याक्टेरियाले आफूलाई परिवर्तन गरेर हाल प्रयोग गरिने एन्टिबायोटिकहरुलाई प्रतिरोध गर्न बाँच्न सफल भयो र नयाँ एन्टिबायोटिकको पनि आविश्कार भएन भने त्यसले विश्व स्वास्थ्य जगतमा ठूलो दुर्घटना निम्त्याउने निश्चित छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स) का कारणहरू :
– चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक सिफारिस (प्रिस्क्राइव) गर्नु ।
– बिरामीले उपचार बीचैमा छाड्नु ।
– पशुपन्क्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु ।
– सरसफाइ तथा स्वच्छताको अभाव हुनु ।
– नयाँ एन्टिबायोटिक उत्पादन नहुनु ।
– स्वास्थ्यकर्मीले आर्थिक प्रलोभनमा परेर आवश्यकताभन्दा बढी औषधि सिफारिस गर्नु ।
– एन्टिबायोटिक उपचार निर्देशिका नहुनु ।
– एन्टिबायोटिकको प्रयोगबारे सरकारी निकायबाट अध्ययन÷अनुसन्धान नहुनु ।
– नेपालमा एन्टिबायोटिकले निम्त्याएको समस्या कुन रुपमा बढिरहेको छ भन्ने तथ्याङ्क नहुनु ।
एन्टीबायोटिकको प्रयोग गर्दा के के कुरामा ध्यान दिने ?
विशेषगरी के हो भने, हामीलाई लागेको रोग भाइरस (विषाणु) ले लागेको रोग हो की ब्याक्टेरिया वा अन्य कारणले (प्रोटोजोवा, हेल्मिन्थिस, माइक्र्ब्स, फंगल्स, नसर्ने अन्य कारणहरु आदि)लाग्ने रोग हो भनेर पहिले पत्ता लगाउनु पर्छ । भाइरसबाट लागेको रोगका लागि हामीलाई एन्टीबायोटिक लिइराख्नु पर्दैन । जस्तो : कोभिडको कुरा भयो, भाइरल ज्वरोहरू, सामान्य रुघाखोकी भयो त्यसमा हामीले एन्टीबायोटिकको प्रयोग गर्नुपर्दैन । तर, कहिलेकाहीँ हामीलाई ब्याक्टेरियाजन्य संक्रमणको कारणले रोगहरु लाग्ने लाग्छ । जस्तोकी टाइफाइड भयो, छातीको सङ्क्रमण लगायत अन्य भएको खण्डमा हामीले एन्टीबायोटिकको प्रयोग गर्नुपर्ने हुन्छ ।
यसको लागि सबैभन्दा पहिले त हामीले रोग केले लागेको हो भनेर नै पत्ता लगाउनुपर्छ । ब्याक्टेरियाले लागेको रोग हो वा भाइरसले लागेको रोग हो वा अन्य कारणले लागेको रोग हो भन्ने कुरामा ध्यान दिनुपर्छ ।
– आधिकारिक स्वास्थ्यकर्मीको ‘प्रेस्क्रिप्सनमा मात्र एन्टिबायोटिकको प्रयोग गर्ने, स्वास्थ्यकर्मीसँग अनावश्यक एन्टिबायोटिक माग नगर्ने । अथार्त फार्मेसी पसलहरुबाट आधिकारिक स्वास्थ्यकर्मी (एन्टिबायोटिकको सिफारिस गर्न पाउने आधिकारिक व्यक्ति) को सल्लाह नलिई एन्टिबायोटिक जथाभावी किनेर प्रयोग नगर्ने
– नियमित हात धुने, स्वस्थकर खानेकुरा खाने, अनावश्यक रुपमा बिरामीको सम्पर्कमा नजाने र खोप नियमित लगाउने ।
स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने कुरा :
– सावधानीपूर्वक हात, उपकरण तथा वातावरण सफा राख्ने ।
– आवश्यक बिरामीलाई मात्र एन्टिबायोटिक ‘प्रिस्क्राइव’ तथा वितरण गर्ने ।
– बिरामीलाई एन्टिबायोटिक सही तरिकाले प्रयोग गर्न सिकाउने तथा एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स) को बारेमा बताउने ।
– जिवाणु प्रतिरोधी सङ्क्रमणको बारेमा निगरानी गर्ने टिमलाई जानकारी गराउने ।
– बिरामीलाई सङ्क्रमण रोकथामको उपायहरु बताउने ।
समाधान के त ?
एन्टिबायोटिक रेसिस्टेन्सबाट बँच्ने सबैभन्दा राम्रो उपाय भनेको एन्टिबायोटिकको उचित प्रयोग नै हो । यसका निम्ती स्वास्थ्यकर्मी, बिरामी, सर्वसाधारण, सरकारी निकाय सबैले आफ्नो ठाउँबाट सक्ने पहल र सहयोग गर्नुपर्छ।
– चिकित्सक वा कुनै दर्तावाल स्वास्थ्यकर्मीको ‘प्रेसक्रिप्सन’ बिना एन्टिबायोटिकको प्रयोगमा रोक लगाउने । त्यसको निम्ति मेडिकल, फार्मेसीबाट खुलेआम कुनै जाँच नगरि एन्टिबायोटिक बेच्न नपाउने नियम बनाउने र कडाइका साथ लागू गर्ने ।
– चिकित्सक र स्वास्थ्यकर्मीले पनि उपयुक्त एन्टिबायोटिकको प्रयोग गर्ने र बिरामीलाई खाने तरीका र त्यसको पूरा कोर्स बारे राम्रोसँग जानकारी गराउने ।
– बिरामी र अस्पतालहरूमा रहेका ब्याक्टेरियाको रेसिस्टेन्सको अवस्था अध्ययन गर्ने, यस सम्बन्धी रिसर्चलाई प्रोत्साहन गर्ने ।
स्थानीयस्तरमा देखिएको एन्टिबायोटिक रेसिस्टेन्स र औषधिहरूको प्रयोग र उपलब्धता सम्बन्धी राष्ट्रिय गाइडलाइन वा निर्देशिका बनाउने । सम्पुर्ण चिकित्सक र स्वास्थ्यकर्मीले त्यसै अनुसार एन्टिबायोटिकको प्रयोग गर्ने गराउने ।
चिकित्सकले सिफारिस नगरि एन्टिबायोटिक प्रयोग गर्न नपाइने व्यवस्था छ । तर, चिकित्सकको सिफारिसबिना नै एन्टिबायोटिक औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । नेपालमा एन्टिबायोटिकको जथाभावी बिक्री र प्रयोग हुँदै आएको चिकित्सकले बताएका छन् । एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा ठूलो असर पारिरहेको छ ।
अन्त्यमा, एन्टिबायोटिक रेसिस्टेन्सको भयावह स्थिति देखिनु अगावै सावधानी अपनाउने र त्यसै अनुरूप कदम चालेमा यसको असरलाई केही हदसम्म भए रोक्न सकिएला । त्यसको निम्ति आजैदेखि आ–आफ्नो ठाउँबाट सबैले पहलकदमी लिने की ?
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस