स्वास्थ्य मन्त्रीको निर्देशन पछि कोसीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । कोसी अस्पतालको इमर्जेन्सीमा १८ दिने शिशुको श्वास नरहेको र धड्कन बन्द भएको भन्दै डाक्टरले मृत घोषणा गरेको विषयमा सत्यतथ्य छानबिन गर्न समिति गठन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विहिवार साँझ तीन जना रहनेगरी समिति गठन गरेको हो ।
घटनाका विषयमा यथार्थ जानकारी लिन अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रविण कुमार झाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको हो ।
उक्त समितिमा बाल रोग विशेषज्ञ डा. सुर्यकान्त चौधरी र शाखा अधिकृत रामप्रसाद नेपाल सदस्य रहेका छन् ।
मन्त्रालयले एक हप्ता भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
१८ दिने शिशुका पिता दिलीप मुखियाले बताए अनुसार छोरी सिकिस्त भएपछि बिहान कोसी अस्पतालको इमर्जेन्सीमा पुर्याएका थिए ।
अस्पतालमा कार्यारत डा. आकाश यादवले छोरीको श्वास छैन, धड्कन चल्न छाडिसक्यो, घर लैजानु भन्दै मृत घोषणा गरेका थिए ।
मन्त्रालयले घटनामा संलग्नहरूलाई निलम्बन गरेको छ । साथै स्वास्थ्य सचिव डा.रोशन पोखरेलले यस्तो कार्य गर्नेलाई सेवाबाटै हटाउनु पर्ने धारणा राखेका छन् ।
स्वास्थ्य मन्त्री पदम गिरीले पिडीत पक्षसँग टेलिफोन सम्पर्क गरेर घटनाको बारेमा समेत जानकारी लिएका छन् ।
मन्त्री गिरीले अस्पतालका प्रमुख लक्ष्यनारायण यादव र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसँग पनि जानकारी लिएका छन् ।
दाहसंस्कारको तयारी चल्दै गर्दा शिशुका हातगोडा चलमलाए पछि यो घटना बाहिर आएको हो । अहिले उक्त शिशुको उपचार ग्लोबल अस्पतालमा भइरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस