बुस्टर डोज ल्याउने योजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरीको निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागको कामलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाडैं गर्नुपर्ने बताए ।

उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरूलाई निर्देशन दिए ।

‘छिमेकी राष्ट्रहरुमा कोभिड आइसकेको छ । हाम्रोमा पनि आउनसक्छ । बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ । त्यसका लागि योजना बनोस् । मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु,’ उनले भने ।

उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन पनि निर्देशन दिए । ‘खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला,’ उनले भने ।

विभागका कर्मचारीहरूलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए ।

‘विभाग जति प्रभावकारी हुन्छ । त्यतिनै जनताप्रति उत्तरदायी हुन्छ । जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्,’ उनले भने,’त्यसैले तपाईंहरू अझै प्रभावकारी भएर लाग्नुस् । राम्रो काम गर्नुभएको छ । यसका लागि धन्यवाद दिन्छु । तर अब हामी कमीकमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ ।’

उनले थपे, ‘जुन-जुन शाखाको जिम्मेवारी लिएको छ । त्यो पूरा गर्ने इच्छाशक्ति हुनुपर्छ । अनि बल्ल मन्त्रालय र विभागले आफ्नो जिम्मेवारी पूरा गर्नसक्छ । त्यहीकारण जिम्मेवारी बुझेर काममा जुटिदिनुस् ।’

देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरू प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए ।

‘उपकरणहरू यहाँबाट विभिन्‍न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामाग्री त्यसरी अलपत्र हुनुहुँदैन । यसतर्फ सजग रहनुस् ।’ मन्त्री गिरीले भने ।

उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधि मैत्री बनाउनुपर्ने बताए ।

‘घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस् । सबै कुरा डिजिटलाईज हुनुपर्छ । मोबाइलबाट हेर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा उत्साहजनक रूपमा देखिनेगरी परिवर्तन आउनुपर्छ,’ उनले भने,’बिरामी टिचिङ्ग लग्यो, बेड हुँदैन । त्यसपछि वीर लग्यो, पाटन लग्यो, बाटोमै मर्छ भन्‍ने अवस्था रहनु हुँदैन ।’

प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘यो क्षेत्रलाई सुधार्ने अठोटका साथ आएको छु । आम जनतालाई मेरो देशले मेरो स्वास्थ्यको जिम्मेवारी लिन्छ भन्‍ने ग्यारेन्टी गराउनुपर्छ । ‘

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ