आईसीयूमै भिडिओ बनाउने स्वास्थ्य राज्यमन्त्री कार्कीमाथिको आलोचना रोकिएन
काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर किर्तिपुर अस्पतालको आईसीयूमा उपचाररत इलामका प्रेमप्रसाद आचार्यको भिडियो बनाएर हालेपछि स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्की चर्को विवादमा तानिएकी छिन् ।
आगोले ८० प्रतिशत बढी शरीर जलेका आचार्यको निधन भइसकेको छ । तर, उनको निधनभन्दा स्वास्थ्य राज्यमन्त्री कार्कीको हर्कतले बढी चर्चा पाएको छ । आईसीयूको प्रोटोकलविपरीत बिरामीसँग संवाद गरेर भिडिओ हालेको भनेर राज्यमन्त्री कार्कीमाथिको आलोचना अझै थामिएको छैन ।
चिकित्सकहरुले नै स्वास्थ्य राज्यमन्त्री कार्कीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग र दबाव दिएका छन् । चिकित्सक स्वास्थ्य राज्यमन्त्रीले नै आईसीयूको प्रोटोकल उल्लंघन गरेको र संवेदनहीन भएको भनेर सामाजिक सञ्जाल ट्वीटरमा उनीविरुद्ध चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल हेर्दा कार्कीको भिडिओले आचार्यको मृत्युलाई नै छायाँमा पारिदिएको छ ।
ट्वीटर प्रयोगकर्ताहरुले मन्त्री जस्तो संवेदनशील पदमा बसेर केटाकेटी हर्कत देखाएको भन्दै कार्कीलाई राजीनामा दिएर साख जोगाउन आग्रह गरेका छन् ।
स्वास्थ्यमन्त्री पदम गिरीले हस्ताक्षर गरेको निर्णयमा आफूले पनि हस्ताक्षर गर्नु पर्ने भनेर फायल मगाएपछि राज्यमन्त्री गिरी विवादमा तानिएकी थिइन् । त्यसपछि उनका हरेक कदम विवादमा पर्दै आएका छन् । राज्यमन्त्री कार्कीले अस्पतालहरुको अनुगमन गरेर स्वास्थ्यमन्त्रीसमक्ष राय पेश गर्ने जिम्मेवारी पाएकी छिन् राज्यमन्त्री कार्कीले आईसीयू प्रोटोकल उल्लंघन गरेपछि उनले गर्ने अनुगमनमाथि समेत प्रश्न उठ्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस