स्वास्थ्यका कर्मचारीको व्यक्तिगत खर्चमा सरकारी काम, महिनौंदेखिको भुक्तानी रोकियो


काठमाडौं । स्वास्थ्य सेवा विभागको लेखा शाखाले समयमा कर्मचारीको भ्रमण आदेश अनुसारको रकम भुक्तानी नगरेको पाईएको छ । विभिन्न स्थानमा सरकारी कामले गएका कर्मचारीले लागेको खर्च महिनौंदेखि नपाएको गुनासो गरेका छन् ।

आफ्नो रकम खर्च गरेर गएका कर्मचारी तथा कार्यालय सहयोगीहरूले लामो समय बिल अनुसारको रकम नपाएको गुनासो गरेका छन् । यसरी रकम नपाउँनेहरूमा बढी गाडी चलाउने ड्राइभरहरू परेका छन् ।

दिनभरी दु:ख गरेर बेलुका जेनतेन हातमुख जोडेका ड्राइभरहरूले लागेको रकम ६ महिनादेखि नपाएको बताएका छन् ।

सरकारले नियम अनुसार भ्रमणमा आदेश दिएर काममा पठाउँदा त्यसमा लागेको बिल अनुसार पछि रकम भुक्तानी गर्छ । तर, लामो समयदेखि स्वास्थ्य सेवा विभागको लेखा शाखाले भुक्तानी रोक्दा दैनिक गुजारा चलाउँन समेत समस्या भएका एक कर्मचारीले बताए । उनले आफ्नो एक लाखभन्दा बढी रकम लिनु पर्ने सुनाए ।

सरकारी गाडी लिएर काममा जाँदा लाग्ने तेल ड्राइभर आफैले हाल्दै आएका छन् । उक्त तेल अनुसारको बिल पेश गरेपछि लेखाले रकम भुक्तानी गर्छ । तर, ६ महिनादेखि रकम भुक्तानी नगर्दा समस्या भएको एक जना ड्राइभरले स्वास्थ्य लाइभलाई बताए । अहिलेसम्म व्यक्तिगत खर्चमा सरकारको काम गर्न बाध्य भएको उनको तर्क छ ।

लेखाका कर्मचारीहरू कार्यालयको काम नगरेर फिल्डमा हिँड्ने गरेको अर्का एक अधिकारीले भने ।

आफै फिल्डमा हिँड्ने र मन लागेका कर्मचारीहरूको चाडै भ्रमण आदेश अनुसारको रकम भुक्तानी गर्ने गरेको चिकित्सा महाशाखाका एक अधिकारीले बताए । यता करारका कर्मचारीहरूले पनि लामो समयदेखि तलब नपाएको बताएका छन् ।

स्वास्थ्य सेवा विभागका प्रमुख लेखा निरिक्षक भुवन काफ्ले युएसएडको रकम नआएकाले रोकिएको बताएका छन् ।

‘युएसएडको बजेटमा स्वास्थ्यका कर्मचारीको भ्रमण भत्ता वितरण गर्ने भनेर राखिएको छ,’ ‘लेखा निरिक्षक काफ्लेले भने, ‘युएसएडको सम्झौता नभएकाले रकम फुकुवा हुन पाएको छैन । नेपाल सरकारसँग सम्झौता भएपछि मात्रै भ्रमण आदेशको पैसा उपलब्ध गराउँने हो ।’

निरिक्षक काफ्लेले करारका कर्मचारीले तलब नपाएको भन्ने विषय गलत भएको दावी गरे ।

मङ्सिरसम्मको रमक पाएका छन्, पुष महिनाको बाँकी हुन सक्छ काफ्लेको भनाइ छ ।

सरकारी कार्यक्रममा गएका कर्मचारीहरूलाई खुवाउँने भ्रमण भत्ता युएसएडको बजेटमा राखिएको छ । सरकारसँग सम्झौता नहुँदासम्म बजेट फुकुवा हुँदैन । त्यसैले तत्काल रकम पाउँने अवस्था हुँदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ