दश वर्षमा १ हजार मिर्गौला प्रत्याराेपण राष्ट्रिय रेकर्ड हाे : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दश वर्षमा एक हजार मिर्गौला प्रत्याराेपण राष्ट्रिय रेकर्ड भएको बताएका छन्।

सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले आज एक हजार सफल मिर्गौला प्रत्यारोपण गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसले अन्तरार्स्ट्रिय स्तरका डाक्टर नेपालमै रहेको भन्ने देखाएको बताए।

उनले यसलाई थप विस्तार गर्ने जिम्मेवारी राज्यकाे रहेको भन्दै ९९ राेपनी जग्गा दिने निर्णय गरेकाे उल्लेख गरे ।

उनले भने, ‘आफूले गरेको निर्णय अर्काे सरकारले राेकेकाे रहेछ । परिस्थितिले म फेरि प्रधानमन्त्रीका रुपमा आई पुगेको छु । अब छिटाेभन्दा छिटाे जग्गा उपलब्ध गराउँछु ।’

स्वास्थ्य मन्त्रीसँग मिलेर सातै प्रदेशमा सेवा विस्तार गर्न सहयोग गर्ने पनि प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गरे ।

‘१ हजारमा ९९ प्रतिशत सफलता भनेकाे सतप्रतिशत जस्तै हाे । याे सानाे कुरा हैन । मिर्गाैलासँगै कलेजाे प्रत्याराेपण गर्ने विज्ञ उत्पादन हुनुपर्छ । यसलाई प्रतिष्ठानकाे रुपमा विकास गर्न मेराे सरकार लाग्छ । याे पटक मैले राष्ट्र र जनताकाे पक्षमा केही गर्नु छ ।’ उनले थपे ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मिर्गौलाका बिरामीले प्रत्याराेपण गर्न नपाइरहेको अवस्थामा १ हजार सफल प्रत्याराेपण हुनु अत्यन्तै सुखद पक्ष रहेको बताए ।

४३ दिनमा एउटा मात्रै प्रत्यारोपण नगरेर अब हरेक दिन गर्नु पर्ने उनको धारणा छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ