अस्पताल बन्ने पैसा भाडामा सकिएपछि अरुणको भवन बनाउने निर्णय


काठमाडौं । अस्पताल बन्ने पैसा भाडामा सकिएपछि भोजपुरको अरुण गाउँपालिकाको कार्यालय भवन बनाउने निर्णय गरिएको छ । स्वास्थ्य लाइभले अस्पताल भवन बन्ने पैसा अरुण गाउँपालिकाले भाडा तिरेरै सकेको तथ्य सार्वजनिक गरेपछि अरुणको प्रशासनिक कार्यालय भवन बन्ने निर्णय गरिएको हो ।

अरुण गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्न जग्गा प्राप्ति गरिसकेको छ । जग्गा छनोट प्रक्रियामा उपाध्यक्ष विनिता ढकालको विशेष सक्रियता देखिएको छ । २०७७ भदौ २ गते उपाध्यक्ष ढकालको संयोजकत्वमा समिति गठन भई अध्ययन/अवलोकनका साथ प्रतिवेदन पेश गरिएको थियो । तर, तत्कालीन समयमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हुन सकेको थिएन । अहिले ढकाल पुनः उपाध्यक्षमा दोहोरिएर जग्गाको निर्णय गराएकी हुन् ।

ढकालको तत्कालीन समितिमा वडा नं ३ का तत्कालीन वडाध्यक्ष रुद्र पुलामी सदस्य र अधिकृत शालिकराम लुइँटल सदस्य सचिव थिए । प्राविधिक र अन्य कर्मचारी लिएर उपाध्यक्ष ढकालले विशेष अध्ययन अनुसन्धान गरि बजार विस्तार हुने, भूक्षय आदि नहुने, क्षेत्रफल सबैभन्दा उत्तम र आवश्यक जग्गा हो भनी प्रतिवेदन बुझाएको देखिन्छ ।

अहिले अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री भएका छन् । तत्कालीन समयमा आफ्नो बहुमत हुँदाहुँदै गजेन्द्र कार्कीले जग्गा तोकी कार्यालय बनाउन सकेनन् । हरेक वर्ष प्रशासनिक भवन निर्माणमा आएको बजेट फ्रिज गराए । अहिले परिस्थिति उल्टो भएको छ ।


आफ्नै सरकारले १ नम्बरमा सिफारिस गरेको जग्गा अहिले विभिन्न कारणले योग्य छैन भन्दै पूर्वअध्यक्ष हिँड्दा लाज पनि लजाएको टिप्पणी हुन थालेको छ । आफ्नो कार्यकालमा सिन्को नभाच्ने कार्की वर्तमान स्थानीय सरकारले गरेको निर्णय विरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

२०७७ भदौ २ गते बसेको कार्यपालिकाको निर्णय पल्टाएर हेर्ने हो भने अहिले भएको निर्णय मिल्न गएको छ । अब गाउँपालिकाको कार्यलय निर्माण भएपछि काम गर्न सहज हुने भन्दै एक कर्मचारीले खुशी व्यक्त गरे । विरोध किन भएको भनी प्रश्न गर्दा बजारवासीले चर्को भाडा असुलिरहेको बेला प्रशासनिक भवन बन्दा घर खाली हुने र चर्को आम्दानी नहुने भएका कारण आन्दोलन भएको उनीहरुको प्रतिक्रिया छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ