आरआरका छात्राहरूलाई दिइयो एकदिने सर्भाइकल क्यान्सरबारे प्रशिक्षण
काठमाडौं । रत्न राज्य लक्ष्मी कलेजका छात्राहरूलाई सर्भाइकल क्यान्सरबारे प्रशिक्षण दिइएको छ ।
नेपाल विद्यार्थी सङ्घ आरआर कलेजको आयोजनामा छात्राहरूलाई सर्भाइकल क्यान्सरबारे एक दिने प्रशिक्षण दिइएको हो ।
मनमोहन मेमोरियल शिक्षण अस्पतालकी एमएसी नर्सिङ रिना मण्डलले कलेजका विद्यार्थीलाई बढ्दो सर्भाइकल क्यान्सर र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराईन् ।
नेपाल विद्यार्थी सङ्घका कार्यवाहक सभापति नबिन केडीले उक्त कार्यक्रमले ठूलो उपलब्धी मिलेको बताए ।
हेर्दा सानो देखिए पनि यसको अर्थ र प्रभावकारीता भने ज्यादै ठूलो रहेको कार्यवाहक सभापति केडीले स्वास्थ्य लाइभसँग बताए ।
यस्ता कार्यक्रमहरू नियमित जस्तो हुने पर्ने उनको भनाइ छ ।
एक दिने प्रशिक्षण भएपनि यसबाट धेरैलाई बचाउँन सकिने उनको तर्क छ ।
उक्त कार्यक्रमको संयोजन नेपाल विद्यार्थी सङ्घ आरआर कलेजका सचिव जेमसिंह राईले गरेका थिए ।
कार्यक्रममा एमएसी नर्सिङ रिना मण्डलले समयमा ध्यान नदिए क्यान्सरले ठूलो रुप लिने बताईन् ।
सर्भाइकल क्यान्सर विरुद्धमा खोप उपलब्ध भइसकेको छ, त्यसैले सबैले खोप लगाउँन जरुरी छ । खोप लगाएको खण्डमा ७० प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ । एक पटक लगाए पछि तीन वर्ष यसले काम गर्ने अनुमान गरिएको मण्डलले बताईन् ।
सर्भाइकल क्यान्सरका सुरुवाती लक्षण :
पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गम्भीर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार सम्भव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता सङ्केतपछि सर्तक हुनुपर्छ ।
असामान्य रक्तस्राव
सामान्यत पाठेघरको मुखको क्यान्सर ३५ देखि ४० वर्षको उमेरपछि हुनेगर्छ । यद्यपि यसको सङ्केतबाट रोग पहिचान गर्न सकिन्छ । यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राव भयो, प्रजनन अङ्गमा दुखाई महसुस भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो स्थितीमा तपाईंले तुरुन्तै चिकित्सकको परामर्श लिन आवश्यक छ ।
वाइट डिस्चार्ज हुनु
अक्सर महिलाले वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ । यस्तो समस्यालाई नजरअन्दाज गर्नुहुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।
कोखको पीडा
मासिक धर्ममा सामान्यत महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तीव्र दुखाई महसुस हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ । यस्तो स्थितीमा तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।
पिसाबमा पीडा
यदि पाठेघरको लक्षणलाई नजर अन्दाज गरियो भने यो क्यान्सर यतिसम्म बढ्न पुग्छ कि त्यसले पिसाबको थैलीसम्म पुग्न सक्छ । यसले गर्दा पिसाब फेर्दा कठिनाई हुन्छ । यस्तो स्थितीमा पनि तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।
गुप्ताङमा जलन
मासिक स्रावका क्रमममा वा सम्बन्ध बनाइरहेको बेला रक्तश्राव हुनु वा अचानक गर्भाशयमा जलन हुनु पनि पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो लक्षणलाई नजरअन्दाज नगरौं ।
तपाईको प्रतिक्रिया दिनुहोस