राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र सेभको सिरिन्ज खरिदमा घोटला भएको आशङ्का, करोडौं सिरिन्ज कामै नलाग्ने
काठमाडौं । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र सेभ द चिल्ड्रेनको मिलेमतोमा भएको लागु औषध प्रयोगकर्तालाई प्रयोग गरिने सिरिन्ज खरिदमा घोटला भएको आशङ्का गरिएको छ । हरेक वर्ष सफा सुई नाम दिएर खरिद गरिने सिरिन्ज करोडौं मूल्यका छन् । तथ्याङ्क अनुसार प्रत्येक वर्ष ३ करोडभन्दा बढी सिरिन्ज खरिद गरिन्छ ।
स्वास्थ्य लाइभले पाएको सूचना अनुसार राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशक असक्षम र कमजोर हुनुको फाइदा सेभले उठाएको छ । ग्लोबल फण्डले नेपाल सरकारलाई दिँदै आएको रकम दुरुपयोग भएपछि सेभ द चिल्ड्रेनमार्फत् खर्च गर्दै आएको थियो । तर, सेभले पनि उक्त रकमको चरम दुरुपयोग गरेको छ ।सेभले खरिद गरेका ५ एमएलका सिरिन्ज कुनै पनि काम लाग्ने खालका छैनन् । यो विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र त्यस अन्तर्गत रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र कानमा तेल हालेर बसेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा अनियमितताको जवाफ दिनु पर्ने भएपछि सम्पर्कमै आएकी छैनन् । स्वास्थ्य लाइभले उनलाई पटक पटक फोन सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आइनन् ।
नेपाली कम्पनी लाइफ लाइनको उक्त सिरिन्ज दुई प्रकारको पाइएको छ । निजीमा विक्रि वितरण भएको सिरिन्जको सुईरो मोटो र बलियो छ । यस्तो सुई भाँचिदैन प्रयोग गर्न पनि निकै सजिलो हुन्छ । तर, सेभले किनेको सिरिन्जको सुईरो लामो, पातलो र लगाउँदा भाचिने र बाङ्गिने छ । फोटोले पनि स्पस्ट पारेको छ । कालो रंगको सिरिन्ज निजीमा विक्रि वितरण भइको छ । भने पर्पल कलरको सिरिन्ज सेभले किनेर दिएको हो ।
सेवा प्रदायक सस्थाहरूले बताए अनुसार अहिले निजी फार्मेसीबाट किनेर सेवा ग्राहीले लगाइरहेका छन् । पुरानाले सेभले किनेको लगाउँन मानेका छैनन् । नयाँको छाला सुरुमा नरम हुने भएकाले केही सङ्ख्या भने प्रयोग भइरहेको छ । यो सिरिन्ज खरिदमा ठूलो आर्थिक हिनामिना भएको विज्ञहरू बताउँछन् । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वास्थ्य मन्त्रालयले तत्काल छानविन गरी दोषिलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको छ ।
२८ जिल्लाका २२ हजार लागु औषध प्रयोग कर्ताका लागि यने सफा सुई वितरण हुदै आएको छ । तर, अहिले अधिकाशंले निजी स्वास्थ्य सस्थाबाट खरिद गरेर प्रयोग गर्दै आएका छन् । सेभले खरिद गरेको सुई लगाएर धेरै व्यक्तिहरुलाई असर गरेको प्रमाणहरू बाहिर आएका छन् ।
एक अधिकारीले भने, ‘सेभ र केन्द्रले कमिसनका लागि कमसल सिरिन्ज खरिद गरिएको हो । यसले गर्दा लामो समय सम्म एचआइभी एड्स केन्द्रको निर्देशक समेत हटाउन सकेको छैन । कामभन्दा पनि पद, पावर र पैसाका लागि लाग्दा केन्द्रले गति लिन सकेको छैन । नागरिकलाई गुणस्तरहीन सेवा दिलाउँन केन्द्र उद्धत छ ।’
सेभले वितरण गरेको सिरिन्जले उल्टो काम गरेको छ । यस विषयमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा माथि कारबाही गर्न अधिकारीहरूले आवज उठाएका छन् ।
सम्बन्धित अधिकारीहरुले सिरिन्जको विषयलाई लिएर आकस्मिक बैठक बस्ने विषयमा पनि छलफल गरेका थिए । तर, नतिजा शून्य छ । लाइफ लाइन नेपालको राम्रो कम्पनी भित्र पर्छ । तर, माफियाहरूले राम्रो कम्पनीलाई पनि कमिसन चक्करमा फसाएर लागु औषध सङ्क्रमितको जिवनमाथि चर्को राजनीति गरिरहेका छन् ।लाखौ सिरिन्ज काम नलाग्ने खरिद गरेर राख्नु जस्तो अपराध अर्को हुनै सक्दैन । यसलाई तुरुन्त फिर्ता गराउँनु पर्छ । अधिकारीहरू भन्छन् पुरानाले यो सिरिन्ज प्रयोग नै गर्दैनन् नयाँको हकमा सुरुमा छाला नरम हुने भएकाले मेसो पाउँदैनन् र प्रयोग गर्छन् ।
सेभले लागु औषध प्रयोगकर्ताहरूलाई एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत सफा सुई वितरण गर्दै आएको छ । केहीलाई सिरिन्जले ठुलो समस्या पनि ल्याएको छ । गुणस्तरहीन सिरिन्जले गर्दा धेरैका हात, खुट्टा काट्नु पर्ने अवस्थामा समेत पुगेको छ । कतिपयको कुहिने अवस्थामा छ ।
एक अधिकारीले भने, ‘सेभले दिएको सुईका कारण धेरै जनामा संक्रमण भएको छ । सुई भाचिएका कारण कयौं व्यक्ति अस्पताल भर्ना समेत भएका तथ्याङ्कहरू छन् ।’
सिरिन्ज खरिद गर्न ठुलो रकम छ, तर, जनता समस्यामा पर्दा त्यही बिरामीको उपचार गर्न पैसा छैन । लागु औषध प्रयोगकर्ताका लागि सरकार देखि यस्ता विभिन्न दातृ निकायको सहयोग छ । तर, उनिहरूका लागि उपकरण खरिद गरिन्छ बिरामी परेको खण्डमा उपचार गराइ दिने एक रुपैयाँ पैसा छुट्याएको हुँदैन । यो अत्यन्तै दु:खद पाटो हो । पाँच तारे होटलमा मिटिङ गरेर लाखौं रकम खर्च गरिन्छ तर, गुणस्तरमा कुनै काम हुदैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस