मारवाडी डाक्टर
काठमाडौँमा मैले पाइला टेक्दा बङ्गाली डाक्टरहरूसमेतको गणना गर्दा नेपालभरी चानचुन एक सय थिए होलान् । काठमाडौँमा नाम चलेका कम्पाउण्डरहरूको जगजगी थियो, जो डाक्टरसरह क्लिनिक खोली बिरामी जाँच्ने र वीर अस्पतालमा कार्यरतहरू आफ्ना जाँच–घरमा सानोतिनो अप्रेशन पनि गर्थे ।
सुशीलचन्द्र हल्दर राजा महेन्द्रका निजी चिकित्सक थिए र सवारीमा बाहिर गइरहन्थे । काठमाडौँ भएका बेला काठमाडौँ मेडिकल हल नयाँसडकको औषधि–पसलमा बिरामी जाँच्थे । उनी सर्वसाधारणको लागि विरलै उपलब्ध हुन्थे । अर्का चल्तीका डाक्टर थिए– सेनाका डा. वीरेन्द्रबहादुर बस्नेत, उच्च घरानाका राणा शाह परिवार र औद्योगिक घरानाका मारवाडी समुदायमा उनी छाएका थिए र ज्यादै व्यस्त र फेला पार्न गाह्रो । पछि डा.मृगेन्द्रराज पाण्डे थपिए । उनी पनि राजा महेन्द्रका निजी डाक्टर भएकाले सर्वसाधारणले उनको सेवा पाउन कठिन थियो ।
वीर अस्पतालमा रातिको आर.एम.ओ. डाक्टर (आवासीय मेडिकल अधिकृत) भएका कारण दिउँसो म सजिलै उपलब्ध हुन्थे । साँझमा नयाँसडकस्थित श्रेष्ठ फार्मेसीमा काम गर्दा मेरो जनसम्पर्क ह्वात्तै बढेर आयो । युवा जाँगर र जोशका कारण म समयको सीमा नाघेर काम गर्थे ।
दिउँसो र साँझ घरमै गइदिएर पनि बिरामी हेर्न भ्याउँथे । जेल अस्पतालमा काम गर्दा साँझ ४ बजेपछि भोलिपल्ट बिहान १० बजेसम्म बिरामीका लागि सहजै उपलब्ध थिएँ । फलस्वरूप त्यसताका काठमाडौँमा रहेका सबैजसो मारवाडी औद्योगिक व्यापारी घराना, सारडा मुरारका गोल्छा, दुगड, चौधरी, चैनवाला जाजोदिया, खेतान, टिबडेवाल, घिराइया संघाई, गोयन्का, केडिया, भारतका कालिम्पोगबाट काठमाडौँ झरेका होटल व्यवसायी सर्राफ, बम्बईबाट पसेका झुनझुनवाला, जाटिया, कलकत्ताबाट आएका गोयन्का, राजस्थानबाट नेपाल आएका कन्हैयालाल बरेरिया, रंगूनबाट आइपुगेका सुरेका, चोखानी, भिमसेरिया, मेहन्सेरिया आदिहरूसँग मेरो जनसम्पर्क र घनिष्टता बढ्न गयो र एक कान दुई कान हुँदै म काठमाडौँमा घरजम गरी बसोबास गरेका ९० प्रतिशत मारवाडी घर– परिवारको चिकित्सक हुन पुगेँ । उनिहरुको सेवाका लागि सहजै उपलब्ध भएँ । यस प्रकार म ‘मारवाडी डाक्टर’ पनि कहलाउन पुगेँ । गोल्छा परिवारले मलाई पाँचपुस्ते डाक्टरमा स्थापित गरायो । आजसम्म आइपुग्दा चारपुस्ते त कति हो कति, गनेर साध्य छैन ।
रामलाल गोल्छापरिवारका पाँचपुस्ते डाक्टर
स्वर्गीय रामलाल गोल्छालगायत उनका शाखा सन्तानका पाँच पुस्तालाई मैले चिकित्सा सेवा प्रदान गरेँ । गोल्छा परिवारको बसाइ गोल्छा–निवास गणबहालमा थियो । काठमाडौं आएको बेला बस्न भुइँतल्ला रामलाल गोल्छालाई छुट्ट्याइएको थियो । माथिल्लो तल्लाहरूमा हुलासचन्द गोल्छा र उनका परिवार, हंसराज गोल्छाका परिवार दिवाकर गोल्छाहरू बस्थे । लोकमान्य गोल्छा धोबीघाटमा घर किनी उतै सरे ।
रामलाल गोल्छाको सानो अप्रेशन डा. अञ्जनीकुमार शर्मालाई गोल्छा निवास गणबहालमा लगी मैले सम्पन्न गराएको थिएँ ।
रामलाल गोल्छाका जेठा छोरा हंसराज गोल्छा प्रायसः विराटनगरमै बसी उद्योग–व्यापार हेर्थे । लोकमान्य गोल्छा उनका जेठा छोरा र पछि माहिला दिवाकर गोल्छा पनि काठमाडौंमै बसेर उद्योग–व्यापार हेर्न थाले र उनीहरूको बसाइ गणबहालमा घर किनी गोल्छा निवासमा हुन थाल्यो । रामलाल गोल्छाका अति मनपरेका कान्छा छोरा हुलासचन्द गोल्छाले काठमाडौँमा बसी गोल्छा अर्गानाइजेसनका विभिन्न उद्योग व्यापार हेर्ने जिम्मा लिए ।
हुलासका जेठा छोरा चन्द्रकुमार गोल्छा पनि बुबासँगै काठमाडौँमै बसी बुबालाई सघाउँथे । उनकी श्रीमती माला गोल्छा आफ्ना दुई छोराहरूको स्वास्थ्यबारे सदा सजग रहन्थिन् । हुलासचन्द गोल्छा अत्यन्त सहृदयी व्यक्ति थिए । उनी आफूसहित आफ्नो परिवार छोरा–नातिहरूको नियमित स्वास्थ्य हेरचाह गरिदिन पारिवारिक चिकित्सकको खोजीमा थिए ।
एक दिन नयाँसडकको श्रेष्ठ फार्मेसीमा मेरो क्लिनिक भएको हुनाले त्यसकै छेउछाउ सन्देश–गृहमा अखबार लिन साँझपख आएको बेला मलाई भेट्न उनी श्रेष्ठ फार्मेसी टुप्लुक्क आइपुगे र ठूलो परिवार भएकाले उनकै अनुरोधमा नियमित रूपमा गोल्छा निवास आई परिवारका सदस्यहरूको स्वास्थ्य जाँच गरिदिन अनुबन्धित भएँ । शनिबार छुट्टीको दिन भएकाले प्रत्येक शनिबार बिहान ९ बजे मैले गोल्छा–निवास जाने गरेँ । सो क्रम मैले उच्च अध्ययनका लागि बेलायत प्रस्थान गरेपछि टुट्यो । तर फर्केर आएपछि पनि क्लिनिक र गोल्छा–निवास गई जाँच्ने क्रम जारी नै रह्यो ।
हुलास परिवार सीतापाइला, लोकमान्य गोल्छा–धोबीघाट र दिवाकर गोल्छा बानेश्वरतिर सरेका छन् । केटाकेटीहरू हुर्किसके, उनीहरूले केटाकेटीहरूको डाक्टर पनि बिर्सिसके । गोल्छा–निवासमा बासस्थान हुँदा हुलाससँग बराबर भेट हुन्थ्यो, हामी दुवै एक–अर्कालाई सम्मान गर्थ्यो । उनले यो बिदा लिइसकेका छन् । उनका जेठा छोरा चन्द्रकुमार गोल्छाले मलाई बिर्सिएका छैनन् ।
लुनकरण चौधरीदेखि विनोद, वसन्त, अरुणसम्म
एक शनिवार बिहान नियमित बिरामी परीक्षण गर्न गोल्छा–निवास गणबहाल जाने क्रममा लुनकरण दास चौधरीसँग खिचापोखरीमा भेट भयो । उनको बासस्थान खिचापोखरीमै थियो र बाहिर मर्निङ वाक र बजार घुम्न निस्केका रहेछन् । नजीकै, विदेशी सामानद्वारा सुसज्जित उनको पसल अरुण इम्पोरियम पनि थियो । उनीसँग मेरो पहिले पनि एक–दुई पटक भेटघाट र भलाकुसारी भइसकेको थियो ।
म प्रत्येक शनिवार गोल्छा निवास गोल्छा परिवारका सदस्यहरूको नियमित स्वास्थ्य परीक्षणका लागि जाने गरेको कुरा उनलाई थाहा थियो । त्यो दिन उनले आफ्नो कुरा निकालिहाले– ‘गणबहाल जाँदा फर्कदा मेरो घर बाटैमा पर्छ । यसो मकहाँ पनि पसिदिन मिल्छ कि !’ उनको त्यो अनुरोधलाई मैले नाइँ भन्न सकिनँ । फलतः अहिलेका खर्बपति विनोद चौधरी, नेपाली, हिन्दी, उर्दू कविता, गीत–गजल नज्मका धनी उद्योगी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका ख्यातिप्राप्त वसन्त चौधरी, अटोमोबाइल्स क्षेत्रमा उदाएका अरुण चौधरी र छोरी कुसुमलाई नियमित रूपमा जाँचिदिनुपर्ने अभिभारा थपियो ।
पछि, लुनकरण चौधरीकी श्रीमती गंगादेवीले आफ्नी बहिनीका छोरा टिंकुलाई धर्मपुत्रसरह पालेकाले उनी पनि थपिए । चौधरी– दम्पती बालबच्चाहरूको स्वास्थ्यप्रति अत्यन्त सजग थिए । जेठा विनोद त्यसबेला ६ वर्षका थिए होलान् । उच्च अध्ययनका लागि बेलायत गएपछि चौधरी परिवारको पनि नियमित स्वास्थ्य परीक्षण गर्ने मेरो क्रम भङ्ग भयो । तर बेलायतबाट फर्केपछि घरमा बोलाहटमा जाने र क्लिनिकमा जाँच्ने क्रम भने टुटेन ।
वसन्त चौधरीको छोरी मेघालाई श्रीमती मीनाले बरोबर क्लिनिकमा जँचाउन ल्याउँछिन् । उनका र अरुण चौधरीका बालबच्चाहरूलाई ठमेल निवासमा पनि गई जाँच गर्ने गर्थे । विनोद चौधरीको ठमेलबाट रविभवनतिर बसाइ सरेकोले उनका बालबच्चाहरूलाई भने मैले जाँच्नुपरेन र नियमित सम्पर्क पनि टुट्यो । वसन्त चौधरी मलाई अति नै सम्मान गर्छन् र नियमित भेट हुने गर्छ ।
बेलायतबाट फर्केपछि डा. सच्चेकुमार पहारी चौधरीको पारिवारिक डाक्टरभन्दा पनि पारिवारिक मित्र हुन पुगे । चौधरी–दम्पती र हुर्केका बालबच्चाहरूको जाँचको अभिभारा उनकै काँधमा आइपुग्यो ।
हृदयाघातपछि लुनकरण चौधरीलाई अत्यन्त दुःखी तुल्याएको थियो । डा. सुन्दरमणि दीक्षित त्यसबेला अत्यन्त जल्दाबल्दा र प्रसिद्धिको टाकुरामा उक्लिएका चिकित्सक थिए । आफूले नियमित हेर्ने गरेका बिरामीहरूका दिनरात भन्दैनथे । अरूहरूले हेर्ने गरेका बिरामीहरू अपर्झट हुने भएकाले सकेसम्म पन्छाउने र समय दिंदैनथे ।
लुनकरण चौधरीलाई पनि एक पटक डा. सुन्दरमणि दीक्षितसँग जँचाउने प्रवल इच्छा जागेर आएछ । डा. पहारीको अनुपस्थितिमा जाँचिदिन अनुरोध गर्दा ठाडै अस्वीकार गरेछन् र लुनकरण चौधरीले डा. सुन्दरमणि दीक्षितसँग समय लिई जसरी भए पनि ठमेल घरमा ल्याई जँचाइदिन मलाई अनुरोध गरे । लुनकरण चौधरीसँग मेरो सामीप्य बढेको अवस्था थियो । उनी मलाई असाध्य मनपराउँथे । यो एकतर्फी भने थिएन, म पनि उनको आदर गर्थे ।
सुन्दरमणिको बालबच्चा जाँच्ने अभिभारा मेरो काँधमा थियो । मेरो अनुरोध उनी कहिल्यै टाल्न सक्दैनथे । अरू चिकित्सकहरूको निगरानीमा रहेका र मेरा बिरामी र शुभचिन्तकहरूलाई मेरो अनुरोधमा जाँच्ने समय दिन्थे । मेरो अनुरोध टाल्न नसकी मसँग आएर डा. दीक्षितले ठमेल घरमा लुनकरण चौधरीलाई जाँचे र पुर्जामा औषधि लेखेर दिए । ७ दिनभित्र रिपोर्ट गर्नू भनेकोमा रिपोर्ट नगरेको कुरा रुष्ट भएर उनले मलाई सुनाएका थिए । मलाई फेरि जाँच्न नबोलाउनू भनी आदेश दिएका थिए ।
तीन विनोदहरू– विनोद चौधरी, विनोद चैनवाला र विनोदशंकर श्रेष्ठहरूसँग म ज्यादै नजिकिएको थिएँ । विनोद चौधरीसँग यदाकदा पार्टी–भोजहरूमा भेट हुन्छ, भलाकुसारी हुन्छ । नेपालको एक मात्र खर्बपतिको दर्जामा पुगेपछि ’दूजका चाँद’ हुनु स्वाभाविक नै हो । विनोद चैनवालासँग घरमा र विनोदशंकर श्रेष्ठसँग होटल शंकरमा र भोजभतेरहरूमा बराबर भेट भई नै रहन्छ र मित्रवत् व्यवहार अटूट रूपमा कायमै छ ।
विनयसाहू र फ्लोरिङ फर्निसिङ सेन्टर
खिचापोखरीमा ’फ्लोरिङ फर्निसिङ सेन्टर’ नाम गरेको घरको आन्तरिक सजावटका लागि चाहिने कार्पेट र पर्दालगायत त्यसताक एक मात्र यावत् सामान पाइने नामी चल्तीको पसल थियो र यसका एकलौटी मालिक थिए– विनयकुमार अग्रवाल (विनयसाहू) । फ्लोरिङ फर्निसिङका एक बखतका साझेदार थिए लुनकरण चौधरी । मसँग लुनकरण चौधरीको आत्मीयता बढेपछि उनले मलाई विनयको बिहानदेखि बेलुकासम्म रक्सीले डाउन हुने गरेको र मारवाडी समुदायमा अपाच्य भएको बानी बेहोरा भएकाले आफ्नो भाग लिएर साझेदारीबाट अलग्गिएको कुरा सुनाएका थिए ।
नयाँसडकमा रामशंकर श्रेष्ठले लिजमा लिई ’होटल ग्रीन’ सञ्चालन गरेका थिए । त्यसैको भुइँतल्लामा भाई आनन्द शंकर श्रेष्ठलाई भनी मेरा लागि खोलिदिएका श्रेष्ठ फार्मेसी’ भन्ने औषधि पसल थियो, जहाँ हरेक साँझ बिरामी जाँच गर्थे ।
अर्काे अङ्कमा क्रमशः
तपाईको प्रतिक्रिया दिनुहोस