प्रादेशिक अस्पताल जनकपुरको कर्मचारी निवास अनधिकृत रुपमा प्रयोग हुँदै


जनकपुर । जनकपुर प्रादेशिक अस्पतालका कर्मचारी निवास अनधिकृत रुपमा प्रयोग भइरहेको पाइएको छ ।

अस्पतालबाट सरुवा भइसकेका र सेवा अवधि सकिसकेका पूर्व मेसुदेखि डेढ वर्ष अघि सरुवा भइसकेका कर्मचारीहरूले निवासमाथि कब्जा जमाइरहेका छन् ।

अस्पतालले गत मङ्सिर २८ मा सूचना जारी गर्दै अनधिकृत रुपमा कर्मचारीहरूले प्रयोग गरिरहेका निवासहरू पुस मसान्तभरि खाली गर्न भनेपनि अझै खाली गरेका छैनन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति स्तरिय निर्णय अनुसार अस्पताल मातहतको तालिम भवन र कर्मचारी निवास पुस मसान्त भित्र खाली गर्न भनिएको थियो । तर, पुस मसान्त सकिए पनि अझै कर्मचारीहरूले खाली गरेका छैनन् ।

अस्पतालका पूर्व मेसु डा.प्रमोद कुमार यादव गत असारमै सरुवा भएर काठमाडौं गइसकेका छन् । तर, उनले प्रयोग गर्दै आएका कर्मचारी निवासमा उनका भान्जाहरू बस्दै आएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ४ (क) का सांसद शेष नारायण यादवका श्रीमति प्रेमा ढकाल स्टाफ नर्सको रुपमा कार्यरत अस्पतालमा कार्यरत थिइन् । उनको सेवा अवधि सकिएपनि उनले प्रयोग गर्दै आएको कर्मचारी निवास अझै खाली भएको छैन ।

यस्तै स्टाफ नर्स गिता थापाको डेढ वर्ष अघि सरुवा भइसकेको छ । तर, उनले प्रयोग गर्दै आएको कर्मचारी निवास अझै खाली गरेकी छैनन् ।

स्टाफ नर्स निसा थापाको सरुवा भइसकेको छ भने अस्पतालकै कर्मचारी सञ्जिता यादवको निवासमा उनका आफन्त निवासको प्रयोग गरिरहेका छन् ।

अस्पतालको निवास खाली किन नगरेको विषयमा सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न खोज्दा बोल्न मानेनन् । केहीले आफूलाई यस विषयमा जानकारी नै नभएको प्रतिक्रिया समेत दिएका छन् ।

अस्पतालको विभिन्न भवनमा निवास खाली गराउनेबारे सूचना भने दाँस गरिएका छन् ।

अस्पतालका उप निर्देशक डा.केडी दासले अनधिकृत रुपमा प्रयोग हुँदै आएको कर्मचारी निवास खाली नगर्नेलाई कारबाही गर्ने तयारी भइरहेको नागरिक मिररसँग बताए । उनले एक महिना अघि सूचना जारी गरिएको हुँदा अटेरी गर्नेलाई नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइने बताए ।

हालसम्म अस्पतालले नै कर्मचारी निवासको बिजुली र पानीको खर्च व्यहोर्दै आएकोमा अबदेखि निवासमा बस्ने कर्मचारी स्वयंले खर्च व्यहोर्नु पर्ने नियम लागू गरिएको पनि उप निर्देशक डा. दासको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ