राज्यकै शोषणमा नर्सः ‘मुखले राम राम बगलिमा छुरा’
मन्त्रालयकाे विभेदपूर्ण निति: डाक्टरलाई गगनचुम्नी महल, नर्सलाई पानी चुहिने टहराे
काठमाडौं । सरकारी तथ्याङ्क अनुसार देशमा हाल १ लाख ११ हजारभन्दा बढी नर्सहरू छन् । चिकित्सकहरू ३२ हजार २१८ जना छन् । यी दुवै निकायको मियो भनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हो ।
चिकित्सक र नर्स बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ । तर, चिकित्सक र नर्सहरूको सेवाको बीचमा ठूलो खाडल छ । यसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोषी छ ।
मन्त्रालयले चिकित्सक र नर्सहरूलाई हेर्ने र गर्ने व्यवहार आश्चर्यजनक छ । देशको स्वास्थ्य सुचकाङ्कमा परिवर्तन ल्याउन नर्सहरूको जती हात चिकित्सकको छैन । तर, मन्त्रालयले भने नर्सहरूलाई पाखा लगाएर चिकित्सक काखी च्याप्ने काम गरेको छ ।
मन्त्री र सचिवले भोको पेटका नर्समाथि शब्दको व्यापक सम्मान गर्दै आएका छन् । तर, व्यवहारमा ‘मुखले राम राम बगलिमा छुरा’ छ । शब्दले नर्सहरूलाई सम्मान गरेपनि मन्त्रालयले व्यवहारमा असाध्यै हेला गरेको छ ।
सेवा सुविधामा मन्त्रालयको विभेदपूर्ण नीति देखिएको छ । डाक्टरको संस्थालाई पैसैपैसा दिएको मन्त्रालयले नर्सलाई लोप्पा खुवाएको छ ।
स्वास्थ्य लाइभले पाएको जानकारी अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ३२ हजार चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घले हरेक वर्ष मोटो रकम अनुदानका नाममा लैजाने गर्छ । तर, १ लाख ११ हजारभन्दा बढी नर्सहरूको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घलाई मन्त्रालयले एक रुपैयाँ पनि अनुदान दिने गरेको छैन । यसले पनि चिकित्सक र नर्सलाई हेर्ने दृष्टिकोणमा व्यापक भिन्नता आएको अधिकारीहरू बताउँछन् ।
वि.सं. २०७८ सालमा चिकित्सक सङ्घले हेल्थ समिटको नाममा १५ लाख रुपैयाँ र विराटनगरमा चिकित्सक सङ्घको भवन बनाउँन ५० लाख विनियोजन भएको थियो । तर, उक्त समयमा नर्सिङ सङ्घलाई फुटेको कौडिपनि थिएन । त्यस्तै वि.सं. २०७९ मा नेपाल चिकित्सक सङ्घले जर्नल प्रकाशीत गर्न भनेर २५ लाख रुपैयाँ लगेको छ । तर, नर्सहरूले अहिलेसम्म मन्त्रालयबाट यसरी अनुदान पाएका छैनन् ।
मानवीय सेवामा खटिने नर्समाथि स्वयं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अमानवीय अत्याचार हो । सार्वजनिक कार्यक्रममा जाँदा र नर्सहरूको अगाडी पर्दा शब्दको फुस्रो तारिफ बन्द गर्नुपर्ने नर्सिङ क्षेत्रका जानकारहरू बताउँछन् ।
नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मन कुमारी राईले राज्यको सहयोग आवश्यक भएको बताईन । सङ्घको भवन वर्षौं पुरानो छ । भवन बनाउँदा प्रयोग गरेका फलामका डन्डिहरू बाहिर निस्किएका छन् । धेरै मानिसहरू बस्न मिल्ने छैन । यस्तो अवस्थामा पनि राज्यबाट कुनै आर्थिक सहयोग भएको छैन । चरम श्रम शोषणमा परेर पनि मानवीय सेवामा खटिएका नर्सहरूको भवन निर्माणमा राज्यको ध्यान कतिपनि पुगेको छैन । तर, चिकित्सक सङ्घको भवन बनाउँन पनि मन्त्रालयले करोडौं सहयोग गरेको छ । अहिले भवन गगनचुम्नी छ ।
चिकित्सकभन्दा नर्सहरूको कयौं गुणा बढी काम हुन्छ ।
नर्स सरला केसीका अनुसार नर्सहरूले तीन सिफ्टमा २४ घण्टा काम गर्छन् । एकातिर २४ घण्टा काम अर्को तिर गुणस्तरीय सेवा भएन भने कारबाही गछौं भन्नु हुन्छ केसी भन्छिन्, ‘नियमले पनि यही भन्छ । तर, गुणस्तरीय सेवाका लागि हाल भइरहेको दरबन्दी बृद्धि गर्न आवश्यक छ । रिक्त रहेको स्थानमा पुर्ती गर्न जरुरी छ । हामी गुणस्तरी सेवामा कहिल्यै सम्झौता गर्दैनौ ।’
मेडिकल साइन्समा फरक फरक विधा आएको अवस्था छ । तर, एउटा जनरल नर्सिङ गरेको व्यक्ति अलराउण्डर हुनु परेको छ । यसले पनि जनताले चाहेको जस्तो सेवा दिन सकेका छैनौं ।
सन् २०३० सम्ममा ७० हजार नर्स आवश्यकता पर्ने सरकारले नै उल्लेख गरेको छ । तर, सरकार आफै जिटुजी भनेर बेलायत नर्स पठाउँन खोज्दैछ । यो बिडम्बना हो ।
आम जनतालाई नर्सहरू दबाब र अभावमा काम गर्छन् भन्ने छ । कसरी नर्सले सुई लगायो भन्ने सरोकार पब्लिकलाई हुँदैन । तर, नर्सले सेवा दिँदा मिठो मुस्कार दियो की दिएन भन्ने मुख्य हुन्छ केसीको भनाइ छ ।
उनि भन्छिन्, ‘मुसुक्क हासेर सेवा दिन सबैलाई मन हुन्छ तर, खाली पेटमा मुुुसुक्क हासेर सेवा दिन कठिन हुन्छ । आफू टन्न भएर खुसी भएपछि बल्ल अरुलाई चाहेको जस्तो मुस्कान सहतिको सेवा दिन सकिन्छ ।’
कोभिड १९ मा मात्रै वा–वा कमाएका नर्सले कोभिड पछि केही पाउँन सकेनन् । सरकार आफैँले घोषणा गरेको प्रोत्साहन भत्ता दिएको छैन । निजी अस्पतालमा न्यूनतम सुविधासमेत नदिएर १२ घन्टासम्म काममा लगाउने गरिएको छ ।
रातदिन नभनी अतिरिक्त सेवामा खटिएका नर्सका लागि निजी अस्पतालमा कुनै सुविधा छैन । अहिले ‘अब्जर्भेसन’मा भनेर राखिएको छ, यस्तोमा मासिक ६ हजार मात्र पारिश्रमिक पनि दिने गरिएको छ । यसरी नर्समाथि आर्थिक शोषण भइरहेको छ । यस्तो अवस्थामा मुस्कान सहितको सेवा दिनु र आसा गर्नु भनेको ‘सम्झिने पानी छम्किने’ मात्रै हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी पनि लाखौं सङ्ख्यामा रहेका नर्सहरूको समस्याबारे आफू जानकार भएको बताउँछन् । उनले धराप रहेको भवनका बारेमा आफ्नो मन्त्रालयले सकेको सहयोग गर्ने पनि बताए ।
संकटको बेला नर्सहरूले खेलेको भुमिका तारिफ गरि साध्य नरहेको मन्त्री गिरी भन्छन् । अनुभवका पनि कमी थियो तर, यस्तो परिस्थितिमा पनि पहिलो पङ्क्तिमा गएर नर्सहरूले गरेको सेवा इतिहासमै बिर्सन नसक्ने घटना भित्र पर्छ मन्त्री गिरीको भनाइ छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस