चितवन-२ मा रविविरुद्ध फेरि भिड्न पाउलान् त उमेश ?
काठमाडौं । अहिले सबैभन्दा चर्चामा प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर दुई रहेको छ ।
चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएसँगै फेरि उक्त क्षेत्र चर्चामा आएको हो ।
पूर्व स्वास्थ्यमन्त्री उमेश श्रेष्ठलाई तेब्बरभन्दा बढी मतान्तरले हराएका रविको सांसद पद खोसिएसँगै उक्त ठाउँमा फेरि निर्वाचन हुन लागेको हो । कतिपयले रविपछिको दोस्रो मत ल्याएका उमेशलाई नै रिक्त स्थानमा निर्वाचित गर्नु पर्ने मत समेत राखेका छन् ।
रविले ४९२६४ भोट प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेशले १४९८३ मत प्राप्त गरेका थिए । त्यो क्षेत्रका पूर्व सांसद नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाएर तेस्रो स्थानमा पुगे । भारी मतले पछाडि रहेका रविका निकटतम प्रतिद्वन्द्वी उमेशलाई निर्वाचित गराउनु पर्न आवाज उठेपनि त्यो हुन सक्ने सम्भावना छैन ।
पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली भएकाले दोस्रो हुनेलाई निर्वाचित गराउने अवस्था नहुने निर्वाचन आयोगका उच्च अधिकारीहरू बताउँछन् ।
लोकसेवा आयोग जस्तो बैकल्पिक उम्मेदवार जनताबाट निर्वाचित पदमा नहुने भएकाले त्यस्तो सम्भावना नभएको ती अधिकारीले बताए । ‘मिस नेपालको ताज खोसिएको अवस्थामा फर्स्ट रनरअपलाई मिस नेपाल घोषणा गर्न नसकिए जस्तै निर्वाचित हुनेको पद खोसिए उपविजेतालाई विजेता घोषणा गर्न सकिंदैन । यो त्यस्तै अवस्था हो ।’, नेपाली कांग्रेसका एक पदाधिकारीले स्वास्थ्य लाइभलाई बताए ।
त्यसो त रविले चितवनबाट उपनिर्वाचन लड्न पाउँछन् भन्ने कुरा निश्चित भइसकेको छैन । गत प्रतिधिसभाको निर्वाचनमा रविको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठ पनि फेरि उम्मेदवार बन्ने निश्चित भएको देखिँदैन । उनको ठाउँमा कांग्रेस चितवन सभापति राजेश्वर खनाल, जितनारायण श्रेष्ठ, मिलनबाबु श्रेष्ठलगायतको दाबी छ । सबैभन्दा बढी सम्भावना सभापति खनालको रहेको र उनी उमेशको पक्षमा उभिएको खण्डमा मात्र उनले टिकट पाउने अवस्था आउने टिप्पणी हुन थालेको छ ।
कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाका विश्वास पात्र रहेकाले फेरि उमेश उम्मेदवार बन्ने कुरालाई नकार्न सकिन्न । तर, राजेश्वरको टिमलाई विश्वासमा नलिए बागी उम्मेदवारी दर्ता हुने र हार्ने अवस्था आउने टिप्पणी हुन थालेको छ । खनालले त यसपटक चितवन-२ बाट रविलाई कांग्रेसले सजिलै हराउने उद्घोष गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस