यात्रा– हजार प्रत्यारोपणको


वीर अस्पतालको नयाँ क्याबिनमा अवस्थित मृगौला प्रत्यारोपाण इकाईमा सन् २००८ डिसेम्बर १२ मा प्रत्यारोपण थालनी गर्दा आज यो यात्रा यति टाढा सम्म आउछ की आउँदैन भन्ने चिन्ता थियो ।

विना कुनै निश्चित अपरशेन थियटर वा प्रत्यारोपण कार्यका लागि (म बाहेक) छुट्टाएको चिकित्सक बाट बीरमा शुरु गरिएको प्रत्यारोपणले धिमा गतिमा ४ वर्ष लगाएर ९९ जनाको मृगौला प्रत्यारोपण सम्भव भएको थियो ।

कहिले एनेस्थेसिष्ट नहुने त कहिले जुनियर सहयोगी चिकित्सकको अभाब कहिले तोकिएको अपरशेन थियटर इर्मेजेन्सी शल्यक्रियाको लागि छाड्नु पर्ने स्थिति त कहिले जसरी भए पनि प्रत्यारोपण हुन नहुने प्रवृत्ति आदिबाट छिचोल्दै उक्त ९९ वटा मृगौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न भएको थियो । १०० पुयाउन पनि कठिन भयो । यसको प्रत्यक्ष साक्षी तत्कालिन बीर अस्पतालको निर्देशक डा प्रविण मिश्र हुनुहुन्थ्यो ।

संयोग, उहाँ स्वास्थ्य सचिव हुनु भयो र नेपालको प्रत्यारोपण क्षेत्रले फड्को मार्ने मौका पायो । उहाँले एक शनिवार विहान, ’पुकार, भक्तपुरमा एउटा खाली भवन छ त्यो हेर्न जाऊँ भन्नु भयो र संगै लिएर जानु भयो । २०६८ साल को कुरा थियो त्यो । १÷२ फिट धुलो जमेको त्यो भबन भक्तपुर अस्पतालको लागि ५ वर्ष अघि बनाइएको रहेछ र केही दिन स्त्री रोग सम्बन्धि ओपीडी चलाएर बन्द गरिएको रहेछ । ४ वटा अपरेशन थियटर, वार्ड, आइ.सी. यु, पोष्टअप, ल्याब, ओ.पि.डि, इमेर्जेन्सी सबैको लागि ठाउँ बनाइएको १०० बेडको भबन अवलोकन पछि डा मिश्रले सोध्नु भएको थियो, ’यहाँ प्रत्यारोपण गर्न सकिन्छ ?”

हर हिसाबले चेपुवामा परेको बीरको प्रत्यारोपण कार्यक्रममा पिल्सिएको समय थियो त्यो । लथालिंग अवस्थामा भए पनि अचानकसँग मिल्न पुगेको त्यो भबन आश्चर्यजनक रुपमा प्राप्त बरदान भैं लाग्यो । डा मिश्रलाई पनि भवन प्रत्यारोपणका लागि उपयुक्त लागेको रहेछ । तुरुन्तै तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीबाट भवनको उद्घाटन मानब अंग प्रत्यारोपण केन्द्रको नाममा गराइयो । मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेर प्रत्यारोपण केन्द्रको स्थापनार्थ संभाब्यता अध्ययन पनि थालियो । उक्त कार्यदलको नेतृत्व प्रा. डा विजय कुमार शर्माले गर्नु भएको थियो भने सदस्यहरू डा राजेन्द्र अग्रवाल, डा ब्रम्हदेव झा, डा इन्द्र प्रसाद प्रजापती, डा कल्पना कुमारी श्रेष्ठ, जगन्नाथ पन्त, तिलक प्रकास कायस्थ, लिला राज पौडेल र सदस्य सचिव म स्वयं थिएँ । उक्त कार्यदलको प्रतिवेदन अनुसार मानब अंग प्रत्यारोपण केन्द्र स्थापनको लागि सरकारबाट बजेटको व्यवस्था भयो र आवश्यक औजार उपकरण खरीदका साथै भवनको भौतिक संरचनामा पनि सामान्य परिवर्तन गरियो ।

२०६८ माघमा मलाई उक्त कार्यक्रमको फोकल पर्सन तोकियो र २०६८ फागुन ७ गते एक कोठा बाट डा कल्पना श्रेष्ठ र म स्वयं मिलेर बहिरंग विभाग सञ्चालन गर्यौ । भक्तपुर अस्पतालका तत्कालीन मेडिकल सुपरीटेन्डेन डा इन्द्र प्रसाद प्रजापती ज्यूले एउटा टेवल र दुई वटा कुर्सी उपलब्ध गराउनु भएको थियो ।

उपकरण खरीद प्रक्रिया शुरु गर्दा पहिलो उपकरण डाइलाइसिस मेशीन थियो । मन्त्रालयबाटै खरीद टोलि बनाई टेण्डर प्रकृया अघि बढाइएको थियो । पहिलो टेण्डर २० वटा डाइलाइसिस मेशीनको थियो । ’बाइ वान गेट वान’ सम्मको अफर नभएको होइन तर मितब्ययी र अन्तराष्ट्रिय रुपमा कहलिएको ब्राण्डको डाइलाइसिस मेशीन खरीद गर्ने निर्णय भयो । आफ्नो मेशीन नपरेको रिसमा अधिकांश डाइलाइसिस मेशीन बिक्री गर्ने एजेन्टहरूले अख्तियार लगायत विभिन्न निकायमा उजुर गर्न भ्याएछन ।

अख्तियार बाट ४८ घण्टा भित्र उपस्थित भई स्पष्ट पार्न पूर्जि आयो । प्रशासनमा आफ्नो अनुभव नभएको हुँदा एक जना शाखा अधिकृत साथै लिएर अख्तियार पुगियो । अख्तियारका आयुक्तहरू नियुक्त नभएको अवस्थामा तत्कालीन प्रमुखको हैसियतमा सचिव हुनुहन्थ्यो । पुग्ने बित्तिकै सेकेण्ड ह्याण्ड मेसिन खरीद गर्ने आरोप सहित आक्रमण शुरु भएको थियो ।

प्रशासनको अनुभब भएको विस्वासमा शाखा अधिकृतलाई स्पष्ट पार्न आइएको थिए मैले । बढि बोल्छौ चुप भन्दै शाखा अधिकृतको बोलि नै बन्द गराइएकोले म बोल्न बाध्य भएँ । सबै प्रकृया पुयाएर उपयुक्त र सही मुल्यको मेशीन खरीद प्रकृया अघि बढेको हो । मेशीन आएको छैन कसरी सेकेण्ड ह्याण्ड मेसिन आयो भनेर उजुरी गरियो । फाइल यही छ, तपाई यही हुनु हुन्छ, म यही छु असार मसान्त भएकोले यो छिटो निर्णय गरेर कृपया टुङ्गाइ दिनुुहोला । मेरो गल्ती छ भने कारवाही गर्नुहोला । ’यदि तपाँइले ढिलो निर्णय गरी असार मसान्त कटेमा यो परियोजना नै असफल हुन्छ, म तपाइहरूलाई कारवाही गर्छु । म त हिडँ’ भनेर उठेर आएको घटना अझै ताजै छ ।

तत्काली अख्तियराको सचिवले डा प्रविन मिश्रलाई फोन गरेर प्रविन तिमिले कस्तो मान्छे पठाएको मलाइ नै कारवाही गर्छु भन्छ यो फाइल लगिहाल भनेछन । यस बाट डाइलाइसिस लगायत ओटी आइ सीयु लगायतको उपकरणहरू भित्रिएर सेवाको शुरुवात भयो । उक्त असार मसान्तसम्म निर्णय नभएको मात्र  भएको भए कुनै पनि औजार उपकरण आउने थिएन र प्रत्यारोपण केन्द्र गर्भमै तुहिने थियो । अख्तियार दूरुपयोग अनुसन्धान आयोग यसको लागि धन्यबादको पात्र छ ।

२०६८ माघमै एक दिन स्वास्थ्य मन्त्रालयका तत्कालिन चिकित्सा महाशाखा प्रमुख डा सेनेन्द्र राज उप्रेतीज्यूले बोलाएर ४, ५ वटा अस्पतालहरूको गठन आदेश दिनु भयो र भन्नु भयो, ’यो हेरेर अंग प्रत्यारोपण केन्द्रको गठन आदेश ड्राफ्ट बनाउनु ।’

गंगालाल, वीर, कान्ती, प्रसुती आदिको गठन आदेश अध्ययन गरेपछि प्रत्यारोपण केन्द्रको लागि मस्यौदा बनाइयो र स्वास्थ्य मन्त्रालयमा पेश गरियो । मन्त्रालयको विभिन्न शाखा माहाशाखा हुँदै कानून मन्त्रालय, संसदीय समिति, अर्थ मन्त्रालय, मन्त्रिपरिषद् हुँदै गठन आदेश अनुमोदन भयो । ३ महिनामै अर्थात २०६९ बैशाख १९ गते राजपत्रमा गठन आदेश प्रकाशन भए सँगै मानव अंग प्रत्यारोपण केन्द्र आधिकारिक रुपमा स्थापना भयो । डा मिश्रले यति छोटो अवधिमा नेपालमा सरकारी संस्था स्थापना भएको पहिलो होला भनेर उत्साहित बनाउनु भएको घटना ताजै छ ।


२०६९ कार्तिकमा डाइलाइसिस सेवा शुरु गरियो र २०६९ माघ ६ गते केन्द्रमा पहिलो मृर्गौला प्रत्यारोपण गरियो । यो कार्य आज १० वर्ष पुरा भएको छ र १००२ जनाको मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । छिमेकी देशमा मृगौला प्रत्यारोपण गर्न जाँदा रु ५० लाख सम्म खर्च भएको अनुभव सुनाइन्छ । यस अवधिमा १००२ जनाको मृगौला प्रत्यारोपण गर्दा राष्ट्रको ५ अर्ब रुपैया जोगिएको छ ।

पहिलो मृगौला प्रत्यारोपण गर्दा एनेस्थेसिया टोलिको नेतृत्व डा बि डि झा ले गर्नु भएको थियो जसमा डा रुपेश यादब र संगीता श्रेष्ठ थिइन भने शल्य चिकित्सा टोलिमा म लगायत डा राकेश बर्मा र डा किशोर मानन्धर थिए । नेफ्रोलोजि टोलिको नेतृत्व डा कल्पना कुमारी श्रेष्ठ गर्नु भएको थियो भने डा लुसन सिंह उक्त टोलिको अभिन्न अङ्ग थिए । नर्सिङ्ग टोलिको नेतृत्व इन्दिरा प्रधानले गरेकी थिइन ।

आ. ब. २०६९÷७० को पहिलो छ महिनामा १३ जना, त्यसपछि क्रमशः प्रत्येक आ व मा २७, ४१, १०१, १३२, १५८, १७९, ४९, ४५, १६०, र १०२ हुँदै यस केन्द्रले १० वर्ष भित्र १००२ मृगौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरेको छ ।

शुरुका दिन केन्द्रमा पूर्णकालीन एनेस्थेसिष्ट र रेडियोलोजिष्ट थिएनन । प्रत्यारोपण पछि हुन सक्ने जटिलताहरू जस्तै रक्तश्राव नहोस भनेर पुकार्नु पर्ने अवस्था थियो । राती कुनै अप्ठेरो परेमा एनेस्थेसिया र रेडियोलोजी सेवा नपाइएलाकी भन्ने डर हुन्थ्यो । केही समयसम्म प्रत्येक प्रत्यारोणपछि भगवानलाई पुकारेरै बस्ने गर्दथे । डा मनिषा प्रधानले एनेस्थेसिया विभागको जिम्मेवारी लिन थालेपछि बल्ल सहज हुन थालेको हो ।

केन्द्र सञ्चालनको केही वर्षसम्म अधिकांश कर्मचारी ३ महिने अस्थायी जागीरे थिए, नयाँ अनुभव नभएका तर अत्यन्तै उत्साही । यही टोलीको मेहनतको साथै सबैले आफ्नो जिम्मेवारी निभाएको हुँदा आजको दिन संभव भएको हो । हाम्रो नर्सिङ्ग बहिनीहरू तथा अन्य कर्मचारीहरूले संस्था स्थापनमा सरसफाइको काम समेत गर्न पछि परेनन । माटो ढुङ्गा बोक्न पनि तयार भए । हामी सबै सिक्दै र एक अर्कालाई सिकाउँदै अघि बढ्दा आज यस केन्द्र देशकै नमुना केन्द्रको रुपमा आफूलाई उभ्याउन सक्षम भएको छ ।

देश भरीको वार्षिक ३००० जनासम्मको प्रत्यारोपण गर्नुपर्ने माग यसले मात्र परिपूर्ति गर्न सक्षम नुहने हुँदा ७ वटै प्रदेशमा प्रत्यारोपण कार्य विस्तार गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेशको पोखरामा ६ जना प्रत्यारोपण भई सकेको छ भने कर्णाली प्रदेशको सुर्खेतमा केही हप्ता भित्रै प्रत्यरोपण गर्ने तयारी भएको छ । सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठन अन्तर्गत हेटौडा अस्पतलमा प्रत्यारोपण कार्य शुरु गर्ने तयारी भै रहेको छ ।

स्थापनाकाल देखि १०० बेडमा सञ्चालित यस केन्द्र हालै १५० क्षमतामा विस्तार गरिएको छ ता पनि ७०० जना विरामी मृर्गौला प्रत्यारोपणको लागि प्रतिक्षामा रहेको र कलेजो प्रत्यारोपण र मुटुको उपचारको लागि बेड नभएको हुँदा तत्काल ५०० बेड क्षमताको भवन बनाउन स्थान आवश्यक छ । सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड ज्यूको दोस्रो कार्यकालमा यस केन्द्रलाई सल्लाघारी स्थित नेपाल ट्रष्टको १०० रोपनी जग्गा २ महिनामै हस्तान्तरण गर्ने निर्णय भएकोमा हाल सम्म उक्त काम नभएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूको तेस्रो कार्यकालमा यो कार्य अवश्य पुरा हुने कुरामा आशारत छौं । यसबाट ३ करोड नेपाललीलाई ठूलो राहत मिल्ने छ र राष्ट्रको अरबौ रुपैया ढुकुटी पनि जोगिने छ ।

वीर अस्पतालबाट शुरु भएको मृर्गौला प्रत्यारोपणको शिलशिला स्वरूप भक्तपुर स्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापित हुने मौका मिलेकोमा वीर अस्पताल र भक्तपुर अस्पताल जसले आफ्नो खाली भवन उपलब्ध गरायो । दुवै संस्था प्रति हृदय देखिनै कृतज्ञ छु ।

२०७९÷८० सालको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा यस केन्द्रलाई उच्च प्राथमिकताका साथ प्रत्यारोपण सम्बन्धि उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सक्ने प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकशित गर्ने घोषणा भएको हुँदा बर्तमान सरकारले यो कार्य अवश्य कार्यान्यन गर्ने छ भन्ने विस्वास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र परिवारले लिएको छ । यसबाट प्रत्यारोपण सेवाको विस्तारका साथै गुणस्तर अभिबृद्धि हुनेछ साथै कर्मचारीको बृत्ती विकासको पनि सुनिश्चिता हुने हुँदा ३ करोड नेपाली दाजु भाई, दिदी बहिनीहरू तथा अंग फेल भएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिक र तिनका परिवारहरू अवश्य लाभान्वित हुनेछन् ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ