बेलाबेला महामारीको रुपमा देखिने ‘दादुरा’ को खोप किन ?


बेलाबेलामा देशका विभिन्न जिल्लामा देखिने दादुराका कारण पछिल्लो समय बाँके प्रभावित बनेको छ। सरकारले सञ्चालन गर्दै आएको खोप अभियानमा आफ्ना बालबालिकालाई सहभागी नगराउँदा दादुराका कारण कतिपय बालबालिकाको मृत्यु नै पनि हुने गरेको छ ।

महामारी प्रतिकार्य खोप अभियानमा ६ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकाहरूलाई दादुरा खोप लगाउने गरिन्छ । सरकारले समयमै दादुराविरुद्धको खोप लगाई आफ्ना बालबालिकाहरूलाई विभिन्न रोगहरू लाग्नबाट बचाउन अभिभावकलाई आग्रह गर्दै आएको छ ।

१. दादुरा रोग के हो ?
दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया ५ वर्ष मुनिका बालबालिकाहरूमा बढी लाग्ने गरेको । यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।

दादुरा रोग लाग्यो भने यसका जटिलताहरू :निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ ।

३. दादुरा रोग कसरी सर्दछ ?
दादुराको भाईरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नलि एवं अरु भित्रि अङ्गहरूमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा, हाछ्यूँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

४. दादुरा रोगका प्रमुख चिन्ह / लक्षणहरू के के हुन ?
ज्वरो आउनु र शरीरमा राता विमिरा देखा पर्नु दादुरा रोगका प्रमुख चिन्ह / लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षण चिन्हहरू (नाकबाट पानी
वग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आंखा पाक्ने आदि जस्ता) पनि देखिन सक्छन् । रोगीको सर्म्पकमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ । दादुरा सङ्क्रमित व्यक्तिलाई डावर र विमिरा देखा पर्नुभन्दा ४ दिन अगाडीदेखि र डाबर देखा परेको ४ दिन पछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।

५. के दादुरा रोगको उपचार हुन्छ ?
दादुरा रोग लागेपछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा
स्वास्थ्य संस्थामा तत्कालै लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ । साथै बिरामीलाई “भिटामिन ए” अनिवार्य रुपमा खुवाउनु पर्दछ ।

दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा विरुद्धको खोप लिनु नै हो । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकाहरूलाई ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ । साथै अभियानमा समेत सबै बालबालिकालाई अनिवार्य रुपमा दादुरा
लगाउनु पर्दछ ।

६. यस अभियानमा कसलाई लक्षित गरिएको छ ?
यस अभियानमा ६ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई लक्षित गरिएको छ । नियमित खोपमा दादुरा विरुद्धको खोप लगाएको भएतापनि यस अभियानमा सम्पुर्ण बालबालिकाहरुलाई नछुटाइकन खोप लगाउनु पर्दछ । यसबाट बालबालिकामा दादुरा रोगबाट सुरक्षित हुन थप क्षमता विकास हुन्छ र बालबालिकाहरू रुपमा यो रोगबाट सुरक्षित हुन्छन् ।

७. दादुरा खोप कहाँकहाँ लगाइन्छ ?
यस अभियानमा तोकिएका विभिन्न खोप केन्द्र, स्वास्थ्य संस्था, शहरी स्वास्थ्य इकाई, आधारभुत स्वास्थ्य सेवा केन्द्र, विद्यालय, वडा कार्यालय तथा अन्य पायक पर्ने स्थानहरुमा खोप सेवा सञ्चालन हुनेछ । अभियान सञ्चालन हुने मितिमा आफ्ना बालबालिकाहरुलाई पायक पर्ने नजि को खोप केन्द्रमा गई खोप लगाउनु पर्दछ। कुनै कारणले उक्त दिन खोप लगाउन छुट भएमा अभियान भित्रमा नजिकैको जुनसुकै खोप केन्द्र, स्वास्थ्य संस्थामा गएर पनि खोप लगाउन सकिन्छ ।

८. दादुरा खोप कसले दिन्छ ?
दादुरा खोप तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट सुईको माध्यमबाट दिइन्छ ।

९. के दादुरा खोप लगाउन सुरक्षित छ ?
दादुरा खोप प्रभावकारी र सुरक्षित छ। सुई लगाएको ठाउँमा दुख्ने, सामान्य ज्वरो आउने, विमिरा आउने जस्ता सामान्य असरहरु देखिन सक्छन् र यी असरहरू केही समयपछि आफैँ ठीक हुन्छन्। खोप लगाए पश्चात बालबालिकामा अन्य समस्याहरू पनि देखा पर्न सक्छन जुन खोपको कारणले नभई अन्य कारणबाट भएका हुन सक्छन्। खोप पश्चात् बालबालिकालाई कुनैपनि समस्या भएमा तत्काल स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूसँग सम्पर्क गर्नु पर्दछ। यो खोप नियमित रुपमा प्रयोग भएको दादुरा रोग विरुद्धको खोप नै हो, कुनै नयाँ होइन ।

१०. अभियानमा खोप लगाए पछि नियमित खोपमा दादुरा-रुबेला खोप दिनुपर्छ कि पर्दैन ?
यो अभियानमा दिईएको दादुरा-रुबेला खोप पुरक (थप) मात्रा हो। यो अभियानमा खोप लगाएता पनि नियमित खोपमा उपलब्ध हुने दादुरा-रुबेला खोप लगायत सवै रोग विरुद्धका खोपहरू १५ महिना सम्ममा तालिका अनुसार अनिवार्य लागाउनै पर्दछ ।

११. खोप अभियानमा समुदायको के कस्तो जिम्मेवारी र भूमिका रहन्छ ?
यो अभियानमा पनि समुदायको महत्वपूर्ण भूमिका र जिम्मेवारी छ। समुदाय, टोल, वस्तिमा कहि कुनै बालबालिका दादुरा-रुबेला खोप लगाउन छुट्यो भने बालबालिकामा दादुरा-रुबेलाको सङ्क्रमण हुने साथै समुदायमा समेत सङ्क्रमण फैलन सक्दछ । त्यसैले यो अभियानमा कुनैपनि बालबालिका नछुटोस भनेर आफ्नो टोल, बस्ति र समुदायमा व्यापक प्रचार प्रसार गर्ने, खोपको महत्वबारे जानकारी गराउने, खोप सञ्चालनको दिन स्वयंसेवकको रुपमा सहयोग गर्ने, छुटेका बालबालिकाको पहिचान तथा खोजी गरी खोप दिलाउन सहयोग गर्ने आदि जस्ता महत्वपूर्ण जिम्मेवारी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी, समुदायको अगुवा, धार्मीक अगुवा, शिक्षक, बिद्यार्थीबाट उपलब्ध गराई अभियान सफल बनाउनु पर्दछ।

१२. दादुराको खोपले कुनकुन रोगबाट बचाउँछ ?
यस अभियानमा दिइने खोपमा रुवेलाको पनि खोप हुने भएकोले, यस खोपले दादुरा र रुवेला दुवै रोगबाट बचाउँछ ।

१३. दादुरा महामारीको अवस्थामा बालबालिकाहरुलाई भिटामिन ‘ए’ खुवाउन जरुरी छ ?
यस दादुरा महामारीको अवस्थामा बालबालिकाहरूलाई निम्न अनुसार भिटामिन ‘ए’ क्याप्सुल दिन जरुरी छ ।
दादुरा निदान भएका बालबालिकाहरूलाई दुई मात्रा : पहिलो र दोस्रो दिनमा र जटिलता भएमा तेस्रो मात्रा पनि दिने भिटामिन ‘ए’ को कमीले आँखाको समस्या देखा परेको बिरामीलाई तीन मात्रा : पहिलो दिन, दोस्रो दिन र २८ औं दिनमा दिने ।
दीर्घ कुपोषण भएका बालबालिकाहरुलाई एक मात्रा भिटामिन ए निदान भएकै दिनमा दिने ।
दीर्घ झाडापखाला भएका बालबालिकाहरूलाई एक मात्रा भिटामिन ‘ए’ दिने ।
६ महिना मुनिका बालबालिकाहरुलाई दुई थोपा, ६ देखि एक वर्षका बालबालिकाहरुलाई ४ थोपा र एक वर्षमाथिका सबै बालबालिकाहरूलाई ८ थोपा (पुरा मात्रा) भिटामिन ‘ए’ दिने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ