डा. सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घको२४ घन्टे अल्टिमेटम


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीले कुटपिट गरेको घटनाप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ ।

नेपाल चिकित्सक सङ्घले आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न २४ घण्टे समयसिमा दिएको छ। डाक्टर सिंहमाथि भएको आक्रमणपछि दोषिमाथि कारबाहीको माग गर्दै सङ्घले शुक्रवार विज्ञप्ति जारी गर्दै दोषिलाई कारबाही नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।

सङ्घका महासचिव डा.बद्री रिजालद्वारा जारी विज्ञप्तिमा ‘आजको २४ घण्टा भित्र दोषी माथी कानूनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका निम्ती चिकित्सक सङ्घले मिति २०७९ माघ २८ गते केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न सक्ने भएको हुँदा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहन यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ भन्ने उल्लेख गरिएको छ ।

सङ्घले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्न माग गरेको महासचिव डा. रिजालले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते भएका हुन्। शुक्रवार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा.सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउको र हातमा चोट लागेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ