राज्यमन्त्रीले कर्मचारीलाई दवाव दिन थालेपछि कामको गति सुस्तायो, कर्मचारीले फूलमन्त्रीसँग भने राज्यमन्त्रीको व्यवस्थापन गर्नुस्


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्रीका कारण आतङ्क सुरु भएको छ । अधिकार नै नपाएको राज्यमन्त्रीले दिनहुँ सचिव र अन्य कर्मचारीलाई बोलाएर निर्देशन दिनेदेखि विभिन्न समिति गठन गर्न दवाव दिन थालेकी छन् ।

पुष्प कमल दाहल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा डा.तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट नियुक्त भएकी छन् ।

मन्त्रालयको जिम्मा भने पदम गिरीले पाएका छन् । गिरीले अहिलेसम्म राज्यमन्त्रीलाई के जिम्मेवारी दिने भनेर निर्णय लिइसकेको अवस्था छैन । यस्तो अवस्थामा मन्त्रालयले गर्ने सबै निर्णय फुल मन्त्री गिरीको कार्यकक्षमा जान्छ ।

जिम्मेवारी नदिएको खण्डमा कुनै पनि मन्त्रालयका सचिव र कर्मचारी राज्यमन्त्री प्रति वफादार हुदैनन् । मन्त्री गिरीले पनि हालसम्म राज्यमन्त्रीलाई जिम्मेवारी दिएका छैनन् । त्यसकारण पनि राज्यमन्त्रीको निर्देशन मान्ने कुरात हुँदैन ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू राज्यमन्त्री डा.कार्कीको शैलिप्रति खुसी छैनन् । उनले कर्मचारीलाई गरेको व्यवहार र निर्देशनबाट मन्त्रालयका सबै जसो कर्मचारी टाँढिन थालेका छन् ।

‘नाम उल्लेख नगर्ने सर्तमा एक महाशाखाका अधिकारीले भने, ‘राज्यमन्त्रीले धेरै आफूलाई सुधार गर्नु पर्ने देखिएको छ । यो अपरिपक्कताले स्वास्थ्य जनतामुखि हैन जनता स्वास्थ्य सेवाबाट बिमुख हुने छन् ।’

शुक्रवार पनि राज्यमन्त्री डा. कार्कीले मन्त्रालयका अधिकारीहरूलाई आयुर्वेदको विषयमा एक समिति गठन गर्न निर्देशन दिएको बुझिएको छ ।

स्वास्थ्य लाइभलाई आएको जानकारी अनुसार यस्ता निर्देशन राज्यमन्त्रीबाट धेरै भएका छन् । राज्यमन्त्रीको कर्मचारी प्रति दवाव बढ्न थालेपछि स्वास्थ्यको दैनिक काम सुस्ताएको छ ।

कर्मचारीहरू गर्ने वा नगर्ने भन्नेमा पुगेका छन् । कर्मचारीको खुलेर सहयोग नभएको खण्डमा राज्यमन्त्रीलाई नभएपनि फुल मन्त्री पदम गिरीलाई ठुलो असर पर्ने देखिएको छ ।

तत्कालीन राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्यमा आए लगत्तै कर्मचारीलाई दवाव दिने कारबाही गर्ने पत्र पठाउँन थालेपछि देशभरका स्वास्थ्यका कर्मचारीहरूले असहयोग गरेका थिए ।

अझ उनले स्वास्थ्य सचिव डा.रोशन पोखरेल चढेको गाडी समेत तानेपछि उनलाई असहयोग गर्न सबै क्षेत्रबाट कर्मचारी एकजुट भएका थिए । आखिर यही कारण स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले केही काम नगरी कार्यकाल सकेका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भन्छन्, ‘अहिलेको जस्तो युवा नेतृत्व स्वास्थ्यमा कहिल्यै आउँदैन । तर, फरक फरक पार्टीको व्यक्ति मन्त्रीमा पठाएपछि विवाद सुरु हुन थालेको छ ।’

शुक्रवार कर्मचारीहरूले स्वास्थ्य मन्त्री गिरीलाई भेटेर राज्यमन्त्रीको व्यवस्थापन गर्न अनुरोध गरेका छन् । यो तरिकाले स्वास्थ्यमा कुनै परिवर्तन सम्भव नहुने पनि कर्मचारीहरूको भनाइ छ ।

कर्मचारीहरू भन्छन्, ‘मन्त्रीलाई बाइपास गरेर अधिकारबिहीन राज्यमन्त्रीकहाँ कुनै फायल पठाउँन सकिँदैन ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ